वासिङ्टन डीसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा मन्त्रालय खारेज गर्न अधिकारीहरूलाई निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
ट्रम्पले आफ्नो चुनावी अभियानको क्रममा मन्त्रालय खारेज गर्ने प्रतिज्ञा गरेका थिए । ‘हामी यसलाई सकेसम्म चाँडो बन्द गर्नेछौँ,’ बिहीबार आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले भने।
ट्रम्पले लामो समयदेखि मन्त्रालय खारेज गर्न माग गर्दै आएका थिए । तर यसलाई पूर्ण रूपमा बन्द गर्न उनलाई अमेरिकी संसद काँग्रेसको अनुमोदन चाहिन्छ । यो सम्भव नभएको बताइएका छ ।
ट्रम्पले हालै भारी मात्रामा मन्त्रालयका कर्मचारी कटौतीको घोषण गरेका थिए । ती कर्मचारी र मन्त्रालय बन्द भएपछि निकालिने अरू सबै कर्मचारीबाट ट्रम्पले कानुनी चुनौतीहरूको सामना गर्नु परिरहेको छ । ‘अन्य कुनै पनि देशको तुलनामा शिक्षामा अमेरिकाले निकै धेरै पैसा खर्च गर्दछ, तर यति हुँदा हुँदै पनि विद्यार्थीहरूको सफलता निकै कम छ ।’ ट्रम्पले भने ।
अमेरिकामा शिक्षा मन्त्रालयले विद्यालयको पाठ्यक्रम तय गर्दैन । यसले कलेज र विश्वविद्यालयका विद्यार्थीहरूको लागि सङ्घीय विद्यार्थी ऋण व्यवस्थापन गर्ने र कम आय भएका अनि शारीरिक रूपमा अशक्त विद्यार्थीहरूलाई सहयोग प्रदान गर्ने जिम्मेवारी बहन गर्दै आएको थियो ।
ट्रम्पले आदेशमा हस्ताक्षर गरेपछि अमेरिकी शिक्षा विभागले एक विज्ञप्ति जारी गर्दै यसलाई ऐतिहासिक भएको बताएको छ। विभागले भन्यो, ‘हामी कानून पालना गर्नेछौं। संसद र राज्यहरूसँग मिलेर हामी नोकरशाहीलाई हटाउनेछौं। यो निर्णयले अमेरिकी विद्यार्थीहरूको भावी पुस्तालाई मुक्त गर्नेछ र उनीहरूलाई राम्रो शिक्षामा पहुँच प्रदान गर्नेछ।’