सुर्खेत : जाजरकोटको शिवालय गाउँपालिकामा ट्राभल सेमिनार, फिल्ड अवलोकन तथा मिडिया अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । जलवायुमैत्री कृषि प्रविधि र अभ्यासहरू अवलोकन गर्दै नरहरिनाथ गाउँपालिका र शिवालय गाउँपालिकाका कृषक र जनप्रतिनिधिहरूबीच जलवायु उत्थानशील पालिकासम्बन्धी सिकाई आदानप्रदान गर्ने उद्देश्यले शिवालय गाउँपालिका वडा नम्बर १ स्यापी र २ को नेपामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि महाशाखाका प्रमुख धनबहादुर कठायत, जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख नारायण सापकोटा, नरहरिनाथ गाँउपालिकाका उपाध्यक्ष कमल कुमार शाह, शिवालय गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शाही, नरहरिनाथ गाउँपालिका डिआरआरका फोकल पर्सन राजेन्द्र शाही, सहास नेपाल केन्द्रीय कार्यालयका टंक गौतम, नरहरिनाथ गाउँपालिका कालिकोट र शिवालय गाउँपालिका जाजरकोटका कृषक समूह, किशोरी संवाद लगायत सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा कृषकहरूले भारतबाट आयात भएका सस्तो दरका तरकारीका कारण आफ्नो उत्पादनले बजार नपाएको भन्दै दुःखेसो पोखे । कृषकहरूले नेपालमा उत्पादित तरकारीको मूल्य भारतबाट आएका तरकारीको तुलनामा महँगो हुँदा बजारमा आफ्नो उत्पादन बिक्री गर्न गाह्रो भइरहेको बताए ।
शिवालय–२ नेपाका किसान बलबहादुर घर्तीले आफूलाई यहाँको स्थानीय तरकारी बजारमा लगेर बेच्न निकै गाह्रो हुने गरेको गुनासो गरे । ‘हामीले महँगो तरकारी बेचेको बेला व्यापारीहरू भारतको सस्तो तरकारी रोज्छन्, उनले भने, ‘जसले गर्दा हामीलाई समस्या भएको छ । यदि भारतबाट आयात हुने तरकारीमा रोक लगाइयो भने, हाम्रो उत्पादनको मूल्य बढ्ने र आम्दानी राम्रो हुने छ ।’
यस्तै शिवालय–२ कै किसान नैनसरा घर्तीले पनि उस्तै गुनासो गरिन् । उनले पनि आफूहरूले तरकारी उत्पादन गर्ने गरेको भए पनि बजारीकरणमा निकै समस्या भएको बताइन् । उनले भनिन्, ‘हामीले प्याज, टमाटर, आलु, बन्दा, केराउ जस्ता तरकारी उत्पादन गर्छौं, तर बजारीकरणमा समस्या आउँछ । कहिलेकाहीं हामी आफै तरकारी बोकेर बजार जान्छौं, तर बिक्री गर्न नसकेर निराश भएर फर्किन्छौं ।’
यस्तै कालिकोटबाट अवलोकनमा आएकी किसान तारा शाहीले सहास नेपालले आफुहरूलाई कृषि क्षेत्रमा निकै सहयोग गरेको बताइन् । उनले कृषि पेसामा शिवालयका समूहहरूले निकै राम्रो आम्दानी गरेकाले आफूहरूले पनि यसबाट सिक्ने अवसर पाएको बताइन् ।
कार्यक्रममा शिवालय कृषि विकास शाखामा कार्यरत प्राविधिक सहायक विश्वामित्र शर्माले शिवालयका ९ वडामध्ये २ नम्बर वडा तरकारीको पकेट क्षेत्र भएको जानकारी दिए । अन्य वडामा स्थानीयहरू कृषि पेसा गर्न छोड्दै गएको बताउँदै उनले २ नम्बर वडामा भने बाँझोमा पनि तरकारी खेती लगाउँदै गएको बताए । साथै यहाँ स्थानीय सरकार र सहास नेपालको साझेदारीमा विभिन्न कार्यक्रम गर्न सफल भएको हुँदा पछिल्लो समय कृषि पेसामा धेरैको आम्दानी राम्रो भएको उनको दाबी थियो ।
उनले भारतबाट आएको तरकारीको दबदबाले यहाँका स्थानीय तरकारी बिक्रीमा समस्या भएको उल्लेख गर्दै यसमा स्थानीय सरकार एक्लैले मात्रै भारतको तरकारी आयातमा रोक लगाउन नसकिने बताए । प्राविधिक सहायक शर्माले स्थानीय सरकारले ढुवानी, बिक्री वितरणमा प्रचार प्रसार लगायतमा कृषकलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।
यस्तै शिवालय गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शाहीले शिवालय गाउँपालिकामा पनि आगलागी, पानीका मुहान सुक्न जाँदा जलवायुमा असर गरेको उल्लेख गरे । उनले अब यसलाई न्युनिकरण गरी पालिकालाई नै जलवायु उत्थानशिलका लागि सहास नेपालले निकै योगदान दिएको बताए ।
कार्यक्रममा कीट मुद्दाहरूको लागि किसानहरूको क्षेत्रमा विभिन्न जैविक जैविक कीटनाशकहरूको प्रभावकारितामा अनुसन्धानलाई एकीकृत गर्ने, स्थानीय आदिवासी ज्ञान र अभ्यासहरूलाई मापन गर्ने, आदिवासी मौरी पालनको संरक्षण प्रयास बढाउने, बजार सम्बन्धलाई सुदृढ पार्ने र मूल्य शृंखला विकासलाई प्राथमिकता दिनेलगायतका विषयमा सबैको एक्यबद्धता थियो ।
यस्तै नरहरिनाथका उपाध्यक्ष शाहले अवलोकन तथा यात्रा सेमिनारका क्रममा धेरै कुरा सिकेको हुँदा उक्त कुराहरूलाई आफ्नो पालिकामा पनि लागू गर्ने बताए । कर्णाली भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास महाशाखा प्रमुख धनबहादुर कठायतले किसानमा जोस जाँगर तथा मेहनत देख्दा निकै खुसी भएको बताए ।
कार्यक्रममा कालिकोट नरहरिनाथबाट उपाध्यक्ष शाहको नेतृत्वमा करिब २२ जना कृषक सहभागी भएका थिए । सहभागीहरूले समुदायले अवलम्बन गरिरहेका जलवायु मैत्री प्रविधिहरूः घर बगैँचा, प्लास्टिक घरमा तरकारी खेती, थोपा सिँचाइ, खेर गएको पानी संकलन, सामुदायिक पोखरी, गड्यौला मल अवलोकन र प्रविधिबारे सिकाई आदानप्रदान गरेका थिए ।