–कृष्ण बेलबासे
हामीले देशमा विदेशी हस्तक्षेपको कुरा गरिरहँदा पश्चिमाहरूलाई मात्र विरोध गरेर पुग्दैन । यसो किनभने आफूलाई पूर्वीय दर्शन र संस्कृतिको केन्द्र स्थल बताउने छिमेकी मुलुक भारतका गतिविधिहरू समेत नेपालको राष्ट्रिय अस्तित्व र हित विरोधी रहेका छन् । शताब्दीऔंसम्म विदेशी शक्तिको दास बनेर पूर्वीय दर्शन र संस्कृतिको ध्वंशीकरणमा साक्षी रहेको भारत देखावटीरूपमा औपनिवेशिकरणबाट ७५ वर्षअघि नै मुक्त भए पनि पश्चिमा सोच र व्यवहारबाट मुक्त हुन सकेको छैन । एकातर्फ त्यहाँ पश्चिमा संस्कृति प्रवलरूपमा हावी छ भने अर्कोतर्फ, भारत मूगल र ब्रिटिस औपनिवेशिक कालको मानसिकताबाट मुक्त हुन सकेको छैन । सो कुरा उसले दक्षिण एसियाका मुलुकहरू खास गरी नेपाल, भुटान र सिक्किमप्रति गर्ने गरेको÷गरिसकेको हस्तक्षेपकारी भूमिकाले प्रस्ट्याउँछ । अझ पनि भारतले नेपालप्रति ब्रिटिस–इन्डियाकै शैलीमा व्यवहार गरिरहेको छ ।
यहीँनेर प्रश्न उठ्न सक्छ, भारतको नेपालप्रतिको यस किसिमको रवैयाको कारण के हो ? यस पछाडि धेरै कारणहरू रहेका छन् । एक त, भारत स्वतन्त्र भएदेखि नै त्यहाँका कांग्रेस र कम्युनिस्ट पार्टीहरूको बलमा नेपालमा केही पार्टीहरूको जन्म भएको छ । भारतीय भ्रूणबाट जन्मिएका जुनसुकै विचार बोकेका पार्टीहरू पनि देशको अवस्था र हितलाई जोड दिएर होइन, आफ्ना सर्जकको निर्देशनअनुसार परिचालित हुँदै कहिले जनआन्दोलन, कहिले सशस्त्र युद्ध त कहिले राष्ट्रघाती सन्धि सम्झौताहरू गरेर देशको राष्ट्रिय सम्पत्ति र सम्पदालाई ध्वस्त तुल्याउने कुरासँगै मुलुकका प्राकृतिक सम्पदाहरूमा उनीहरूकै स्वामित्व कायम गराइदिने हदसम्मका राष्ट्रघाती कुकर्महरूलाई निरन्तरता दिइरहेका छन् । हुनत यति बेला भारतमा पश्चिमा एजेन्डा बोकेका शक्तिहरू सत्ता भन्दा बाहिर छन् । तर, नेपालमा भने पश्चिमाहरूको आशीर्वाद प्राप्तहरू नै सत्तामा रमाइरहेका छन् ।
भारतको प्रसङ्गमा अर्को कुरा, विगत १० वर्षदेखि आफूलाई हिन्दुत्ववादी बताउने भाजपा नेतृत्वको सरकार कायम छ । ऊ आफूलाई पूर्वीय दर्शनको समर्थक र पक्षपोषक समेत बताउँछ । यहीँनेर स्पष्ट हुनुपर्ने कुरा, देशका १२ बुँदे समर्थक र तिनका भारतीय मालिकका कर्तुतहरूको विरोध गरेर पूर्वीय दर्शनको औचित्यताको कुरामा जोड दिनुको तात्पर्य आफू त्यहाँका पूर्वीय दर्शन पक्षधर भनाउँदाहरूको नजिक वा समर्थनमा रहेको भन्ने कदापि होइन । पूर्वीय दर्शन ज्ञानको उपयोगी श्रोत हो र त्यसको अध्ययनलाई उपेक्षा गर्नुहुँदैन भन्ने आशय मात्र हो ।
रह्यो कुरा मोदी (भाजपा) सरकारको भूमिकाको । भाजपा यदि पूर्वीय दर्शनको साँच्चिकै समर्थक हो भने उसले पहिले पूर्वीय दर्शनको उत्पत्ति स्थल भारत मात्र होइन, नेपाललगायतका अन्य मुलुकहरू पनि पूर्वीय दर्शनका उद्गमस्थलहरू हुन् भन्ने कुरालाई बुझ्नु, स्वीकार गर्नु र तिनीहरूलाई सम्मान गर्नुपर्दछ । दोस्रो कुरा, नेपाल कहिल्यै पनि औपनिवेशिकता व्यहोरेको मुलुक होइन, त्यसैले यहाँका केही दासत्वपूर्ण मानसिकता बोकेकाहरू सत्ता र निजी स्वार्थका निम्ति भारतीयहरूको खुट्टा ढोग्न तयार भए तापनि अधिकांश जनताहरू भारतीयहरूको हस्तक्षेपलाई सहने पक्षमा छैनन् । तेस्रो कुरा, भाजपा शासकहरू जसले आफूलाई पूर्वीय दर्शनका पक्षधर बताउँछन्, उनीहरूले पूर्वीय दर्शनको मूल आदर्श ‘बसुधैव कुटुम्बकम’लाई व्यवहारिकरूपमा आत्मसात गर्नुपर्यो । चौथो, यदि भारतीय सरकार सत्कर्म, सद्भाव र नैतिकतामा विश्वास राख्दछ भने उसले पहिले आफ्ना अग्रजहरूद्वारा नेपालको सीमा अतिक्रमण र नेपाल राष्ट्र एवम् नेपाली जनताप्रति गर्ने गरेका दुव्र्यवहार प्रति क्षमा याचना गर्दै नेपाली भूमि फिर्ता र नेपाली राष्ट्र र जनताहरू प्रति सद्ब्यवहारको प्रारम्भ गर्नुपर्दछ ।
अन्यथा, ‘जस्तो कर्म गरिन्छ, त्यसै अनुसारको फल प्राप्ति हुन्छ’ भनेजस्तै भारतले आफ्नै देशका विभिन्न भागहरूमा घटिरहेका द्वन्द्व र विखण्डनकारी घटना र केही छिमेकी राष्ट्रहरूको व्यवहारका कारण बेहोर्नु परिरहेका संकटहरूलाई अझ झन् कठोर रूपमा बेहोर्नु पर्नेछ ।
रह्यो कुरा, देशको अवस्था कस्तो होला ? र, देशको अस्तित्व जोगाउन के गर्नुपर्ला ? भन्ने । निश्चय पनि यतिबेला नेपालीहरू भ्रष्ट शासकहरूको व्यवहारबाट सन्तुष्ट छैनन् । कारण, राजनीतिक भ्रष्टहरूको ध्येय देशको अस्तित्व समाप्त भए होस्, आफूहरूले सम्भव भएसम्म सत्ताको बलमा लुट मच्चाएर आफू र आफ्नो परिवारका सदस्यहरूको भविष्य सुखमय बनाउन सकियोस् भन्ने मात्र रहेको छ । यस्तो संकटपूर्ण घडीमा पनि अब नेपालमा देश जोगाउन लागि पर्ने कुनै शक्ति बाँकी छ भन्ने देखिँदैन । त्यसैले ध्यान राष्ट्र निर्माता पृथ्वी नारायण शाह, देशको अस्तित्वको रक्षाका निम्ति ज्यू ज्यान सुम्पने वीर भक्ति थापा, अमरसिंह थापा, बलभद्र कुँवर, माथवर सिंह थापालगायतका योद्धाहरू सँगै ‘म मरे पनि मेरो देश बाँचिरहोस्’ भन्ने राष्ट्रभक्तिपूर्ण सोचसहितका राजा महेन्द्र जस्ता सुपात्रहरू र तिनीहरूको भूमिकाप्रति केन्द्रित हुनु आवश्यक छ । तिनीहरूको भूमिका र योगदानबाट सकारात्मक प्रेरणा लिँदै आफू पनि राष्ट्र र जनताको सेवामा समर्पित हुने आँटयुक्त हुनुपर्छ ।