समयमा बजेट नल्याएको भन्दै संघीय सरकारले स्थानीय तहको बजेट अनुदान कटौती गर्न थालेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्धारित समयमा बजेट नल्याउने स्थानीय तहको बजेट कटौती गर्न थालेको जनाएको छ । गत वर्ष पनि बजेट कटौती गरिउको थियो । गत वर्ष समयमा बजेट नल्याउने दुई दर्जन बढी स्थानीय तहको बजेट पाँच प्रतिशतसम्म कटौती गरियो । कार्य सम्पादन मूल्याङ्कन हेरेर १० देखि १५ प्रतिशतसम्म अनुदान कटौती गर्ने चेतावनी दिइएको छ ।
यो वर्ष पनि अहिलेसम्म गत वर्षकै जति संख्याका स्थानीय तहले अहिलेसम्म बजेट ल्याएका छैनन् । विशेषगरी प्रदेश–२ का स्थानीय तहले बजेट ल्याउन नसकेको हो । मन्त्रालयका अनुसार, यो वर्ष ३२ स्थानीय तहले बजेट ल्याएको छैन । साउन १ गतेभित्र ल्याउनुपर्ने बजेट अहिलेसम्म नल्याएर कानूनको उल्लङ्घन गरेको मन्त्रालयको भनाइ छ । यसलाई दुई दृष्टिले मूल्याङ्कन गर्न सकिन्छ । पहिलो त संघीय सरकारले स्थानीय सरकार संविधानतः अधिकार प्राप्त छुट्टै सरकार हो भन्ने भुलेको छ । किनभने, स्थानीय सरकारलाई दिइएको बजेट कार्यान्वयनमा दण्डा नै लगाउने नीति स्थानीय निकाय कायम रहँदाकै निरन्तरता हो ।
जबकी विद्यमान ७५३ स्थानीय तह जनताको आँगन छेउको सरकार हो । यसरी संघीय सरकारको दण्डा चल्दा स्थानीय सरकारले आफ्नै सरकार हो भन्ने अपनत्व नलिन सक्छन् । तर, अर्कातिर पनि समस्या छ । जस्तो– संघीय सरकारमा जस्ता विकृति छन् । स्थानीय सरकारले पनि त्यही सिकेको छ । संघीय सरकारमा पनि राजनीतिक दलहरुबीच विवाद हुँदा धेरै पटक बजेट बेलामा आउन नसकेको नजीर छन् । कतिपय बेला अध्यादेशबाट सरकार चलेको थियो भने कतिपय बेला पुरक बजेटका आधारमा सरकार चलेको थियो । अहिले स्थानीय सरकारमा पनि त्यही समस्या देखिएको छ ।
तर, स्थानीय सरकारले बेलामा बजेट ल्याउन नसक्ने अनि संघीय सरकारले कार्बाही स्वरुप अनुदान बजेट कटौती गरिनुमा पहिलेको भन्दा धेरै फरक छ । किनभने हामी अहिले संघीयता कार्यान्वयनतर्फ बढेका छौं । त्यसैले अहिले देखिएको समस्याले संघीयता प्रति आमनागरिकको बुझाइमा बितृष्णा आउन सक्दछ । तसर्थ, संघीय अभ्यासमै प्रश्न उठ्ने प्रकृतिका समस्या हल गर्न सबै तहका सरकार लाग्नुपर्नेछ । राजनीतिक नेतृत्व र सचेत पंक्तिको समेत यो दायित्व हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies