काठमाडौं : प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गैरकानूनी रूपमा वैदेशिक रोजगारीमा पठाउने प्रवृत्ति रोक्न सम्बन्धित निकायहरूलाई निर्देशन दिने भएको छ । वैदेशिक रोजगार व्यवसायीहरूले विदेशस्थित नेपाली नियोगहरूले मागपत्र प्रमाणीकरण नगर्दा अस्वभाविक रूपमा भिजिट भिषामा दैनिक ठुलो संख्यामा गइरहेकोले उनीहरूलाई रोक्नुपर्ने आवाज उठाइरहेको बेला मंगलबार समितिको बैठक बसी त्यस विषयमा छलफल गरेकोे थियोे ।
समिति बैठकमा सहभागी नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका महासचिव भवानी निरौलाले रोजगारिमा जान चाहने युवाका विषय तथा वैदेशिक रोजयार व्यवसायमा भैरहेका बेतिथिहरुका विषयमा पनि समितिमा छलफल भएको बताए । समितिले सबै बिषयहरुलाई गम्भीर रुपमा लिँदै सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने आश्वासन दिएको निरौलाले बताए ।
व्यवसायीहरुले खाडी मुलुकमा रहेका नेपाली दुतावासहरुले मागपत्र स्वीकृत नगरिदिदा वैदेशिक रोजगारीको अवसर गुम्दै गएको गुनासो गरेका छन् । व्यवसायीहरुले पछिल्लो समय कतार, बहराइन, यूएई लगायतका मुलुकबाट आएका मागपत्र सम्बन्धित देशका दूतावासबाट स्वीकृत नभएको गुनासो गरेका हुन् । खाडी मुलुकबाट करिब ७० हजारको संख्यामा कामदार माग हुने गरी मागपत्र आउने क्रममा रहेको तर कोभिडलाई देखाउँदै दूतावासहरुले मागपत्र प्रमाणीकरण नगरिदिँदा वैदेशिक रोजगारीको माग गुम्ने स्थिति आउन लागेको बताएका हुन् ।
सरकारले गत असार १४ गते वैदेशिक रोजगारीमा जाने नयाँ कामदारको श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेपनि हालसम्म युएई र साउदस्थित नेपाली दूतावासहरूले मागपत्र प्रमाणीकरण शुरूवात नगरेको व्यवसायीहरूको भनाइ छ ।
वैदेशिक रोजागरका निमित्त आएका मागपत्रको प्रमाणीकरण नभए नेपालका लागि आएको माग अन्य मुलुकमा जान सक्ने जोखिम रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बताए ।
एसोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले दुबईबाट आएको मागपत्र प्रमाणीकरण नहुँदा भिजिट भिसामा रोजगारीका लागि जानेहरुको संख्या बढेको बताए । भिजिट भिसामा गई काम गर्नु अवैध भएपनि युवाहरु काम खोज्नका लागि खाडी मुलुक जान बाध्य भएको उनले बताए । उनले नेपालबाट दैनिक ५ सय देखि ७ सयको संख्यामा भिजिट भिसामा खाडी मुलुक गएको र एयरपोर्टमा करोडौंको चलखेल हुने गरेको दावी समेत गरे । एसोसिएसनले दुई दिनअघि विज्ञप्ति नै जारी गरेर मागपत्र प्रमाणीकरणा नगर्ने दूतावासहरूको रवैयाले व्यवसायीहरूलाई गम्भीर बनाएको बताएको थियो ।
नेपाल सरकारले कोभिड संक्रमणको जोखिम कम भएका मुलुकहरुमा वैदेशिक रोजगारका लागि कामदार पठाउन खुला गरेको छ । वैदेशिक रोजगार विभागले पनि वैदेशिक रोजगारमा जानेहरुका लागि पूर्व स्वीकृति र अन्तिम स्वीकृृति दिइरहेको छ तर सम्बन्धित देशमा रहेका दूतावासबाट मागपत्र प्रमाणीकरण नभएपछि नयाँ कामदार पठाउन नसकिएको व्यवसायीहरुले गुनासो गर्दै आएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies