काठमाडौं : काठामाडौंको तीनकुुने क्षेत्रमा गत १५ चैतमा राजावादीका नाममा भएको हिंसात्मक आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको संलग्नता दाबी गर्दै कारबाही गर्ने दाबी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । तर, कारबाहीका लागि आवश्यक ठोस आधार भने भेटेका छैनन् ।
तीनकुने घटनाका विषयमा सार्वजनिक रूपमा आजसम्म कुनै प्रतिक्रिया नदिएका शाहले भित्री रूपमा सहयोग गरेका कारण यो अवस्था आएको प्रधानमन्त्री ओलीलगायत गणतन्त्रवादी दलहरूको आरोप छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रप्राप्तिपछि सरकारले पूर्वराष्ट्रप्रमुखको हैसियतमा दिइँदै आएको सम्मानको सम्झौतासमेत पूर्वराजा शाहले भंग गरेको आरोप लगाए । १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको घटनाको सबै जिम्मेवारी पूर्वराजा शाहले लिनुुपर्ने भन्दै ओलीले शाहलाई दोषी करार गरेका छन् । तर, प्रधानमन्त्री ओली र गणतन्त्रवादी नेताहरूले भनेझैं पूर्वराजालाई कारबाही गर्ने कुनै विश्वासिलो सबुत र आधार भने देखिएको छैन । शाहले तीनकुने घटनाका विषयमा आजसम्म कुनै प्रतिक्रियासमेत दिएका छैनन् ।
संसद्बाट नेताहरूले उक्त घटनाका विषयमा पूर्वराजा शाहको धारणा माग गरे पनि उनी चुप छन् । आन्दोलनपूूर्व दुुर्गा प्रसाईंले भेटेर आएका थिए । त्यसबाहेक देखिनेगरी उनको कुुनै संलग्नता नभएकाले पूर्वराजालाई कारबाही गर्ने विषय दलहरूका लागि चुनौती रहेको कानुनका जानकारहरू बताउँछन् ।
‘तीनकुने घटनामा पूर्वराजा शाहको अप्रत्यक्ष संलग्नताले यो स्थिति आएको दलहरूको दाबी छ । तर, ठोस आधार नभेटेकाले शाहलाई नेताहरूले भनेजस्तो कानुनी उपचार खोज्ने कुरा चुुनौतीपूर्ण छ’, अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले भने ।
गणतन्त्रवादी र राप्रपाबीच हंगामा यो विषयलाई लिएर सोमबार प्रतिनिधिसभामा गणतन्त्रवादी र राप्रपाबीच हंगामा भएको छ ।
प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै गर्दा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नियामापत्ति जनाउँदै अवरोध गर्न खोजेपछि संसद्मा केहीबेर नोकझोक चलेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही गर्नेदेखि राजाको एजेन्डा बोकेर हिँडेको राप्रपालाई नैतिकताको पाठ सिकाएपछि राप्रपाका सांसदहरूले आसनबाट उठेर सदन अवरोध गरेका थिए ।
सम्बोधका क्रममा प्रधानमन्त्री ओलीले संविधानको शपथ लिएर आउने अनि संविधान मास्ने क्रियाकलाप गर्न नपाइने बताए । ‘संविधानको शपथ लिएर आउने अनि संविधान मास्ने क्रियाकलाप शपथविपरीतको कुुरा हो, नैतिकताविपरीतको कुरा हो’, उनले भने, ‘संविधानअनुुसार देश, जनता र ईश्वरका नाममा शपथ लिएर त्यही शपथविपरीत चल्न कसैले मिल्दैन । त्यसैले, हामी एउटा थिति र मर्यादामा बसौं ।’
वर्तमान संविधान, व्यवस्था र संसद्ले बनाएको नियामावलीको विरुद्धमा लागेर राप्रपाले नैतिकता गुुमाएको प्रधानमन्त्री ओलीको आरोप छ । तीनकुनेमा गत शुक्रबार भएको राजावादी समूहको आन्दोलन हिंस्रक हुनुमा पूर्वराजा शाहको समेत संलग्नता भएको दाबी गर्दै उनले पूर्वराजा शाहले उन्मुक्ति नपाउने बताए ।
ओलीले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते सार्वजनिक भिडियो वक्तव्य जारी गर्दै भीड उक्साउने काम गरे । पूर्वराजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृंखलावद्ध घटनामा आफ्नो धारणा सर्वजनिक गर्नुपर्दैन ?’ जुनसुकै आवरणमा पनि हिंस्रक आन्दोलन गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याइने उनको दाबी छ ।
प्रधानमन्त्री ओलीले पूर्वराजाविरुद्ध अभिव्यक्ति दिँदा राप्रपा सांसदहरूले सभामा उठेर विरोध जनाएका थिए । संसद्मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मिथ्यांकले अहिलेका नागरिकले नमान्ने बताए ।
‘देशका राजा हटाएर ल्याएको लोकतन्त्र गणतन्त्रका नाममा कुन प्रकारको लुटतन्त्र मच्चाइरहेको छ, त्यो अहिलेका युवा पुुस्ताले देखिसकेका छन्’, उनले प्रश्न गरे, ‘नेपाली कांग्रेस, नेकपा एमालेहरू सत्तामा भजन कीर्तन गाउँदै र मादल बजाउँदै आइपुगेका हुन् ? तपाईंहरू तोडफोड नगरी आएको हो ? मान्छे नमारी आएको हो ? त्यस कारण म भन्छु, सविन महर्जनलाई हिँडिराखेको बेला गोली किन हानियो ? छतमा बसेर किन म्याद सकिएको अश्रुग्यास बर्साइयो ? किन माथिबाट गोली हानियो ? त्यसको जबाफ चाहिन्छ ।’ १५ चैतमा भएको राजावादी समूहको आन्दोलनमा आन्दोलनकारीले मात्र नभई राज्य पक्षबाट समेत ज्यादती गरिएको आरोप उनले लगाए ।
दोधारमा राप्रपा
१५ चैतको हिंस्रक आन्दोलनपछि राप्रपाको शाख घटेको आमटिप्पणी भइरहेको छ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक प्रवक्ता मनीष झाले तीनकुनेमा मृत्युु भएका २ जना युुवाहरूको मृत्यु र क्षतिको घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै आन्दोलनरत पक्ष र सरकार पक्ष दुुवैलाई सचेत गराए ।
‘अराजकता, उद्दण्डताको कदापि समर्थन गर्न सकिँदैन’, उनले भने, ‘तीनकुने घटनामा निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गरियोस् ।’
सो आन्दोलनमा राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशम्शेर राणा नै यस्तो घटनामा मुछिएपछि राप्रपाभित्रसमेत तनाव उत्पन्न भएको राप्रपाका एक केन्द्रीय पदाधिकारीले बताए ।
‘तीनकुने घटनापछि राप्रपाका अध्यक्ष लिङ्देन वैचारिक एवं नैतिक संकटमा परेका छन्’, उनले मध्यान्हसँग भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाको मुख्य नेतृत्वलाई बेवास्ता गर्दै पूूर्वपञ्च नवराज सुवेदी, मेडिकल व्यवसायी दुुर्गा प्रसाईं, राप्रपाका नेता रवीन्द्र मिश्र र धवलशम्शेर राणालाई निर्मल निवासमा झिकाउँदै जिम्मेवारी दिन थालेपछि केही असहज भएको छ । पार्टीका नेता मिश्र र राणाले पार्टीको आधिकारिक निर्णयविपरीत नवराज सुवेदी र दुुर्गा प्रसाईको पछि लागेपछि कारबाही गर्ने कि जोगाउने भन्ने दोधारमा नेताहरू पुगेका छन् ।’
राजावादीको गतिविधिप्रति कडा आलोचना
सोमबार संसद्मा प्रायः सबै दलले राजावादीको गतिविधिप्रति कडा आलोचना गरे । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पञ्चायतकालको ३० वर्षमा १६ वटा सरकार बनाएको इतिहास स्मरण गराए ।
‘नागरिक मर्दै गर्दा धेरैलाई दुख्यो तर निर्मल निवासलाई दुखेन । हृदय नदुख्ने राजाको कस्तो कल्पना गर्न खोजेको ?’, उनले राप्रपालाई प्रश्न गरे । नागरिकले आफ्ना आवश्यकता खोज्ने तर राजा नखोज्ने उनको भनाइ थियो ।
संसद्मा प्रधानमन्त्रीको सम्बोधनलाई नै अवरोध गर्नेगरी राप्रपाका सांसदहरू प्रस्तुुत भएकाप्रति आपत्ति जनाउँदै नेकपा एमालेका सचिव योगेश भट्टराईले निर्मल निवासबाट लफङ्गाहरू पठाएको टिप्पणी गर्दै पूर्वराजाको सेवा सुविधा खोस्नुुपर्ने बताए । उनले भने, ‘मुूर्ति चोरी गर्नेहरू निर्मल निवासमा रहेका छन् । नेपालको राजनीतिलाई पश्चगमनतर्फ लैजाने प्रयास गरिँदै छ । निर्मल निवासबाट लफङ्गाहरूलाई माला गलाएर जनताको घर जलाउन र जनताका छोरा मार्न पठाउनुुभयो, सरकारले दिएको सम्मानको सम्झौता भंग गर्नुुभयो, अब तपाईंमाथिको सेवा सुुविधा के हुन्छ, नेपाल सरकारले जबाफ दिनुपर्छ ।’
त्यस्तै, नेकपा (एकीकृत समाजवादी)का सांसद अमरबहादुुर थापाले पूर्वराजा र राजावादीहरूप्रति कडा टिप्पण्ी गरे । उनले वंश विनाश गर्ने, मूर्ति चोरी गर्ने, नमिता–सुनिता काण्डलाई समेत स्मरण गराउँदै १५ चैतमा भएको घटनाले राजा ल्याउँछुु भन्नेहरू नांगो भएका दाबी गरे ।
बैठकमा नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले निरंकुश राजतन्त्रका विरुद्धमा लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रमा राजतन्त्रको बहस गर्नुु नहु्ने बताइन् । तीनकुुने घटना घट्नुुमा पूर्वराजा ज्ञानेन्द्र शाहको हात रहेको ठोकुुवासहित उनले भनिन्, ‘कथित आन्दोलनका कमान्डर भनिएका दुुर्गा प्रसाईं अगाडि भए पनि त्यसको पछाडि पूर्वराजा ज्ञानेन्द्र शाह छन् । उनले गरेका उक्साहट र पटक–पटक गरेको आह्वानमा यो घटना भएको हो ।’
त्यस कारण पूूर्वराजा, दुुर्गा प्रसाईंसहित यस घटनामा संलग्नमाथि कारबाही गर्न उनले माग गरिन् । तर, गणतन्त्रवादी नेताहरूले भनेझैं पूर्वराजालाई कारबाही गर्ने कुनै विश्वासिलो आधार नभेटेपछि बाहिर बोले पनि भित्री रूपमा उनीहरू अन्योलमा छन् ।