काठमाडौं : तीनकुनेमा भएको प्रदर्शनका क्रममा घटित घटनाबारे उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) यस्तो मागमा एक मत देखिएका छन् ।
गत शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा हिंस्रक र उच्छृङ्खल गतिविधि भएका थिए । ती घटनाबारे उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरिनुपर्ने माग उनीहरूको छ ।
१५ चैतमा राजावादीले तीनकुनेमा प्रदर्शन गरेका थिए । राजावादीले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएको थियो । तर, प्रदर्शन नसकिँदै प्रदर्शन स्थल छाडेर उनीहरूले आसपासका निजी घरहरूमा क्षति पु¥याएका थिए । निजी घरमा लगाइएको आगोमा जलेर एक पत्रकारको मृत्यु भयो । गोली लागेर अर्का एक प्रदर्शनकारीको मृत्यु भएको थियो ।
राजावादीहरूले नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा आगजानी गरे । नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा तोडफोड प्रयास गरे । जडीबुटी कम्पनीमा आगजनी गरे । अन्नपूर्ण पोस्टको कार्यालयमा आगो लगाए । कान्तिपुर मिडिया हाउसको भवनमा आगजनी प्रयास गरे । अन्य मिडिया हाउसमाथि समेत आगजानी र तोडफोड प्रयास गरे ।
यी गतिविधि हुनुमा सरकारसमेत जिम्मेवार रहेको भन्दै उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग उठेको हो । सोमबार प्रतिनिधिसभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बोलेका थिए । त्यसक्रममा उनले तीनकुने घटनाप्रति दुःख व्यक्त गरे । निष्पक्ष छानबिनको माग गरे । उक्त घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक र अर्का युवा सविन महर्जनलाई शहीद घोषणा गर्न पनि लिङ्देनले माग गरे ।
सोमबार नै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाले तीनकुने घटनामा कुनै एउटा पक्षलाई दोष दिएर सरकार उम्किन नमिल्ने बताए ।
‘तीनकुनेको त्यो अराजकता र उद्दण्डताको हामी विरोध जनाउँछौं तर यसमा कुनै एउटा पक्ष मात्र जिम्मेवार छैनन्’, रास्वपा सांसद झाले भने ।
ज्यान गुमाएका युवा सविन महर्जनलाई पछाडिबाट गोली हानेको भिडियो बाहिरिएको भन्दै उनले त्यसमा प्रहरीको कमजोरी देखिएको बताए । झाका अनुसार सविन भागेका थिएनन्, ढुंगा हानिरहेका थिएनन् ।
सांसद झाले पत्रकार सुरेश रजकको मृत्यु पनि शंकास्पद रहेको बताए । यी विवरण सुनाउँदै उनले तीनकुने घटनामा उच्चस्तरीय छानबिन आयोगको माग गरे ।