काठमाडौं : गत शुक्रबार म्यान्मारमा गएको शक्तिशाली भूकम्पमा परेर थुप्रै नेपालीले ज्यान गु्माएका छन् । भूकम्पमा धेरै नेपालीभाषी घाइते पनि छन् । तर, म्यान्मारको सैन्य सरकारले भूकम्पपीडितहरूलाई राहत र उद्धारमा सक्रियता देखाएको छैन ।
एकातिर भूकम्पको त्रास छ भने त्यहाँको सैन्य सरकारले देशका विभिन्न भागमा निरन्तर बम प्रहार गरिरहेको छ ।
शुक्रबार अपरान्ह ७ दशमलव ९ म्याग्निच्युडको भूकम्पपछि त्यहाँ मृतकको संख्या करिब ३ हजार पुगेको छ । म्यान्मारका सरकारी अधिकारीेले २ हजार ८८६ को मृत्यु र ४ हजार ६३९ जना घाइते भएका जनाएका छन् ।
अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार १० हजार जनाभन्दा धेरैको ज्यान गएको हुन सक्ने सम्भावना प्रबल छ ।
सगाइङ क्षेत्रमा आएको भूकम्पको धक्का छिमेकी देशहरूमा पनि अनुभव गरिएको थियो । त्यसले म्यान्मारको दोस्रो ठूलो शहर म्यान्डलेका साथै २४१ किलोमिटर पर रहेको राजधानी नेपिडोमा ठूलो क्षति पुगेको छ ।
उद्धार टोलीहरूले प्रभावित क्षेत्रमा सुरक्षा चिन्ताका कारण उद्धार र राहत वितरणमा ठूलो समस्या भोगिरहेका छन् । यसका साथै भारी यन्त्रको अभावले पनि उद्धार कार्यलाई थप कठिन बनाएको छ ।
भूकम्पले म्यान्मारको पश्चिमी र दक्षिणी क्षेत्रलाई ठूलो क्षति पुगेको छ, जहाँ थुप्रै घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । भूकम्पको गहिराइ र दूरगामी प्रभावका कारण उद्धार कार्यमा समय लागिरहेको सैन्य सरकारको भनाइ छ । सरकारले आपत्कालीन राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेको छ ।
२४ नेपालभाषीको मृत्यु
शक्तिशाली भूकम्पमा परी म्यान्मारमा २४ नेपालीभाषीको मृत्यु भएको छ । यसबाट थुप्रै घाइते छन् तर घाइतेहरू अहिलेसम्म राहतको पर्खाइमा छन् । सैन्य सरकार भूकम्पपीडितहरूको अवस्थाप्रति गम्भीर नबनेको देखिएको छ ।
गोर्खा संघ म्यान्मारका पूर्वमहासचिव लक्ष्मण न्यौपानेका अनुसार धेरै नेपालीभाषीको बसोबास म्यान्डलेमा छ । करिब १ हजार १०० नेपाली रहेको म्यान्डलेमा ठूलो क्षति भएको छ । त्यहाँ करिब ६० प्रतिशतभन्दा बढी घरहरूमा क्षति पुगेको छ ।
म्यान्डले युद्ध प्रभावित क्षेत्र हो । युद्धका कारण त्यहाँ राहत सामग्री पुग्न सकेको छैन । ‘अवस्था धैरै दयनी छ’, म्यान्मारबाट न्यौपानेले फोनमा मध्यान्हसँग भने, ‘राहत र उद्धार नपाएर नेपालीभाषीसहित थुप्रै बर्मेलीहरू कष्टपूर्ण अवस्थामा छन् ।’
म्यान्डलेमा तापक्रम ४० डिग्री सेल्सिअससम्म पुग्दा भग्नावशेषमा पुरिएका शव सडेर दुर्गन्ध सडकमा फैलिएको छ ।
भूकम्पबाट २४ नेपालीभाषीको मृत्यु भएको छ । अहिलेसम्म १७ जनाको शव प्राप्त भएको छ । म्यान्डलेमा रहेका घनश्याम दाहालको परिवारमा ७ जनाको मृत्यु भएको छ ।
म्यान्मारका ३५ शहरमा नेपालीभाषीहरूको बसोबास छ । त्यहाँ नेपालीभाषीहरूको जनसंख्या करिब डेढ लाख रहेको बताइन्छ । तर, सरकारी तथ्यांकअनुसार करिब ३ लाख जनसंख्या छ ।
सबैभन्दा बढी नेपाली मोगोखमा छन । त्यहाँ झण्डै २६ हजार नृेपालीभाषी बस्छन् । अर्को शहर मिचिनामा पनि नेपालीभाषीको संख्या धेरै छ । राजधानी यांगुनमा करिब १ हजार ४०० घरधुरी नेपालीभाषीको बसोबास छ ।
अवस्था दयनीय
म्यान्डलेमा धेरै क्षति पुगे पनि नेपालीभाषीहरूले बनाएको ११ तले नेपाली गोर्खा धर्मशाला सुरक्षित रहेको न्यौपानेले बताए ।
‘म्यान्डलेको अवस्था दर्दनाक छ । त्यहाँ नेपालीभाषीहरूमाथि ठूलो बज्रपात परेको छ’, न्यौपाने बताए । सरकारी पक्षबाट राहत र उद्धारमा तदारुकता नभएपछि गोर्खा संघको नाममा चन्दा उठाएर राहत बितरण गरिएको छ ।
‘यांगुनका युवाहरूले २ लाख डलर चन्दा जम्मा पारेर भूकम्पपीडितहरूका लागि खानेकुरा, पानी, औषधि, लत्ताकपडासहितका सामग्री वितरण गरिएको छ’, उनले भने ।
म्यान्मारको सरकारले जनतालाई शत्रु मानेर पीडितहरूप्रति ध्यान नदिएको पीडितको गुनासो छ । भूकम्पपछि उद्धारकर्मीहरूले साधन स्रोतको चरम अभाव खेपेका बेलामा सेनाले सैन्य कारबाही जारी राखेको हो ।
संयुक्त राष्ट्रसंघले भूकम्पसँगै सरकारले युद्ध जारी राख्दा त्यसलाई क्रूर र अस्वीकार्यको संज्ञा दिएको छ ।
राष्ट्रसंका विशेषदूत टम एन्ड्र्युजले भूकम्पपछि मानिसहरूको उद्धार गर्ने प्रयास भइरहँदा सेनाले बम प्रहार गर्ने काम जारी राख्नु विश्वासै गर्न नसकिने खालको काम भएको प्रतिक्रिया दिएका छन् ।
म्यान्मारमा ४ वर्षअघि निर्वाचित सरकारलाई बर्खास्त गर्दै सेनाले आफ्नो हातमा शासन सत्ता लिएको छ ।
विद्रोहीहरूका अनुसार भूकम्पको असर परेको सगाइङ क्षेत्रमा पनि म्यान्मारको सेनाले स्थल आक्रमण गरेको छ ।
सेनालाई सत्ताबाट हटाउन संघर्ष गरिरहेका प्रजातन्त्र समर्थक विद्रोही समूहहरूले भूकम्पको केन्द्रबिन्दु उत्तर–पश्चिमी सगाइङ क्षेत्रको चाउङ्उमा सैन्य विमानबाट बमबारी भएको जनाएका छन् ।
सत्ताच्युत नागरिक सरकारलाई प्रतिनिधित्व गर्ने नेसनल युनिटी गभर्मेन्ट (एनयूजी)ले आफ्नो फौजले भूकम्पग्रस्त इलाकाहरूमा आइतबारदेखि लागू हुनेगरी २ सातासम्म रक्षात्मक कार्यबाहेक सबै आक्रामक कारबाही स्थगन गरेको जनाएको छ ।
४ वर्षदेखि एकातिर सेना र अर्कातिर जनजातीय विद्रोही तथा सशस्त्र प्रतिरोध समूहबीच हिंसात्मक लडाइँ चलिरहेको छ ।
सेनाले निरन्तर अपमानजनक हार बेहोर्दै आएको छ र उसको नियन्त्रण ठूलो क्षेत्रबाट गुमेको छ । त्यसैले, प्रतिरोध दबाउन सेना अहिले हवाई हमलामा बढी भर पर्न थालेको छ ।
भूकम्पको केन्द्रबिन्दु सगाइङ क्षेत्रको ठूलो भूभाग अहिले प्रजातन्त्रवादी विद्रोही समूहहरूको नियन्त्रणमा छ । कूमार्फत सत्ता हत्याएको सेनाको नियन्त्रणमा अहिले देशको केवल एक चौथाइभन्दा कम भूभाग छ ।
उपचारमा नेपाली सेना
भूकम्पपछि नेपाल सरकारले मेडिकल सहायतासहित नेपाली सेनाको २२ सदस्यीय टोली पठाएको छ । टोलीमा भूकम्प प्रभावितका लागि औषधि, उपकरणहरूसहित सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकलहरू छन् ।
प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बरसहित कुल २२ सदस्यीय टोली गएको हो । सेनाको टोली करिब १ साता प्रभावित क्षेत्रमा घाइतेहरूको स्वास्थ्य उपचारमा खट्ने छ ।