काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । गृहमन्त्री अध्यक्ष रहने समितिमा गृह र रक्षा सचिवका साथै चार वटा सुरक्षा निकायको प्रतिनिधि सहभागी हुनेछन् ।
उक्त बैठकले केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले बनाउँदै गरेको एकीकृत सुरक्षा योजनामा भएका प्रगतिको समीक्षा गरी आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिनेछ ।
गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख एवं सहसचिव आनन्द काफ्लेको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरिएको छ। गृहमन्त्री अर्यालले कार्यभार सम्हाल्नासाथ यो समिति गठन गरेका हुन् । यस समितिमा चार वटै सुरक्षा निकायका प्रतिनिधि सदस्य रहनुका साथै उपसचिव रवीन्द्र अधिकारी सदस्य सचिव छन् ।
यस समितिले बनाएको सुरक्षा योजना कार्यान्वयनका लागि प्रत्येक जिल्लामा पठाइनेछ । प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले उक्त योजनाको कार्यान्वयन गर्नेछ।