काठमाडौं : काठमाडौं उपत्यकालगायत देशका विभिन्न भेगमा वायु प्रदूषण बढेको छ । विज्ञहरूले अहिले देखिएको खराब वायु गुणस्तर हेर्दा सन् २०२१ कै जस्तो निकै खराब अवस्था दोहोरिने जोखिम देखिएको बताएका छन् ।
सन् २००२ देखि नेपालमा डढेलोको विवरण राख्न थालिएकामा सन् २०२१ मा सबैभन्दा धेरै डढेलो देखापरेको थियो । त्यस वर्ष ३० मार्चदेखि २ अप्रिलसम्म आपत्कालीन अवस्था महसुस गर्दै विद्यालयहरू बन्द गरिनुका साथै धेरै उडानहरू रद्द भएका थिए ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार हालको अवस्थामा सुधार हुन कम्तीमा अझै १ साता लाग्ने छ । विज्ञहरू १ सातासम्म वर्षा हुने सम्भावना नदेखिएको अवस्थामा तत्कालै सुधार आउन कठिन रहेको बताउँछन् ।
पानी परेमा प्रदूषित वायु कम हुँदै जाने भए पनि तत्काल त्यस्तो अवस्था नदेखिएकाले वायुको गुणस्तरमा तुरुन्तै सुधार हुने अवस्था नरहेको जानकारहरू बताउँछन् ।
बुधबार उपत्यकाका ५ वटा मापन केन्द्रबाहेक धनगढी र इलाममा समेत वायु गुणस्तर अस्वस्थताको तहमा पुगेको देखिएको वातावरण विभागले जनाएको छ ।
वायु प्रदूषण खतरनाक विन्दुमा पुगेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयले विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्यूआई) सूचकांकअनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको हो ।
हाल काठमाडौंमा वायु प्रदूषणको स्तर ३४८ एयर क्वालिटी इन्डेक्स (एक्यूआई) पुगी ‘खतरनाक’ श्रेणीमा पुगेको छ ।
एक्यूआई मापनअनुसार शून्यदेखि ५० सम्म ‘स्वच्छ’, ५१ देखि १०० सम्म ‘सामान्य’, १०१ देखि १५० सम्म ‘सम्भावित जोखिम’, १५१ देखि २०० सम्म ‘अस्वस्थकर’, २०१ देखि ३०० सम्म ‘अत्यधिक अस्वस्थकर’ र ३०१ भन्दा माथि ‘खतरनाक’ मानिन्छ ।
किन बढ्यो प्रदूषण
अधिकारीहरूका अनुसार नेपालमा हिउँद तथा सुख्खा याममा प्रायः वायु प्रदूषण बढ्ने गर्छ ।
सवारी साधनबाट हुने वायु प्रदूषण, निर्माण कार्यबाट उत्पन्न हुने र सडकबाट उड्ने धुलो, कलकारखाना र डढेलोबाट निस्किने धुवाँ वायु प्रदूषणका मुख्य कारक हुन् ।
तर, अहिले बढेको प्रदूषणको मुख्य कारण डढेलो भएको वातावरण विभागका उपमहानिर्देश ज्ञानराज सुवेदी बताउँछन् ।
जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले यस वर्ष जाडोमा सरदर पर्नुपर्नेमध्ये करिब १० प्रतिशतजति मात्र वर्षा भएकाले प्रदूषण बढ्न मदत गरेको बताएका छन् ।
यसअघिको प्री मनसुन अवधिमा देशव्यापी रूपमा हजारौं डढेलोका घटना सार्वजनिक गरिएका थिए, जुन नेपालमा त्यसको विवरण राख्न थालिएयताको दोस्रो ठूलो प्रकोप थियो ।
काठमाडौंको प्रदूषणको हालको अवस्था भारतको दिल्ली र बंगलादेशको ढाकाभन्दा पनि खराब छ ।
तर, विज्ञहरूले नेपालमा बर्सेनि अप्रिलका बेला मात्र प्रायः त्यस्तो हुने गरेको भन्दै औसत रूपमा दिल्ली र ढाकासँग तुलना गरिहाल्न नमिल्ने बताउँछन् ।
नेपालमा डढेलो र आगलागीले वार्षिक रूपमा गराउने प्रदूषणको आधाजसो हिस्सा अप्रिल महिनामा देखिन्छ ।
बाँकी ११ महिनामा आधा प्रदूषण र अप्रिलमा आधा प्रदूषण हुने अवस्था रहँदै आएको छ । तर, यस पटक सुख्खा निकै भएकाले मे महिनामै खराब अवस्था देखिएको हो ।
यसरी ह्वात्तै बढ्नुमा निकै ठूलो हिउँदे खडेरी हुनु मुख्य कारण छ । नासाको विवरणमा चुरे र मध्यपहाडका पूर्वी भाग र मध्यनेपालमा धेरै डढेलो लागेको देखिन्छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणअनुसार नेपालमा पछिल्लो २४ घण्टामा ७२ वटा आगलागी तथा वन डढेलोका घटना भएका छन् । तीमध्ये २५ जिल्लामा ३४ वटा आगलागीका घटना भएका र २३ जिल्लामा ३८ वटा वन डढेलोका घटना भएका छन् ।
काठमाडौं उपत्यकामा पानी परेका बेलामा बाहेक वर्षमा हरेक समय प्रदूषणको समस्या देखिने गरेको छ ।
सन् २०२३ को हिउँदमा समेत १२ दशमलव ९ मिलिमिटर मात्र पानी पर्न सकेको थियो । त्यस वर्ष सरदर झन्डै ६० मिलिमिटर वर्षा हुनुपर्ने अपेक्षा गरिएको थियो ।
स्वास्थ्य जोखिम
अहिलेको वायु प्रदूषणले विशेषगरी फोक्सो र आँखामा समस्या हुन सक्ने चिकित्सकहरू बताउँछन् । त्यस्तै, मुटुका रोगीहरूको समस्या पनि बढ्न सक्छ ।
वायु प्रदूषणले श्वासप्रश्वासमा पनि समस्या हुन सक्ने छाती रोग विशेषज्ञ डा. गरिमा श्रेष्ठले जानकारी दिइन् ।
‘अहिलेको प्रदूषणले मुख्य रूपमा दीर्घरोगीहरूलाई बढी असर गर्न सक्छ’, उनले भनिन् । दम तथा अन्य खालका फोक्सो र श्वासप्रश्वाससम्बन्धी रोगीहरूलाई खराब वायुले सबैभन्दा धेरै असर गर्छ भने स्वस्थ व्यक्तिलाई पनि विभिन्न संक्रमण निम्त्याउन सक्छ ।
वायु प्रदूषणका कारण सुख्खा खोकी लाग्ने, घाँटी चिलाउने तथा श्वासप्रश्वासका समस्याहरू देखिन सक्ने चिकित्सकहरू बताउँछन् ।
लामो खोकी लागेर आउने बिरामीको संख्या अस्पतालहरूमा ह्वात्तै बढेको छ । त्यस्तै, छाला, नाक र आँखा चिलाउने खालका समस्या पनि देखिन थालिएको छ ।
प्रदूषण उच्च हुँदा दम, फोक्सोसम्बन्धी रोग, आँखाको समस्या, नाक र घाँटीमा एलर्जी, छालामा समस्या, हृदय रोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिन थालिएको छ । यस्तै, संवेदनशील समूहमा पर्ने बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगीलाई असर गर्न सक्छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी मौसम बढ्दै जाँदा बढ्दो वन डढेलो, सडक निर्माण, औद्योगिक क्रियाकलापलगायत कारणले वायु प्रदूषणको स्तर उच्च भएको जनाएको छ ।
तयारी शून्य
उपत्यकामा वायु प्रदूषणले खतराको तह पार गरे पनि यसको नियन्त्रणबारे सरकारसँग कुनै योजना छैन । प्रदूषण नियन्त्रणबारे वातावरण व्यवस्थापन विभागले ‘वाच’ गरिरहेको जनाएको छ । विभागका वातावरण निरीक्षक प्रकाश केसीले भने, ‘हामीले वाच गरिरहेका छौं, विभिन्न ठाउँमा भएको आगलागीको असर हो यो ।’
उनले यसको नियन्त्रणका लागि आगलागी नियन्त्रण गर्नुपर्ने वा पानी नै पर्नुपर्ने उनले बताए ।
कार्यबाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बिहीबार सरोकारवाला र विज्ञहरूसँग छलफल गरेका छन् ।
छलफलमा वन मन्त्रालयका सचिव दीपक खरालले प्रदूषण बढ्दै गएकाले हप्ताको २ दिन बिदा दिनुपर्ने र सवारी जोर–बिजोर गरेर चलाउनुपर्ने प्रस्ताव गरेका छन् ।
विज्ञहरूले पनि प्रदूषणको प्रमुख कारण सवारी साधन रहेको जनाउँदै केही दिन सवारी साधनको चाप कम गर्नुपर्ने सुझाव दिए ।
बर्सेनि ४२ हजारको मृत्यु
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार जनाको मृत्यु हुने गरेको छ, जसमध्ये १९ प्रतिशत ५ वर्षमुनिका बालबालिका र २७ प्रतिशत ७० वर्षभन्दा माथिका मानिस छन् । वायु प्रदूषणले नेपालीको आयु ४ दशमलव १ प्रतिशतले घटाइरहेको छ ।