२०८१ चैत २७ गते बुधवार / Apr 09 , 2025 , Wednesday
२०८१ चैत २७ गते बुधवार
Ads

कर्णालीका दुःख : गोदाममै थन्किए पाठ्यपुस्तक

draupadi film
पुर्ण कुमार
२०८१ चैत २५ गते ०६:२०
कर्णालीका दुःख : गोदाममै थन्किए पाठ्यपुस्तक

सुर्खेत : कर्णालीमा बर्सेनि शैक्षिक सत्र सुरु भएको महिनौं पछि  पाठ्यपुस्तक पुग्ने गर्छ । शैक्षिक सत्र सुरु भएको महिनौं पछि विद्यार्थीले नयाँ पाठ्यपुस्तक पढ्न पाउँछन् । कतिपय ठाउँमा त पाठ्यपुस्तक नपुगेरै शैक्षिक सत्र सकिन्छ ।

नयाँ शैक्षिक सुरु हुन हप्ता दिन बाँकी रहँदा वितरकको ढिलासुस्तीका कारण यतिबेला जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतको गोदामभित्र हजारौंको सेटमा पाठ्यपुस्तक थन्किएका छन् ।

पुस्तक वितरकले चाहे यो वर्ष समयमै विद्यार्थीहरूको हातहातमा पाठ्यपुस्तक पुग्ने देखिन्छ तर अहिलेसम्म वितरकहरूले पुस्तक लिन खासै चासो भने देखाएका छैनन् । 

जनक शिक्षाले गत १२ चैतदेखि कर्णालीका जिल्लाहरूमा पुस्तक विक्री वितरण गर्न सुरु गरिसकेको छ । केन्द्रले कर्णालीका दैलेख, सुर्खेत, मुगु, कालीकोट, जुम्ला, हुम्ला र जाजरकोटका केही क्षेत्रलाई लक्षित गरेर २५ हजार सेट पाठ्यपुस्तक सुर्खेत पुर्‍याएको थियो ।

पाठ्यपुस्तक पुर्‍याएर विक्री वितरण गर्न  सुरु गरेको २ हप्ता बढी बितिसक्दासमेत सम्बन्धित निकायहरूले चासो नदिँदा करिब १७ हजार सेट बराबरका पाठ्यपुस्तक गोदामभित्रै थन्किएका जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख भैरवबहादुर पन्तले जानकारी दिए । 

पन्तले समयअगावै सबै पाठ्यपुस्तक शाखामा आइपुगेका र सम्पूर्ण पुस्तक वितरकहरूलाई पाठ्यपुस्तक लगी विद्यार्थीहरूको पठनपाठनमा सहज बनाइदिन आग्रहसमेत गरे । 

प्रत्येक वर्ष जस्तै यो वर्ष पनि वितरकको ढिलासुस्तीका कारण विद्यार्थीको सिकाइमा गम्भीर असर पर्ने सम्भावना देखिएको छ । कर्णालीका डोल्पा, रुकुम पश्चिम, सल्यान र जाजरकोटका केही क्षेत्रले भने नेपालगन्जदेखि पुस्तक लैजाने गरेका छन्  । 

कुन जिल्लामा कति पुगे पाठ्यपुस्तक ?

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक शाखा सुर्खेतका अनुसार १२ चैतदेखि हालसम्म ८–९ हजार सेट बराबरका पाठ्यपुस्तक मात्र विक्री वितरण भएका छन् । तीमध्ये दैलेखमा कक्षा ६ देखि १० सम्मका लागि १ हजार ८०० सेट, सुर्खेतमा कक्षा ६ देखि १० कक्षासम्मका लागि २ हजार सेट र कक्षा ३ का लागि ८०० सेट पाठ्यपुस्तक गएका छन् ।

जाजरकोटमा कक्षा ६ देखि १० सम्मका लागि १ हजार सेट, कक्षा ५ का लागि ३०० सेट, कालीकोटमा कक्षा ६ देखि १० सम्मका लागि २ हजार ५०० सेट, कक्षा ५ का लागि १ हजार सेट र कक्षा ३ का लागि ४०० सेट र जुम्लामा कक्षा ६–१० सम्मका लागि १ हजार सेट, कक्षा ५ का लागि ३–४ सय सेट पुस्तक गएका छन् ।

हुम्लामा गत माघमै पाठ्यपुस्तक पुगेको थियो भने मुगुमा भने अझै पनि पाठ्यपुस्तक लिनका लागि सम्पर्कमा नआएको शाखा प्रमुख पन्तले जानकारी दिए । पन्तका अनुसार १२ चैतदेखि वितरण प्रक्रियालाई सक्रिय पारिएको भए पनि लक्ष्यअनुसार विक्री र वितरणले गति लिन नसकेको देखिन्छ ।

केन्द्रले पुस्तकहरू वितरणका लागि लक्षित क्षेत्र पहिचान गरेर समयमै ढुवानीको प्रयास गरेको भए पनि विद्यालयस्तरमा समयमै माग नआउँदा र समन्वय अभावका कारण गोदाममै थन्किन पुगेको कम्पनीले जानकारी दिएको छ । 

शैक्षिक सामग्री समयमै विद्यालयहरूमा नपुगेमा त्यसको असर विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष रूपमा पर्छ । सम्बन्धित विद्यालयका स्थानीय तह र शिक्षा शाखाबीच समन्वय अभावका कारण पनि पाठ्यपुस्तक वितरणमा ढिलाइ भइरहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise