एक सातादेखि राजधानी उपत्यकासहित देशका प्रमुख शहरहरूमा बढेको वायु प्रदुषणले श्वास फेर्नै मुस्किल भएको छ । राजधानी काठमाडौंमा आँखा पोल्नेगरी प्रदूषण छ । प्रदूषित वायुका कारण रुघाखोकी लाग्ने, टाउको दुख्ने, आँखा पोल्ने, घाँटी खसखसाउने जस्ता समस्याहरू बढेका छन् । वायु प्रदूषणका कारण अस्पतालहरूमा बिरामी संख्या बढेको छ । दीर्घ रोग, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका मानिसहरूलाई थप समस्या देखिएको छ । बातावरण विभागले देशभर राखेको मापन केन्द्रहरूको रिपोर्टअनुसार अधिकांश शहरको वायु प्रदूषित छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्डबमोजिम एक्यूआईको मान १०० भन्दा कम भए वायु श्वास फेर्न सुरक्षित मानिन्छ । तर, मापन केन्द्रहरूले राजधानीसहित शहरहरूमा एक्यूआई १०० भन्दा बढी भएको देखाएका छन् ।
डब्ल्यूएचओकै मापदण्डअनुसार एअर क्वालिटी इन्डेक्स (एक्यूआई) १५० भन्दा माथि भएमा समस्या देखिन थाल्छ । २०० भन्दा माथि भए अस्वस्थ्यकर, ३०० भन्दा माथि भए हानिकारक र ४०० भन्दा माथि भए गम्भीर मानिन्छ । एक्यूआई ३०० पुगे संकटकाल लगाउने अभ्यास रहने गरेको छ । नेपालमा यसअघि त्यस्तो अभ्यास भएको छ । यस पटक वायु प्रदूषणको सूचक ३०० पुगेको छैन । यद्यपि, वायु प्रदूषणको अवधि लम्बिएर गएको छ । अघिल्ला वर्षहरूमा पनि चैत–वैशाखको महिनामा वायु प्रदूषित हुने गरेको थियो तर वर्षा हुँदा चाँडै प्रदूषित वायु हटेर जाने गरेको थियो । यस पटक पानी पर्न सकेको छैन तसर्थ जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने वायुकै बाबजुत आमदिनचर्या चलिरहेको छ ।
सरकारले वायु प्रदूषणबाट नागरिकको जीवन रक्षाका निम्ति कुनै ठोस कदम चालेको छैन । सरोकारवालाहरूले कम्तीमा बालबालिका, वृद्धवृद्धा जस्ता उमेर समूहलाई जोगाउनेगरी निर्णय गर्नुपर्ने सुझाव दिइरहेका छन् । सरकारचाहिँ ‘भगवान् भरोसा’मा देखिन्छ । कहिले वर्षा हुन्छ र वायु प्रदूषण हट्छ भन्ने आशामा सरकार छ । यसरी अल्पकालीन कदम चाल्नसमेत आनाकानी गर्ने सरकारले दीर्घकालीन योजना ल्याउनेमा ढुक्क हुन सकिँदैन । भारत जस्ता औद्योगिक मुुलुकको छिमेकी भएकाले पनि नेपालले दीर्घकालीन समाधानको पहलकदमी र आवाज उठाउन जरुरी हो । हाम्रै परिवेशको कुरा गर्दा पनि आगलागी नियन्त्रण वायु प्रदूषण न्यूनीकरणको एक विकल्प हो । पर्यावरण जोगाउनेगरी गर्नुपर्ने अरू थुप्रै काम छन् तर तत्काललाई भने जोखिमयुक्त उमेर समूहका नागरिकको जीवन रक्षा गर्नेगरी सरकारले आवश्यक निर्णय लिनुपर्छ ।