काठमाडौं : नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले सरकार र निजी क्षेत्रको सहकार्यबाट जेन जी प्रदर्शनका क्रममा भएको क्षतिको पुनर्निर्माण गरिने बताएका छन् ।
हिलटेक समूहले बिहीबार नेपाल प्रहरीलाई सहयोग हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । आन्दोलनका क्रममा धेरै क्षति भएको उल्लेख गर्दै उनले यसको छिट्टै पुनर्निर्माण सम्पन्न गरेर सार्वजानिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
त्यसका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको उनले बताए । उनले निजी क्षेत्रमा पनि क्षति पुगेको बताए । पुनर्निर्माणमा सहयोग गर्न उनले निजी क्षेत्र र युवाहरुलाई आग्रह गरे । धेरै ठाउँहरुमा निजी क्षेत्रले स्वतःस्फुर्त रुपमा सरकारी कार्यलय तथा प्रहरी चौकीहरु पुनर्निर्माणमा सहयोग गरिरहेको पनि उनले बताए ।
उनले हिलटेक समूहले सरकारलाई १०० वटा पानी ट्यांकी र ५०० वटा ट्राफिक कोन उपलब्ध गराएको पनि जानकारी दिए । हिलटेक समूहले सामाजिक उत्तरदायित्व अन्तर्गत एक हजार लिटर क्षमताका १ सय वटा पानी ट्यांकी, ५ सय थान ट्राफिक कोन र अन्य सामग्री उपलब्ध गराएको समुहका अध्यक्ष कमल जैनले जानकारी दिए ।