बझाङ : राप्रपा बझाङले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई विनाशर्त रिहाई गर्न माग गर्दै मसाल जुलुस निकालेको छ । शुक्रबार काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनपछि पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा लगायतका नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार बझाङको सदरमुकाम चैनपुरमापनि राप्रपाले मसाल जुलुस निकालेको हो । मसाल जुलुसमा राप्रपा निकट युवा संघ बझाङका जिल्ला अध्यक्ष राजीव भण्डारीले पक्राउ परेका नेताहरुलाई विना शर्त रिहा गर्न माग गरे ।
आफूहरुको माग र आन्दोलनलाई वेवास्ता गरे थप संघर्षका कार्यक्रम घोषणा गर्ने र यसको सबै जिम्मेवार सरकार हुनुपर्ने उनको भनाइ छ । विरोध कार्यक्रममा राजसंस्था जिन्दावाद, हिन्दु राष्ट्र कायम गर, पक्राउ परेका नेताहरुलाई विना शर्त रिहा गर लगायतका नारा लगाएका थिए ।
मसाल जुलुसमा राप्रापा निकट प्रर्यटन विभागका केन्द्रीय सदस्य किशोर खड्का, राप्रपाका पूर्व जिल्ला अध्यक्ष विश्वप्रकाश जेठारा लगायत युवा नेताहरूको सहभागीता रहेको थियो ।