२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बढ्दो माग र घट्दो उत्पादन

ADV
२०८१ असार २१ गते ०६:३०
बढ्दो माग र घट्दो उत्पादन

–के.बी. बस्नेत

धान नेपालसहित अन्य एसियाली देशहरूको प्रमुख खाद्यान्न बाली हो । विश्वको झन्डै ९० प्रतिशत धान उत्पादन एवम् खपत यिनै देशहरूमा हुन्छ । चीन, भारत, इन्डोनेसिया, बङ्लादेश, थाइल्याण्ड, भियतनाम, म्यानमार, फिलिपिन्स, कम्बोडिया र पाकिस्तान गरी दश प्रमुख धान उत्पादक देशहरू हुन् । तर, नेपाल १७औं धान उत्पादक देश हो । यहाँको ७७ जिल्लामध्ये मनाङ र मुस्ताङबाहेक बाँकी ७५ जिल्लामा धानखेती गरिन्छ । यहाँको उच्च पहाडमा पाँच प्रतिशत, मध्य–पहाडमा २५ प्रतिशत र तराईमा ७० प्रतिशत क्षेत्रमा धानखेती गरिन्छ । किन्तु, यहाँ मागअनुरूप धान उत्पादन गर्न नसकेकोले अन्य देशहरूमाथि निर्भर रहनुपरेको छ । 

सन् १९६० को दशकमा नेपाल दक्षिण एसिया क्षेत्रमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश थियो । परन्तु, वि.सं. २०७७/७८ मा आइपुग्दा उक्त क्षेत्रमा कम धान उत्पादन गर्ने देश यही बन्यो । वास्तवमा नेपालमा धान नै जीवन हो । किनभने यसले नेपालीहरूको क्यालोरी सेवनको झन्डै एक तिहाइ योगदान प्रदान गर्छ ।

धान नेपालको प्रमुख खाद्यान्न बाली मात्र नभई खाद्य सुरक्षा पनि हो । आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको धानबालीलाई एक मुख्य बालीको रूपमा मात्र नभई औसत नेपालीको जीवन पद्धतिको रूपमा अङ्गीकार गरिएको छ । नेपालमा धान खेतीले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । किनभने यहाँ धानको उत्पादन बढ्दा आर्थिक वृद्धिदर बढ्छ र धानको उत्पादन घट्दा आर्थिक वृद्धिदर घट्छ । अधिकांश क्षेत्र पहाडी भूभागको रूपमा रहेको नेपालको कुल क्षेत्रफल एक करोड ४७ लाख १८ हजार हेक्टरमध्ये केवल २१ प्रतिशत अर्थात् ३० लाख ९१ हजार हेक्टर भूभाग खेतीयोग्य छ । यसमा उच्च पहाडी भेगदेखि तराईको समथर मैदानसम्म पर्छ जहाँ धानखेती गरिन्छ । 

नेपालमा संसारको सबैभन्दा उच्च स्थानमा धान उत्पादन गर्ने प्राकृतिक अनुकूलता छ । यही कारणले जुम्लाको हुमचौरमा धान उत्पादन गरिन्छ । विश्वमा धान उत्पादन गरिने स्थानमध्ये यो उच्च स्थानमा अवस्थित छ । एक आधिकारिक तथ्याङ्कअनुसार नेपालको धान, मकै, कोदो, जौ, फापर आदि उत्पादनमध्ये धानको उत्पादन ४७.६ प्रतिशत छ । यसैगरी खेती गरिने कुल क्षेत्रफलको झन्डै ४२.४ प्रतिशत हिस्सामा धान खेती गरिन्छ ।

नेपालको विशेषगरी तराई क्षेत्रमा बढी धान उत्पादन गरिन्छ । झापा जिल्लामा सबैभन्दा बढी धान उत्पादन गरिन्छ । कुल धान उत्पादनमा झापा जिल्लाको योगदान मात्र ७.२ प्रतिशत छ । यहाँ धानको उत्पादकत्व ४.३३ मेट्रिक टन छ । यहाँ हुने कुल धान उत्पादन पहाडी २२ जिल्लामा हुने उत्पादन बराबर छ । परन्तु, पछिल्लो समय तराई मधेशमा पनि खेतीयोग्य जमिन मासिने क्रम जारी रहेकोले किसानहरू धान खेतीबाट पलायन हुने क्रम जारी छ । यसलाई समयमै रोक्न नसकेमा भविष्यमा यहाँको धान उत्पादनमा नकारात्मक प्रभाव पर्नेछ । उत्पादन क्षमतालाई दृष्टिगत गरी नेपाल सरकारले झापा जिल्लालाई धान उत्पादनको सुपरजोन घोषणा गरेको छ । तर, भविष्यमा सरकारले त्यहाँ अधिकतम धान उत्पादन गर्न सके मात्र उक्त घोषणा सार्थक हुनेछ । 

नेपालको अर्थतन्त्रमा कृषिले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । हालसम्म पनि यहाँको झन्डै दुईतिहाइ जनता कृषिमा आश्रित छन् भने राष्ट्रिय आयको ४० प्रतिशत र वैदेशिक व्यापारको ८० प्रतिशत यसै क्षेत्रबाट प्राप्त हुन्छ । यहाँको अर्थतन्त्रमा खाद्यान्न बालीहरूमध्ये धानको योगदान मात्र २० प्रतिशत रहेकोले यसको विशेष महत्व छ । 

केही दशक अघिसम्म धान निर्यात गर्ने नेपाल हाल आयातमुखी बनेको छ । हाल यहाँ धानखेती गर्ने क्षेत्रफल घटेको छ । विगतमा यहाँ झन्डै १५ लाख हेक्टर जग्गामा धान खेती गरिएको थियो भने हाल १३ लाख हेक्टर जमिनमा मात्र उक्त खेती गरिन्छ । नेपालमा वार्षिक सरदर ६० लाख मैट्रिक टन धानको आवश्यकता पर्छ । किन्तु, कृषि तथा पशुपंक्षी मन्त्रालयको पाँच वर्षको तथ्यांक मनन गर्दा यहाँ कुनै पनि वर्ष ५६ लाख १० हजार मैट्रिक टनभन्दा धेरै धान उत्पादन गर्न सकिएको छैन । यति मात्र नभई यहाँको धानको उत्पादकत्व प्रति हेक्टर ३.६० भन्दा बढी हुन सकेको छैन । 

केही वर्षयता नेपालमा युवाहरूको विदेशिने क्रम निरन्तररूपमा बढेकोले यहाँका गाउँघरमा खेतीका लागि चाहिने श्रमको अभाव छ । यसबाहेक आर्थिक तथा सामाजिक कारणले धेरै कृषकहरू कृषि पेशा छोडी अन्य पेशामा आबद्ध भएका छन् । परिणामतः यहाँको धान उत्पादन बढाउन सकिएको छैन । वस्तुतः धानको उत्पादन वृद्धि गर्न यसको उत्पादकत्व बढाउन नितान्त आवश्यक छ । किनभने धानको उत्पादकत्व वृद्धिले नै यसको उत्पादन निर्धारण गर्छ । यहाँको धानको उत्पादकत्व अभिवृद्धि गर्न माटोको उर्वराशक्ति बढाउनुपर्छ जसको लागि यहाँको परम्परागत खेती प्रणालीमा सुधार गर्न अत्यन्त जरुरी छ । 

कुल खेतीयोग्य जग्गाको झन्डै २५ प्रतिशतमा मात्र सिचाई सुविधा प्राप्त भएकोले नेपालको धानखेती पूर्णरूपमा मनसुनमा निर्भर छ । मनसुनको सुरुवात उपयुक्त समयमा नहुँदा यहाँ शत प्रतिशत धानखेती गर्न सकिँदैन । अनुपयुक्त समयमा वर्षा हुँदा यहाँको धान उत्पादनमा नकारात्मक प्रभाव परेको छ । यसबाट मुक्ति पाउन देशभरि सिचाइ सुविधा वृद्धि गर्न आवश्यक छ । जसको लागि सम्बन्धित पक्षको ध्यानाकृष्ट हुनुपरेको छ । 

नेपालमा धान उत्पादन गर्नका लागि जलवायु, जमिन आदि उपयुक्त भए तापनि यहाँ अपेक्षा गरेअनुरूप धान उत्पादन गर्न सकिएको छैन । यथार्थत् नेपालमा उच्च पहाडी भेगदेखि तराईको समथर मैदानसम्म धान खेती गर्न सकिन्छ । परन्तु, धान उत्पादनको सन्दर्भमा यो देश अन्य देशहरूभन्दा निकै तल छ । यहाँका अधिकांश किसानहरूलाई हालसम्म पनि आवश्यक तालिम, अनुदान, बिमा लगायत अन्य सुविधाहरू प्रदान गर्न नसक्नाले यस्तो भएको हो । भविष्यमा उनीहरूलाई उक्त सुविधाहरू प्रदान गर्न सकेमा यहाँको धानखेती प्रवद्र्धन भई उत्पादन पनि वृद्धि हुनेछ । नेपालमा गरिने खाद्यान्न खेतीमध्ये धानको खेती सबैभन्दा बढी गरिन्छ । तसर्थ, यस खेतीलाई यहाँको अर्थतन्त्रको मेरुदण्डसँग आबद्ध गरिएको छ ।

यसै सन्दर्भमा विगतमा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले यहाँको धान उत्पादन वि.सं. २०७९ सम्ममा ८६ लाख ७९ हजार पाँच सय ४० मेट्रिक टन पुर्‍याउन ५० खर्ब लगानी गर्नुपर्ने खाका कोरेको थियो । साथै, यहाँ धान उत्पादकत्व तीन दशमलब पाँच प्रतिशतबाट पाँच मेट्रिक टन पुर्‍याउने आधार पनि समावेश गरिएको थियो । तर, यसलाई व्यवहारमा उतार्न नसक्दा यहाँको धान उत्पादन बढाउन सकिएन । वस्तुतः धान खेती चीन, भारत, थाइल्याण्ड लगायत विश्वका धेरैजसो देशहरूमा केही न केही मात्रामा गरिन्छ । यी देशहरूमा विद्यमान भोकमरी न्यूनीकरणका लागि उक्त खेतीले केही योगदान पुर्‍याउँदै आएको छ ।

नेपालको संविधानले यहाँको खाद्यसम्बन्धी अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ । वास्तवमा यहाँ विभिन्न कारणले उत्पन्न हुन सक्ने खाद्य तथा पोषण संकटको अवस्थालाई मध्यनजर गर्दै प्रमुख खाद्यान्नको रूपमा रहेको धान उत्पादनमा आत्मनिर्भरताको लागि कृषिमा नीतिगत, संरचनागत र संस्थागत सुधारको आवश्यकता छ । यसका लागि भविष्यमा उक्त खेतीबाट अधिकतम फाइदा लिन यहाँका विभिन्न ठाउँमा अध्ययन–अनुसन्धान गरी कार्यान्वयन गर्न नितान्त आवश्यक छ ।

विश्वमा धानखेती प्रवद्र्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघले सन् २००४ (वि.सं. २०६१) लाई धान वर्ष मनाउने घोषणा गरेपछि नेपालमा पनि धानखेतीसम्बन्धी जनचेतना जगाउने कार्यक्रमहरू सञ्चालन, गरिएको थियो । तत्कालीन सरकारको वि.सं. २०६१ साल मंसिर २१ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार प्रत्येक वर्षको असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने घोषणा पनि गरिएको थियो । संयुक्त राष्ट्रसंघको घोषणापश्चात विश्वमा प्रत्येक वर्ष निरन्तर राष्ट्रिय धान दिवस मनाउने देश नेपाल मात्र हो । प्रत्येक वर्ष यस दिन नयाँ कार्यक्रमहरू सञ्चालन गरी धान उत्पादन अभिवृद्धि गर्न सकेमा उक्त दिवसको औचित्य हुनेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise