-देवेन्द्र अर्याल ‘आँसु’
कुनै बेला काठमाडौँ उपत्यकाको संस्कृति र सभ्यताको विकासमा सहयोग पु¥याई युगौँयुगदेखि धर्म संस्कृतिसँग अभिन्न रूपले तादात्म्यता राखी जीवन दायिनी बन्दै आएका काठमाडौँका नदीमध्ये विष्णुमती पनि एक हो । यही नदीको आधार लिई नदी किनार वा तिनका वरपर कैयन् मठ, मन्दिर, स्तूप, विहार, धर्मशाला, पाटीपौवा, सत्तल, घाट आदिको निर्माण भएको पाइन्छ । तर नेपालको राजधानी काठमाडौँको शोभा बोकेको विष्णुमती नदी दुईतीन दशकदेखि ज्यादै प्रदूषित, दूषित, अतिक्रमित अनि मृत बन्दै गइरहेको छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार कुनै नदीमा प्राणीहरू बाँच्न सक्दैनन् भने त्यस्ता नदीहरूलाई मृत नदी वा डेड रिभर र त्यस नदी वरपरका भू–भागलाई मृतक्षेत्र वा डेढ एरिया भनिन्छ । काठमाडौँ उपत्यकाका अधिकांश नदीहरू र त्यसले ढाकेका भू–भाग अहिले त्यही परिस्थिति भोग्न विवश छन् ।
मानव सभ्यताको जीवन्त पहिचान बनेका बागमती र विष्णुमती नदीको स्वरूप क्रमशः खुम्चिँदै र बिग्रँदै गइरहेको छ । जसका कारण यहाँका विश्व सम्पदामाथि पनि कुनै दिन प्रश्न नउठ्ला भन्न सकिन्न । जब नदीमा अत्यधिक मात्रामा फोहोर मिसिन्छ तब त्यहाँ अक्सिजनको मात्रा कम हुन पुग्छ, जसका कारण माछालगायत अन्य जीव बाँच्न सक्दैनन् । उपत्यकाका नदीहरूमा ढल मिसावट भएका कारण माछालगायत अन्य पानीमा आश्रित हुने जीवहरू पाइन छाडेका हुन् । नदी प्रदूषणको यो समस्या अहिलेको मात्र होइन । राणाकालदेखि नै नदीमा ढल मिसाउन सुरु भएबाट नदीहरूको दुरवस्था सुरु भएको हो । पातलो बस्ती र जनघनत्वको कमीले त्यतिबेला समस्याले विकराल रूप लिएको थिएन । ५० को दशकमा मानिसहरू यहाँका नदीमा निर्वाध रूपमा नुहाउँथे । जब नदीबाट बालुवा झिक्न थालियो । त्यस्तै, ढलनाल पनि मिसाउन थालियो, त्यसपछि नै यहाँका नदीका दुर्दशा भयो । यिनीहरूको सुन्दरताको चिरहरण भयो । जुन नियतिको प्रत्यक्ष भागेदारमध्येको एक हो विष्णुमती नदी ।
पटक–पटक बनेका सरकार आफ्नो सत्ता जोगाउन उद्यत देखिए भने नेता आफ्नो पद र कुर्सी जोगाउन । तर महत्वपूर्ण सभ्यता दिन दुईगुना रात चौगुना प्रदूषित, दूषित र अतिक्रमित बन्न पुगे । पञ्चायत कालमा उपत्यकाका नदीहरूबाट तीव्र रूपमा बालुवा झिक्ने काम भएपछि नदीजन्य पदार्थको दोहनका कारण नदीहरूको सतह गहिरिन पुग्दा नदीतट वरपरका बस्ती पनि प्रभावित बन्न पुगे । नदीनाला हेर्ने जिम्मा नेपाल सरकारको जलस्रोत मन्त्रालयको भए पनि उपत्यकाका नदीनाला कुन निकाय र कसले हेर्ने निक्र्योल छैन । महानगरपालिका, नगरपालिका नै नदीमा ढल मिसाउँछन्, नदी प्रदूषित हुँदा टुलुटुलु हेरेर देखेको नदेख्याझैँ गर्छन् । नदी तटमा भएका रूख काटिएर उजाड बगर बनेका छन् । बगर विभिन्न बहानामा अतिक्रमित भएका छन् । फोहरको डङ्गुरले सगरमाथा छुन आँट्यो । मन्दिर, चोकवरपरको दृश्यले हाम्रा सम्पदाप्रतिको हाम्रो उदासीनतालाई सहजै बोध गराउँछ ।
काठमाडौँ उपत्यकाको सभ्यता, संस्कृति र वातावरणको अभिन्न स्रोत विष्णुमती नदीलाई मृतावस्थामा पुग्नबाट बचाउन विभिन्न क्षेत्र सक्रिय भएर लाग्नुपर्ने देखिन्छ । जनचेतना र समन्वयको अभावका कारण नदीनाला प्रदूषित हुने क्रम तीव्र भएको हो । त्यसैले व्यापकमात्रामा जनचेतना फैलाउनुपर्छ र विष्णुमतीको संरक्षण र सरसफाइका लागि बागमती सफाइ अभियानजस्तै अभियान सञ्चालन गर्नुपर्छ । तबमात्र हाम्रा नदीहरूलाई मृत हुनबाट हामीले बचाउन सक्नेछौँ ।
हाम्रा धार्मिक, ऐतिहासिक, पौराणिक आधारहरूमा विष्णुमती नदी र अन्य स–साना नदीहरूलाई पनि पवित्र तीर्थस्थलका रूपमा स्वीकार गरेको पाइन्छ । वर्षभरि विभिन्न चाडपर्व र तिथिहरूमा विष्णुमतीका विभिन्न तीर्थहरूमा स्नान, पूजापाठ र जपतप आदि धार्मिक कृत्यहरू गरिन्छन् । त्यस्तै, नदीका तटमा रहेका विभिन्न तीर्थस्थलहरूका आसपासका घाटहरूमा इहलीला समाप्त भएकाहरूको अन्तिम संस्कार गरिने भएकाले पनि नेपाली जनजीवन वा लोकव्यवहारमा बागमती नदीको जत्तिको स्थान विष्णुमती नदीको पनि रहेको छ । काठमाडौँ उपत्यकामा मानव सभ्यताको विस्तारका लागि यी दुवै नदीको महत्व समान नै रहेको छ । यस वरपरबाट बहने सपनतीर्थ खोला, साङ्ले खोला, महादेव खोला, आदि साना ठूला खोलाहरू मिलेर विष्णुमती नदी बनेको छ । महाविष्णुको पाउबाट निक्लिएको विष्णुमती बागमतीसँग जहाँ मिल्दछ, त्यसलाई पञ्चनद तीर्थ भनिन्छ । जहाँ पूजा स्नान गर्दा कैलाश प्राप्त हुन्छ भन्ने कुरा नेपाल महात्म्यको हिमवत् खण्डको आठौँ अध्यायमा उल्लेख छ ।
वाग्मत्या विष्णुमत्याश्च संभेदे देवंं–सेविते
तीर्थे पञ्चनदे नाम्नि स्नाता यास्मति शाङ्करम् ।
विष्णुमतीको उद्गम मानिने विष्णुद्वार विष्णुपादुकादेखि टेकु दोभानसम्म फैलिएको विष्णुमती सभ्यताको आफ्नै महत्व, गरिमा, अस्तित्व र धार्मिक, सांस्कृतिक पौराणिक एवम् सांस्कृतिक विशेषता रहेको पाइन्छ । विष्णुपादुकादेखि टेकु दोभानसम्म करिब १५ किलोमिटर लम्बाइमा फैलिएको यस नदीको उद्गम विष्णुपादुकादेखि टुकुचा दोभानसम्म विभिन्न साना ठूूला तीर्थस्थलहरू रहेका छन् ।
काठमाडौँको उत्तरमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जअन्तर्गतको शिवपुरी पहाडमा अवस्थित यस तीर्थ नै विष्णुमती नदीको उद्गम स्थल हो । भगवान् विष्णुको बूढीऔँलाबाट बगेको पानीबाट नै यस नदीको नाग विष्णुमती रहन गएको शास्त्रीय मत छ । विष्णुको पाउबाट बगेका कारण यसको नाम विष्णुपादुका रहेको हो । त्यसैले हिन्दू संस्कृतिमा यस तीर्थको ज्यादै महत्व रहेको छ । एउटा सानो गुफाको भित्तामा विष्णुपादुका अङ्कित चित्र र नजिकै सानो पानीको मूल भएको यस ठाउँमा नव वर्षका दिन मानिसहरूको ठूलो मेला लाग्छ । यस दिन मानिसहरू बागमतीको उद्गम स्थल वाग्द्वार हुँदै यहाँ आएर टोखास्थित सपनतीर्थ विनायकको पूजाआजा गर्छन् । जहाँ बूढानीलकण्ठ मुहानपोखरीबाट सहजै पुग्न सकिन्छ । यो तीर्थस्थल धार्मिक दृष्टिकोणले मात्र नभएर पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । विभिन्न प्रकारका चराचुरुङ्गी, पुतली, जीवजन्तु, वनस्पति, झरना, गुफाले यो ठाउँ सजिएको छ । साथै, यहाँबाट हिमालहरूको मनोरम दृश्यावलोकन पनि गर्न सकिन्छ ।
विष्णुमतीकै आसपासमा मनोहर तीर्थ, भचाखुसी, लखुतीर्थ, ज्ञानतीर्थ र चिन्तामणि तीर्थ (टेकु दोभान) रहेका छन् । यहाँ दर्शन पूजापाठ गर्दा आफ्नो सम्पूर्ण मनोकामना पूरा हुने र मृत्युपश्चात् स्वर्गलोक प्राप्त हुने धार्मिक विश्वास रहेको छ । टेकु दोभान क्षेत्रको सबैभन्दा ठूलो मन्दिर नै राधाकृष्णको मन्दिर हो । शिखर शैलीको टोराकोटाको यो मन्दिरको निर्माण राणा प्रधानमन्त्री देवशमशेरकी आमाले गरेकी थिइन् । विक्रम संवत् १९९४ सालमा निर्माण गर्न लगाइएको यो मन्दिरको चारैतिर खुल्ला दलान छ । त्यसका चारैतिर स–साना बुर्जा निकालिएका छन् । मन्दिरको गर्भगृहमा कृष्ण, रुक्मिणी र शुभद्राका मानवाकार प्रस्तर मूर्ति रहेका छन् । कृष्णको हातमा बाँसुरी रहेको छ । मन्दिरको प्राङ्गणमा कैयन् कलात्मक मूर्तिहरू र स–साना मन्दिर देखिन्छन् । गुठी संस्थानको अधीनमा रहेको यस मन्दिर वरपर बुद्ध, द्वारिकानाथ, रामेश्वर, जगन्नाथ, बद्रीनाथ, गणेश, महाकाली, भैरव, मायादेवी, शेषशायी विष्णु, नर्मदेश्वर महादेव आदिका मूर्तिहरू रहेका छन् । यो तीर्थलाई पितृश्राद्ध गर्न र देवपूजा गर्ने पवित्र स्थलका रूपमा लिइन्छ ।
त्यस्तै, यहाँ रहेको घाटमा मृतकहरूको दाहसंस्कार पनि गरिन्छ । १५ सय वर्ष पुरानो दाहसंस्कार गरिने वास्तुकलाका घाट पनि यसै नदी किनारमा रहेबाट यस नदीको महत्व ज्यादै प्राचीन रहेको देखिन्छ । हिन्दू एवम् बौद्ध धार्मिक ग्रन्थहरूमा वर्णित् विष्णुमती नदी र बागमती नदीका छेउछाउमा प्रारम्भमा मानव सभ्यताको विकास भएको देखिन्छ । विष्णुमतीको महात्म्यबारे नेपाल महात्म्य हिमवत् खण्ड, भाषा वंशावली, स्वयम्भू महापुराणमा पनि उल्लेख भएको पाइन्छ । दुवै सम्प्रदायको पवित्र तीर्थस्थलका रूपमा परिचित विष्णुमती फोहोरमैला र वातावरण प्रदूषणजस्ता समस्याले ग्रसित भएको छ ।
विष्णुमती सभ्यताको संरक्षणका लागि खासै कदम चालिएको देखिँदैन । काठमाडौँ महानगरपालिकाले पनि यसको संरक्षणका लागि ठोस कदम चालेको पाइन्न । त्यसैले, हाम्रै अदूरदर्शिताका कारण विष्णुमती ढलमतीमा परिणत हुँदै गएको छ । सहरका विभिन्न टोलबाट बग्ने फोहोर पानी, दिसापिसाब कलकारखानाको रसायनयुक्त प्रदूषित पानीका कारण विष्णुमती मृत नदी हुँदै गएको छ । काठमाडौँ सहरको सौन्दर्यलाई चीरस्थायी बनाउने हो भने आजैदेखि हामीले विष्णुमतीको संरक्षण गर्नुपर्ने देखिन्छ । विष्णुमती हाम्रो सभ्यता हो, पहिचान हो । धार्मिक, सांस्कृतिक, पौराणिक, पर्यटकीय आस्था विश्वास एवम् परम्पराको सहयात्री पनि हो । त्यसैले विष्णुमती सभ्यताको संरक्षणका लागि हामी सबै एकजुट भएर लाग्नुपर्छ । नत्र पछुताउनुुबाहेक अरू केही हुनेछैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies