२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

युवाहरूको ऊर्जा र क्षमतालाई देश विकासमा लगाऔँ : परराष्ट्रमन्त्री

Nada
२०८२ साउन २७ गते १७:५८
Shares
युवाहरूको ऊर्जा र क्षमतालाई देश विकासमा लगाऔँ : परराष्ट्रमन्त्री

काठमाडौंः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले देशका युवा वर्ग देशको ठूलो पुँजी भएकाले उनीहरूको ऊर्जा, समय र क्षमताको पहिचान गरेर देश विकासमा लगाउनुपर्ने बताएकी छन्।

ncell

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपाल युथ फाउण्डेसनद्वारा आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल निर्माणको आधार भनेको युवा शक्ति नै भएकाले उनीहरूप्रति नै देशले भर गरेको छ भनिन् ।  

नेपालको जनसङ्ख्याको ठूलो हिस्सा युवाहरूको रहेकाले यही बर्गले नै मुलुकको भविष्य निर्माणमा ठूलो योगदान गर्न सक्ने उनको भनाइ थियो । युवाको सम्भावना र सिर्जनशीलतालाई चिनेर देशले प्रयोग गर्न सक्नुपर्नेमा पनि उनले जोड दिइन् ।

मन्त्री डा राणाले युवाहरू सबै विदेश गए, देश नै खाली भइसक्यो भन्ने जस्तो भाष्य निर्माण गरिएको प्रसङ्ग उल्लेख गर्दै भनिन्, ‘म युवाहरू विदेश जानै हुदैन भन्ने पक्षमा छैन । म भन्छु यहाँहरू विदेश जानुस्, तर त्यहाँ ज्ञान, सीप र पुँजी आर्जन गरेर स्वदेश फर्किनुस् । हाम्रै माटोलाई समृद्ध बनाउनुपर्छ । सबै मिलेर देशको विकास गर्नुपर्छ ।’

स्वदेश फर्र्किएका कैयौँ युवाहरूले विदेशमा आर्जन गरेको पुँजी र ज्ञान प्रयोग गरेर उद्यमशीलतालाई अघि बढाएका बताउँदै मन्त्री डा राणाले युवाहरूको यो अग्रसरतामा सरकारको सधैँ साथ र सहयोग रहने स्पष्ट गरिन् । मन्त्री डा राणाले प्रविधि, शिक्षा, खेलकुद, उद्यम लगायतका कैयौँ क्षेत्रमा नेपाली युवाहरूले प्रतिस्पर्धा गरी अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गरिरहेका प्रसङ्ग पनि उल्लेख गरिन् । नेपालीहरूले संसारमा नै परिश्रमी र इमान्दार नेपालीको पहिचान बनाएको बताउँदै उनले यसलाई पनि हामीले पुँजीका रूपमा लिनुपर्ने धारणा राखिन् । 

उनले देशका युवाहरूलाई सकारात्मक सोच मात्र राख्न र विद्यालय विश्वविद्यालयमा औपचारिक अध्ययन पछि केही न केही जीवनोपयोगी सीप सिकेर दक्ष बन्न सुझाव पनि दिइन् । मन्त्री डा राणाले भनिन्, ‘अहिले धेरै युवाहरू टिकटक लगायतका सामाजिक सञ्जालको लतमा फसिरहेको पाइन्छ । तिनको प्रयोग आफ्नो ज्ञान र सीपको दायरा बढाउने काममा मात्र गर्नुहोस् । जीवनमा नकारात्मकता फौलाउने काममा कहिल्यै नलाग्नुहोस्, यसले तपाईंहरूको जीवनमा कुनै राम्रो उर्जा दिँदैन ।’ 

सम्बन्धित खबर