काठमाडौं : भारतका विद्युत तथा शहरी आवास मन्त्री मनोहरलाल खट्टरको नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आएका भारतीय विद्युतमन्त्री खट्टरले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका थिए । सो क्रममा नेपाल-भारतको पछिल्लो अवस्था र ऊर्जा क्षेत्रको विकासका सम्बन्धमा खट्टरले प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री ओलीसँग टेलिफोन संवाद गराएका थिए ।
समकक्षी मन्त्री खट्टरको नेपाल भ्रमणबारे जानकारी गराउँदै ऊर्जामन्त्री खड्काले ऊर्जा क्षेत्रको विकासकालागि दुई देशका प्रधानमन्त्रीबीच संवाद हुनु खुशीको कुरा भएको बताए । दुई प्रधानमन्त्रीबीचको संवादमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई थप गतिकासाथ अघि बढाउने विषयमा कुराकानी भएको थियो । मन्त्रीस्तरीय भ्रमणमा दुई देशका प्रधानमन्त्रीले समेत चासो राखेर गरिएको संवादले दुई देशबीच ऊर्जा क्षेत्रको विकासकालागि कोशेढुंगा सावित हुने मन्त्री खड्काको भनाइ थियो ।
भारतका विद्युतमन्त्री नेपालको औपचारिक भ्रमणमा पहिलोपटक आउनुले नेपाल–भारतबीच ऊर्जा क्षेत्रलाई नयाँ गति दिएको छ भने दीर्घकालीन साझेदारी अझ सुदृढ बनाएको ऊर्जाविद्हरुले बताएका छन् ।
मन्त्री खट्टरको भ्रमणको क्रममा पहिलोपटक अन्तरदेशीय प्रशारणलाईन बनाउने समझदारी पत्रमा हस्ताक्षर भएको थियो । जसमा ४०० केभी क्षमताका अन्तर्देशीय ३१० किलोमिटर प्रशारणलाइन निर्माणका लागि भएको समझदारीपत्रमा इनरुवा-न्यु पूर्णिया प्रसारण लाइनमा नेपालतर्फ २५ किलोमिटर र भारततर्फ १०० किलोमिटर दूरी रहनेछ। त्यस्तै दोदोधारा–बरेली प्रसारण लाइन नेपालतर्फ करिब ३५ र भारततर्फ १५० किलोमिटर रहने छ ।
ऊर्जामन्त्री खड्काले विशेषगरी जलविद्युत उत्पादन, प्रसारण र वितरणमा सहकार्य विस्तार गर्ने विषयमा भारतीय समकक्षीसँग सहयोग, प्रतिबद्धता र समझदारीप्रति धन्यवाद व्यक्त गरेका छन् ।
ऊर्जामन्त्री खड्काले सामाजिक सञ्जालमार्फत् मन्त्री खट्टरको भ्रमणलाई "उपलब्धिपूर्ण" भन्दै प्रशंसा गरेका छन् । साथै, नेपाल–भारत मित्रता र सहकार्यलाई दीर्घकालीन रणनीतिक साझेदारीमा परिणत गर्न यस्ता भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै भारतीय राजदूत नविन श्रीवास्तवप्रति पनि समन्वयका लागि विशेष धन्यवाद दिए ।