२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

नयाँ सरकारलाई दुईतिहाइ

ADV
दिवाकर अधिकारी
२०८१ असार २२ गते ०६:५०
नयाँ सरकारलाई दुईतिहाइ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । यो सँगै नेपाली कांग्रेस र नेकपा एमालेको सहमति अनुसार नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने ढोका खुलेको छ ।

प्रमुख सत्ताघटक नेकपा एमालेले गत बुधबार प्रचण्ड नेतृतवको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सोही दिन एमालेले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका थिए ।

एमालेका मन्त्रीहरूले राजीनामा दिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । गत असार १७ गते संघीय संसदका दुई ठूला दल कांग्रेस र एमालेले सत्ता सहकार्य गर्ने समझदारी गरेका थिए । त्यसपछि वैकल्पिक सरकार गठनको प्रयास भएको हो ।

यो सँगै नयाँ सरकार गठनमा राजनीतिक दलहरु खुल्न थालेका छन् । शुक्रबार जनता समाजवादी पार्टीबाट मन्त्री बनेकाहरु सरकारबाट बाहिरिए । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव र बन तथा बातावरणमन्त्री नवलकिशोर साह सुडीले राजीनामा दिए । 

जनता समाजवादी पार्टीसँग प्रतिनिधि सभामा सात सिट छ । प्रतिनिधि सभामा ६ सिट रहेको जनमत पार्टी पनि कांग्रेस र एमाले नेतृत्वमा बन्ने नयाँ सरकारमा सहभागी हुने आधार तयार भएको छ । 

मधेश प्रदेशमा जनमत पार्टीका सतिशकुमार सिंह मुख्यमन्त्री छन् । जनमत पार्टीलाई संघीय सरकारमा सहभागी गराउने उदेश्यसहित कांग्रेस र एमालेले मधेश प्रदेशमा सिंहलाई विश्वासको मत दिने भएका छन् । शनिबार मधेश प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची छ ।

संघीय संसदमा चार सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टीले पनि कांग्रेस र एमालेको समीकरणलाई साथ दिने निर्णय गरिसकेको छ ।

जसपा, लोसपा र जनमत पार्टीले साथ दिने भएसँगै नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वमा बन्ने नयाँ सरकारलाई दुईतिहाइ पुग्ने भएको हो । कांग्रेस र एमालेसँग मात्रै प्रतिनिधि सभामा १६७ सिट छ । यसमा जसपाको ७, लोसपाको ४ र जनमत पार्टीको ६ सिट थपिने पक्का भएको छ ।  

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने औपचारिक निर्णय लिएको छैन । तर, कांग्रेस र एमालेको सहमतिको स्वागत गरेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीले भने प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भनेका छन् । प्रतिनिधि सभामा माओवादीका ३२, रास्वपाका २१ र नेकपा एकीकृत समाजवादीको १० सिट रहेको छ । 

प्रचण्ड १० पुस २०७९ मा प्रधानमन्त्री भएका थिए । उनले १८ महिना बढी सरकारको नेतृत्व गरे । तर, उनले सत्ता साझेदार फेरिरहे । जसको आलोचना खेपिरहेका छन् । फेरि पनि कांग्रेससँग मिलेर सरकार अगाडि लैजान खोजेपछि आफूहरु अगाडि सरेको एमाले नेताहरको भनाइ छ । 

नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला राजनीतिक स्थायित्वका लागि दुई ठूला दल मिलेका बताउँछन् । 

‘राजनीतिक स्थायित्वका लागि दुई ठूला दल मिलेको हो । दुई ठूला दल मिल्नु राम्रो कुरा भए पनि लोकतन्त्रमा प्रतिपक्ष त्यतिकै बलियो हुन आवश्यक छ’ शुक्रबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने । 

ADVADV

सम्बन्धित खबर

Advertise