–लेखराज रेग्मी
हामीले धेरै पटक कुरा उठायौँ, शान्ति सम्झौतापछि नेपालमा लगातार २०६२÷६३ को आन्दोलनका उपलब्धि उल्ट्याउने खेल भइरहेका छन् । तर, हाम्रा दम्भले यो स्वीकार गर्ने कुरा थिएन । कटवाल काण्डपछि पार्टी तीन धारमा देखियो । १) सम्झौता गरेर जाने, मेलमिलाप बढाउने र बाह्य शक्तिसँगको सहकार्यमा आन्तरिक शक्ति सन्तुलन व्यवस्थित गर्ने । यो बुझिने खालको बुर्जुवा सुधारवादी कार्यक्रम थियो । २) कुनै सम्झौता हुँदैन, सबैलाई पेलेर जाने, प्रतिवाद गर्ने प्रतिकार गर्ने एक्लै उठ्ने र अरूहरू या त पछि लागेर आउनेछन् वा समाप्त हुनेछन् । जनतालाई पछि लगाउन सकिन्छ, तुरुन्त ‘अक्टोबर क्रान्ति’ थालिहाल्ने । यस्तो चिन्तनमा (क) जडशुत्रवादको, (ख) अहङ्कार र मनोगत वादको छनक आउँथ्यो । ३) पार्टीमा बलियो पकड बनाउने त्यसपछि अनुकूलताको आधारमा जे पनि गर्न सकिनेछ । यो तीन लाइन सङ्घर्षपछि आलोपालो दुई लाइन सङ्घर्षमा फेरिँदै गयो । तर, कटुवाल काण्डको सन्देश ठिक ढंगले बुझेर कार्यनीतिक सिफ्ट पार्टी एकताको आधारमा हुनुपर्ने थियो, त्यताभन्दा लाभ र अवसरको विषयमा खिचातानी र छिनाझपटी बढ्न थाले । हामीले पालुङटारमा चौथो फोरममा उभिएर (यो सामूहिक र संस्थागत रूपमा आउन चाहिरहेको थिएन) आफ्ना बिचार धारणा र सुझाव राखेका थियौँ । हामीले लिखित बुझायौँ पनि । संयोगवश आज त्यसको कपी हामीसँग छैन । पार्टीमा अभिलेख हुनुपर्ने हो तर, पार्टी संस्थागत नरहेको र झुन्डहरूको थुप्रो मात्र भएको कारण त्यस्तो सम्भावनाप्रति त्यति आशावादी रहन सकिने ठाउँ त्यति छैन ।
कटुवाल काण्डले नेतृत्व (सामूहिक) एलेण्डे बन्ने साहस गर्दैन भन्ने देखाइसकेको थियो । तीन तिर तितरबितरको स्थिति यसै कारण देखिएको थियो । यस पटक बोलिभियाले देखायो सुराको मुटुमा काँढा बिझ्दैन । नेपालमै पनि पञ्चायती कानुन, सरकार र राष्ट्रिय पञ्चायतको विघटन अन्तरिम कानुन, अन्तरिम सरकार र संविधान सुझाव आयोग एकेडेमी वार्ताबाट प्राप्त हुन सकेको हो, आन्दोलनको नेतृत्व त्रि ध्रुवीय विभाजनमा नफसेको र तत्कालीन बाम मोर्चाले बलियो अडान लिन सकेको भए सायद संविधान सुझाव आयोगको स्थानमा संविधानसभाको चुनाव नै हुन सक्थ्यो तर, एकेडेमी वार्ताका प्रविधिहरू सम्झौता गरेर उठेपछि त्यस्तो सपना देख्नुको अर्थ थिएन । गणतन्त्रको एजेन्डाले नै माओवादीलाई पहिलो संविधानसभामा झन्डै एकल बहुमतको स्थितिमा पु¥याएको थियो ।
संविधानसभा निर्वाचनमा तत्कालीन जनमोर्चा नेतृत्वले नेकपा (एमाले) र माओवादीको त्रिपक्षीय अहंकारसँग प्रतिस्पर्धा गर्नुपरेको थियो । जसकारण उसले निर्णायक भूमिका निर्वाह गर्न सकेन । जनमोर्चाको विभाजन र तत्जन्य स्थिति आजको राजनैतिक वियोगान्तको एउटा कारण बन्यो । यसको पनि समीक्षाको समय आयो भन्ने लागिरहेको छ । हामीले विभाजन रोक्न सम्भव जति मेहनत गरेका थियौँ । पूर्वाग्रहविहीन रहने मित्रहरूले सायद यसलाई बिर्सिनु भएको छैन होला । यसले चुनावी नतिजामा केही सकारात्मक स्थिति बन्नु सम्भव थियो । आज पार्टी विभाजनका छद्म कारणहरू खोज्न र भेटाउन सकिएला र निमित्त कारणहरूको महत्व र अर्थ पनि खुल्न सक्ला ।
सायद, यो विषय तत्कालीन माओवादी पार्टीको सरोकारको विषय थिएन र सिक्ने विषय बनेन, दोस्रो संविधान सभा निर्वाचनको मुखमा पार्टी विभाजन भयो । आज प्रतिगमनका प्रयत्नसँग जुझ्न कमसेकम पूर्व ‘माओवादी’ एकजुट हुनसक्ने स्थिति विकास हुन सकेको छैन भने ‘वामपन्थी’ दलहरूभित्रै बाट प्रतिगमनका सहयोगी भेटाइने सम्भावना इन्कार गर्न सकिने आधार बनेको छैन । नेपाली कम्युनिस्ट आन्दोलनमा यो गम्भीर समीक्षाको विषय बन्न सक्नुपर्छ । जसले एल्त्सीन र देङमाथि विश्वास गरेनन् र रुस र चीनको विसर्जनको सपना बोकिरहेका छन्, विगतमा चिली, इन्डोनेसिया र हालैको गाजाको नरसंहार बाट सिक्न नचाहनु नेपाली कथित कम्युनिस्टहरूको दुर्भाग्य बाहेक केही हुनेछैन जसले देश र जनतालाई अहित बाहेक केही गर्नेछैन ।
यस पटक फेरि जुन खालको फोहरी संसदीय नौटङ्की देखा पर्दैछ, यी हाम्रा होइन बाह्य र आन्तरिक पश्चगामी गेम प्लानको आधारमा भइरहेको छ । यसको उद्देश्य वैश्विक अस्थिरता उत्पन्न गर्ने दाउपेच बाहेक केही होइन । सबैभन्दा अविश्वसनीय पात्रको रूपमा प्रचण्डको भ्रष्टीकरण साम्राज्यवादी एजेन्डा हो र जनतालाई दुस्मनको बाजाको तालमा नाचिरहेको प्रचण्ड देखाउने तानाबाना हो, यसले केपी शर्मा ओलीलाई क्षणिक सन्तुष्टि त होला तर, परिणाममा उनले पनि ठुलो क्षति बेहोर्नेछन् । आफूलाई रुसको पक्षमा देखाउने भारतमा दलाई लामा र अमेरिकी प्रतिनिधिको वार्ता जस्तै देखिने बार्दली वार्ता नेपालीहरूको लागि लाजको पसारो भइरहेको छ । र प्रचण्ड सरकारका स्पष्टीकरणले त गम्भीर भ्रमहरू पैदा गरिरहेको छ । वास्तवमा, यो पनि वैश्विक घटनाक्रमको एउटा हिस्सा हो र यसलाई नेपाली जनताबिच नङ्गाउन सक्नुपर्छ ।
मानिसहरू निद्रामा बरबराउने र सपनाको तालमा बिस्ताराबाट उठेर हिँड्ने पनि गर्छन्, तर जब कतै ठोक्किन्छन् अनायास ब्युँझिन्छन् । संसद् त्रिशङ्कु बनेको छ र सबै वामपन्थी मिलेर राम्रो गठबन्धन त बन्ला तर, बाम सरकार बन्ने स्थिति छैन, बाह्य हस्तक्षेप झन् पछि झन् प्रखर बन्दै गरेको छ, तर निद्रामा बरबराउने हिँड्ने जस्तै गरी बाम दलहरू सपनामा नाचिरहेका छन् ।
ठेस लाग्ने र टाउको बेसरी ठोकिने सम्भावना बढेको छ । ब्यूझनु र सही बाटो खोजेर घरभित्र सकुशल पस्नु यस्तो निरीह कामना जनताको बिचमा देखिन्छ । यही कुरा हिजो वा आज ओली–प्रचण्ड गठबन्धनप्रतिको जनताको कामना रहेको छ । सर्वहारा समाजवाद र साम्यवाद अहिले टाढाको विषय छ र विश्व दृष्टिकोण अभ्यास गर्ने सन्दर्भ बाहेक यो तात्कालिक विषय बन्दैन । त्यसकारण जनताका अपेक्षा हाम्रा सपनाभन्दा यथार्थ छन्, आफूलाई कम्युनिस्ट भन्न रुचाउनेहरूको खास गरी लेनिनवादी या माओवादी भन्न चाहनेहरूको बेलैमा चेत खुलोस् ।
(रेग्मी, माओवादी केन्द्रका नेता हुन् ।)