२०८१ पुष ८ गते सोमवार / Dec 23 , 2024 , Monday
२०८१ पुष ८ गते सोमवार

असल व्यक्ति निर्माणको खाँचो

ADV
२०८१ असार २३ गते ०६:३०
असल व्यक्ति निर्माणको खाँचो

–शिव कुमार श्रेष्ठ

हाम्रो जिन्दगीको संघर्षबाट नै हाम्रो क्षमताको विकास हुने हुनाले संघर्ष बिना हामी कहिल्यै अघि बढ्न र मजबुत हुन सक्दैनौ । त्यसैले हामी आफैँले चुनौतीको सामना गर्नु सर्वोत्तम हुन्छ । अरूको मद्दतमा भरपर्नु हुँदैन । नयाँ व्यवस्थाले सृजित नयाँ स्थानहरूमा नयाँ अनुहारको प्रवेश त भयो तर, निर्वाचित पात्रहरूले सत्ताको राप र तापमा हिजो साथ लिएका जनता र गरेको प्रतिबद्धता सबै बिर्सिए । आशा र भरोसामा रहेका नेपालीको मुहारमा कहिले हाँसी खुसीका दिन आएन । भगवान बुद्धले भनेका छन् कि हामी सबै प्रकारको दुःखका लागि हामी आफै जिम्मेवार छौँ । छ वटा ठुला शत्रु काम, क्रोध, लोभ, मोह, ईर्ष्या र द्वेषले नै दुःख, तनाव, निराशा र अशान्ति पैदा गर्छ । तर, शत्रु भने छाया जसरी हामी सँगै हिँडिरहेको हुन्छन् । जसले मन अनियन्त्रित बनाउने बित्तिकै हामीलाई चेपी हाल्छ । त्यसैले असली शत्रु बाहिर नभएर हाम्रो भित्री दुर्भावना मात्र हो । त्यसैले मुक्तिका लागि मनमा सादा जीवन उच्च विचार राख्नुपर्छ । आफ्नो सारा शक्ति लक्ष्य प्राप्तिको लागि लगाउनु पर्छ । जबसम्म सत प्रतिशत शक्ति लगाउनु हुन्न, तबसम्म जीवन सुखी, सम्मानित र सफल हुँदैन । बाटोमा जतिसुकै ढुङ्गा भए पनि जुत्ताले सुरक्षा दिन्छ । तर, जुत्ताभित्र एउटा सानो ढुङ्गा भए पनि हिँड्न निकै गाह्रो हुन्छ । त्यसैले बाहिरी नभएर आफूभित्रको शत्रुसँग लड्न जरुरी छ ।

मानिस बाहेक कुनै पनि प्राणीमा काम, क्रोध, लोभ, मोह, ईर्ष्या र द्वेषको भाव हुँदैन । बाहिरी कुनै पनि स्थितिले हाम्रो आन्तरिक आनन्दमा कमी गर्न सक्दैन । जसरी तोरीमा तेल र नौनीमा घ्यू रहन्छ, त्यस्तै दिव्य आनन्द हाम्रोभित्र रहन्छ । आनन्द बिना एक क्षण पनि बाँच्न मानिसलाई इच्छा हुँदैन । जीवनको अन्तिम लक्ष्य नै आनन्द प्राप्त गर्नु हो । अति व्यस्तता अज्ञानता र अहंकारले हाम्रो जीवनमा असन्तुलन पैदा गर्छ । सम्बन्ध यस्तो चक्रव्यूह हो । जसलाई अगाडि बढाउन जानियो भने युद्ध जितिन्छ, जानिएन भने त्यसैमा फसिन्छ र मरिन्छ पनि पहिलेको तुलनामा सम्बन्ध बिच्छेदको घटना ह्वात्तै बढेको छ । यसलाई स्वतन्त्र हुँदैछन् भनेर खुसी मान्नुपर्छ । सम्बन्ध विच्छेद हुनु भनेकै अर्को नयाँ सम्बन्ध स्थापित हुनु हो । त्यसमा रोइलो गर्नु पर्ने केही छैन । हाम्रो रहन सहन र चाल चलनका कारण पनि सम्बन्ध परिवर्तन हुँदै गएको ठहर छ । 

आमा बुवाले छोराछोरीलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन आएको छ भने सासुले बुहारीलाई हेर्ने, व्यवहार गर्ने हरेक कुरामा परिवर्तन आई विकसित समाजतिर उन्मुख भएको पाइन्छ । आजका छोरी, बुहारी शिक्षित र आत्मनिर्भर हुन्छन् । उनीहरू जीवनसँग जोडिएका महत्वपूर्ण निर्णय गर्न पनि सक्षम भइसकेका हुन्छन् । समयको साथ साथै सम्बन्धप्रतिको संवेदनशीलता पनि अझै बढिरहेको छ । आजका पुस्ताको पारिवारिक सम्बन्धमा सहजता कायम रहेको बुझिन्छ । हर कुरा राम्रो नराम्रो देखिने हेराइ मात्र हो । त्यो पनि कुरालाई हामीले कसरी हेर्छौँ भन्ने मात्रामा भर पर्दछ । यसरी हामीले प्रेमको चस्मालाई ठुलो बनायौँ भने हामी कसैलाई पनि नराम्रो नजाती देख्दैनौ । नीच, होचो गर्दैनौ, एक अर्काप्रति वैमनस्यता बढाउँदैनौ । किन भने प्रेमले सबैलाई आनन्द बनाउँछ । 

पीडाहरू बाँड्न नसके पनि अलिकति पीडा सुनिदिँदा पनि मान्छेको मुहारमा प्रफुल्लता देख्दा मनमा आनन्दको भाव जाग्छ । हाम्रो समाजमा यस्ता मान्छेहरू पनि छन् । जो जीवनको अर्थ सामाजिक काम गर्न खोजिरहेका छन् । आफ्ना आत्मसन्तुष्टि पनि यसैमा भेटाइरहेका छन् । अनि जीवनदेखि खुसी छन् । सुख जति बाँड्यो उत्ति बढ्छ । दुःख जति बाँड्यो उत्ति घट्छ । आफूसँग भएका कुरालाई नराम्रो सम्झिने प्रवृति हटाउनु पर्छ । हामी जहाँ जान्छौँ, त्यहाँ हाम्रो संस्कार पनि लैजाने गर्नु पर्दछ । हामीमा भएका राम्रा कुरालाई अनुसरण गर्ने गर्नुपर्दछ । जब हामी यसरी घर गाउँको संस्कार, संस्कृति अपनाउँछौँ विकासको क्षेत्रमा लगानी गर्छौँ, सबैमा आफ्नोपन आउँछ । अनि सबै सम्बन्धहरू फेरि जोडिन थाल्छ । जब मनमा अन्धकार र घोर निराशा छाउँछ, त्यतिबेला आफ्नो भन्ने कोही हुँदैन, आत्मीयताले मन खुसी हुन्छ । त्यहाँ निराशा, दुःख, तनाव अनिद्रा हुँदैन । त्यसकारण हामी फेरि आफ्नो मान्छेसँग जोडिनु बढी घुलमिल हुनु आवश्यक छ । हामीले सम्बन्ध प्रगाढ बनाउन बोली सुनेर, भेटघाट गरेर, अंकमाल गरेर, उसको सामीप्य बसेर उसको भावना बुझेर गर्न सक्छौँ । ध्यान गर्ने व्यक्तिले गर्ने काममा उत्पादनशीलता बढाउँछ । 

हामीलाई परिवार र समाज चाहिने हो । हामीलाई अप्ठ्यारो पर्दा नै हाम्रो संस्कार र संस्कृति चाहिने हो । ज्यादै अप्ठ्यारा अति बानी हुँदा एक अर्कासँग मन नजोडिँदा मात्र फरक कुरा हो । तर, अधिकांश अवस्थामा विदेशमा र स्वदेशमा जोडी वा परिवार टुक्रिनुमा मुख्य कारण संवादको अभाव नै हो । एकअर्कामा भएको मन मुटावलाई सामान्यीकरण गरिदिने व्यक्तिको अभावको कारण यस्तो दुर्घटना हुनेगर्छ । परिवार भइसकेपछि एउटा बृहत् वृत्त बन्छ । तर, विदेश वा स्वदेशमा आफूलाई मात्र वृत्तमा राख्ने प्रवृत्ति हुन्छ । यस्तो वृत्त अर्थात् म वृत्तलाई बृहत् बनाउन नसक्दा वा हामी वृत्तमा म वृत्त एकाकार हुन नसक्दा परिवार टुक्रिन्छ । हामी वृत्तको अर्थ एक अर्काको भावना बुझ्ने प्रवृत्ति हो । 

विदेशबाट शैक्षिक योग्यता प्राप्त गरौँ, शिल्प बढाऔँ तर, त्यसको प्रयोग स्वदेशमा नै गरौँ । आफ्नो देशमा फर्केर यही माटोको सेवा गरौँ । यहाँ भावना छ, माया छ अनि सुख र दुःखमा साथ दिने परिवार छ । के हो परिवार जोडने सूत्र ? यसको सरल सूत्र छ । मायाले जोड्ने हो सबैलाई आपसी सद्भाव स्नेह र सबैको उन्नतिमा भलो चिताउने सोचले परिवार जोड्छ । 

अहिल्यै सहरीकरण, मानिसको जीवन शैली र अर्थोपार्जनका कारण आम मानिस बजारसँग जोडिएका हुन्छन् । सहरको भिडमा बस्दा मानिसले एक्लोपन महसुस गर्छ र आफन्तहरू खोज्न थाल्छ । आफन्तहरू खोज्ने भनेको नजिकका नाताहरू हुन पछिल्लो समय सामूहिकताको भावनाले एक अर्कामा जोड्ने काम भइरहेछ । कतिपय परिवार पहिलेको वैमनुस्यतालाई बिर्सेर आपसी मेल मिलाप गरेका छन् । परिवारलाई इन्ट्याक्ट राख्ने पक्ष भनेको मानिसले मानिससँग सम्बन्ध र सम्पर्क राख्न चाहिने सोच र चिन्तन हो । 

वैवाहिक सम्बन्धहरू वंशाणुगत नातागोतालगायतका कुराले हरेक मानिस एक अर्कासँग जोडिएको हुन्छ । विभिन्न संस्कारहरूमा आयोजना हुँदा जात तथा नातेदारप्रति एकता भाव देखाउन उपस्थित जनाउने गरेको पाइन्छ । देखावटी रूपमा भए पनि हिजो आज विभिन्न जातजातिका कुल पूजा गर्दै आफ्नो गोतियार र नातागोता बिच एकता कायम गर्न खोजेको जस्तो देखिन्छ । कतिपय जातजाति र समुदाय आफ्नो जातलाई कसरी उत्थान र संवर्द्धन गर्न सकिन्छ भन्ने सोच र चिन्तनले सामूहिक भावनाको विकाश भई भेटघाट र सङ्गठित भइरहेका छन् । यस्ता प्रकारका प्रचलन बृहतरूपमा आफ्नो परिवारलाई इन्ट्याक्ट (–) राख्ने सोच र चिन्तनका उपज हुन् । जिब्रोको गरिमा मिठो बोलीमा भनेको त्यसै होइन । जिब्रो कुनै फलामले बनेको हुँदैन । तर, जिब्रोको धारले मुटु छिया छिया पार्दछ । संसारका मानव जाति तीन कुरामा भर पर्दछन् । १. छिमेकी २. साथीहरू ३. नाता, यी तीन थरीका मानिसमध्ये पनि तीन प्रतिशत मानिस असल विचार र तीन थरिका मानिसमध्ये पनि तीन प्रतिशत मानिस असल विचार र असल स्वभावका हुन्छन् । भने बाँकी ९७ प्रतिशत मानिस खराब विचार र खराब आचरण राख्दछन् । 

आजका युवा वर्गले ज्येष्ठ नागरिकको अनुभव र ज्ञान हामी सबैलाई प्रेरणा र मार्ग निर्देशन भएको हुँदा यसको सदुपयोग गरी अघि बढ्न बुद्धिमानी ठहरिन्छ । कुनै पनि व्यक्ति संघ संस्था वा देशले प्रगति गर्न थाले पछि अलि बढी अहम् भावना जागृत हुन थाल्दछ । तर, त्यो प्रगतिसँगै विनयशील हुन सक्दा थप प्रगतिको निम्ति बाटो तयार हुन्छ । तसर्थ, आफ्नो सम्बन्धहरू सुमधुर र सफल बनाउन आजका युवा वर्ग सृजनशील, विनयशील, नम्र र मृदुभाषी भई परिवार, समाज र देशलाई स्वर्ग बनाउन तर्फ लाग्नुपर्छ । 

ADVADV

सम्बन्धित खबर

Advertise