तेजबहादुर बन/मध्यान्ह
इटहरी : केही वर्षदेखि बन्द भएको निजी फार्मेसी (औषधि पसल) सञ्चालनको अनुमति लिन पुगेका एक सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिँदै गर्दा औषधि व्यवस्था विभागका कमर्चारी रंगेहात पक्राउ परेका छन् ।
सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले औषधि व्यवस्था विभागका अधिकृत सरोज सुवेदीलाई रंगेहात पक्राउ गरेको हो । अख्तियार स्रोतका अनुसार तेह्रथुमको मेन्छ्याम गाउँपालिका–५ मा औषधि पसल सञ्चालन गरेर बसेका एक सेवाग्राहीले बन्द भएको आफ्नो फार्मेसी पुनः सञ्चालनका लागि अनुमति लिन आएपछि सुवेदीले दुई लाख रुपैयाँ घुस मागेका थिए ।
आफ्नो सेवा नवीकरणका लागि विभाजका कर्मचारीले घुस रकम माग गरेको भन्दै सेवाग्राहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए । तिनै सेवाग्राहीको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट टोली खटिएको थियो ।
अख्तियारको टोलीले बिहीबार स्ट्रिङ अपरेशन सञ्चालन गरी सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा सुवेदीलाई रंगेहात पक्राउ गरेको हो । सुवेदीले तेह्रथुमको मेन्छ्याम गाउँपालिका–५ मा समृद्धि फर्मा नामक औषधि पसल सञ्चालन गरेर बसेका पुष्प ढुंगानासँग दुई लाख रुपैयाँ घुस लिएका हुन् । ढुंगानाले सञ्चालन गरेको फार्मेसीमा उपचार गराएका एक पुरुषको मृत्यु भएपछि गत बैशाख देखि नै सो फार्मेसी बन्द रहेको छ ।
उपचारको क्रममा पुरुषको मृत्यु भएपछि ढुंगानाविरुद्ध ज्यान मुद्दा दर्ता भएको थियो । ढुंगानाविरुद्धको मुद्दा अदालतमा अझै विचाराधीन अवस्थामा रहेको जनाइएको छ ।
अख्तियारको प्रदेश नम्बर १ कार्यालय इटहरीका प्रवक्ता पुरुषोत्तम ढकालका अनुसार विभागका अधिकृतलाई मोरङको विराटनगरस्थित भट्टराई होटलबाट रंगेहात नियन्त्रणमा लिइरहेको । उनी विभागमा करारको रूपमा कार्यरत कर्मचारी रहेको अनुसन्धानबाट खुलेको छ ।
मोरङको उर्लाबारी नगरपालिका–५ घर भएका २४ वर्षीय सुवेदीले सेवाग्राहीबाट पटक पटक घुस रकम माग गरेको अनुसन्धानको क्रममा खुलेको अख्तियारको सम्पर्क कार्यालय इटहरीले जनाएको छ । अख्तियारको नियन्त्रणमा रहेका विभागका अधिकृत सुवेदीविरूद्ध थप अनुसन्धान गरी आवश्यक कानून कारबाही अगाडि बढाइने अख्तियार कार्यालय इटहरीले जानकारी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies