२०८३ कार्तिक १६ गते सोमवार / Nov 02 , 2026 , Monday
२०८३ कार्तिक १६ गते सोमवार

जिफन्टले सुरु गर्‍याे श्रम ज्ञान दिने एआई

Nada
२०८३ कार्तिक १६ गते १३:१९
Shares
जिफन्टले सुरु गर्‍याे श्रम ज्ञान दिने एआई

काठमाडौं : नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले श्रम तथा ट्रेड युनियन आन्दोलनसम्बन्धी ज्ञान र सूचना उपलब्ध गराउने कृत्रिम बौद्धिकता (एआई)मा आधारित डिजिटल पुस्तकालय सुरु गरेको छ ।

‘र्‍याकदेखि स्क्रिनसम्म’ अवधारणासहित सुरु गरिएको डिजिटल पुस्तकालयमा श्रम तथा ट्रेड युनियन आन्दोलनसँग सम्बन्धित १० हजारभन्दा बढी पुस्तक, अनुसन्धान प्रतिवेदन, आवधिक प्रकाशन, तस्बिर, भिडियो र अन्य सामग्री संकलन गरिएको छ । जिफन्टको अर्गनाइजिङ एकेडेमीअन्तर्गत सन् १९९४ मा स्थापना भएको राष्ट्रिय श्रम स्रोत केन्द्रले आइतबारदेखि पुस्तकालयलाई डिजिटल स्वरूपमा विस्तार गरेको हो ।

जिफन्टका संरक्षक विष्णु रिमालले केन्द्रमा रहेका सामग्रीको सङ्ख्या निरन्तर बढिरहेको जानकारी दिए । डिजिटल पुस्तकालयमार्फत ट्रेड युनियन अभियन्ता, प्रशिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्ताले आवश्यक ज्ञान र सूचना केही सेकेन्डमै खोज्न सक्ने महासंघको अपेक्षा छ ।

जिफन्टले यसलाई सूचनाको भण्डारमा मात्र सीमित नराखी अध्ययन, अनुसन्धान र ज्ञान आदानप्रदानको अन्तरक्रियात्मक मञ्चका रूपमा विकास गर्ने जनाएको छ । यसका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को पुस्तकालयलगायत अन्तर्राष्ट्रिय ज्ञान केन्द्रसँग साझेदारी विस्तार गर्ने प्रयाससमेत भइरहेको छ ।

हाल परीक्षण चरणमा रहेको सेवा उपयोग गर्न इच्छुकले काठमाडौंको अनामनगरस्थित राष्ट्रिय श्रम स्रोत केन्द्रमा उपस्थित भएर उपलब्ध सामग्री प्रयोग गर्न सक्नेछन् । डिजिटलीकरण र आवश्यक प्रणालीको विकासपछि सेवा एपमार्फत उपलब्ध गराउने जिफन्टले जनाएको छ ।

कार्यक्रममा श्रम इतिहासमा आधारित ‘द्वन्द्वदेखि सहअस्तित्वसम्म’ पुस्तकसमेत विमोचन गरिएको थियो । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ एसिया प्रशान्त क्षेत्र (आईटीयूसी–एपी)का महासचिव शोया योशिदाले जिफन्टको पहलले नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्न सहयोग पुग्ने बताइन् ।

जिफन्ट अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय ट्रेड युनियन संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

सम्बन्धित खबर