
काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गोर्खाजले पहिलो जित हात पारेको छ । सोमबार कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै काठमाडौंले प्रतियोगितामा पहिलो जित निकालेको हो ।
कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाडौंले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । काठमाडौंका लागि रासिद खानले अर्धशतकीय इनिङ खेले । उनले ३४ बल खेल्दै ३ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ५० रन बनाए ।
कप्तान करण केसीले २० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४४ रनको योगदान गरे । अष्ट्रेलियन चर्चित खेलाडी डेभिड वार्नरले काठमाडौंबाट एनपिएलमा डेब्यु गरे । तर उनको डेब्यु उत्कृष्ट भने रहेन । वार्नर १० बल खेल्दै ३ चौकाको सहयोगमा १६ रन बनाएर आउट भए । जहानदान खानले १० बलमा २ छक्का र १ चौकाको सहयोगमा २२ रन बनाए । आदिल आलमले २७ बल खेल्दै १ छक्काको सहयोगमा २० रन जोडे ।
बलिङमा कर्णालीका लागि कप्तान सोमपाल कामी र हुसेत तलतले २-२ विकेट लिए । मार्क वाट र नन्दन यादवले १-१ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रनको योगफल बनाएको थियो ।
कर्णालीका लागि अरिफु स्लामले सर्वाधिक ४४ रनको योगदान दिए । उनले २२ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ४४ रनको योगदान दिएका हुन । त्यसैगरी मोहम्मद हुसेन तलातले ३० बलमा एक चौका र दुई छक्काको मद्दतमा ४० रन जोडे ।
पवन शर्राफले अविजित ३० रन बनाउँदा गुल्सन झाले २० तथा मार्क वाटले १७ रन बनाए । बलिङतर्फ काठमाडौंका करण केसीले २ विकेट लिए भने साहब आलम, सन्तोष यादव, जहान्दाद खान र देव शाहले समान १-१ विकेट लिए ।