काठमाडौं : २२ अप्रिलमा भारतको कश्मीरको पहलगाममा भएको आक्रमणको बदला लिन भारतले छिमेकी पाकिस्तानविरुद्ध सैन्य कारबाही सुरु गरेको छ ।
‘अपरेसन सिन्दूर’ नाम दिइएको सैन्य कारबाहीका क्रममा भारतले पाकिस्तानमा अवस्थित ९ आतंकारी अड्डालाई ध्वस्त पारिदिएको छ ।
भारतको यो कारबाही २५ मिनेटसम्म चलेको थियो । भारतीय सेनाले ६ मिनेट अर्थात् बुधबार राति १ः०४ देखि १ः११ बजेसम्म (स्थानीय समय)मा ९ वटा लक्ष्य ध्वस्त पारिएको दाबी गरेको छ ।
बुधबार बिहान भारतीय सेना, वायुसेना र सरकारका अधिकारीले पत्रकार सम्मेलन गरेर आक्रमणको विवरण जानकारी गराएका थिए । भारतीय सेनाको इतिहासमा महिलाले महिलाले अपरेसनका बारेमा जानकारी दिएको पहिलो पटक हो । सेनाको कर्नेल सोफिया कुरेशी र वायुसेनाकी विङ कमान्डर व्योमिका सिंहले अपरेसनका बारेमा जानकारी गरेकी थिइन् ।
भारतको यो कारबाही पहलगाम आक्रमणपछि गरिएको हो । सो आक्रमणमा १ नेपालीसहित २८ पर्यटकको मृत्यु भएको थियो । भारतले आक्रमणको दोष पाकिस्तानमाथि लगाउँदै आएको छ । तर, पाकिस्तानले आफ्नो संलग्नता नरहेको भन्दै निष्पक्ष अनुसन्धानको माग गर्दै आएको छ ।
पहलगाम आक्रमणको जिम्मेवारी ‘द रेसिस्टेन्स फ्रन्ट’ (टीआरएफ) नामक समूहले लिएको थियो । यो समूह संयुक्त राष्ट्रसंघद्वारा प्रतिबन्धित लस्कर–ए–तोयबासँग जोडिएको छ ।
टीआरएफलाई पाकिस्तानस्थित आतंकवादी समूहले आवरणका रूपमा प्रयोग गरेको र पहलगाम आक्रमणका योजनाकारले पाकिस्तानको समर्थन पाएको पुष्टि गरेको भारतले दाबी गरेको छ ।
‘अपरेसन सिन्दूर’मार्फत भारतले पाकिस्तानमा रहेका भनिएका आतंकवादी अड्डाहरू मुजफ्फरावाद, सियालकोट, मुरिदके र भवलपुरलाई लक्षित गरी आक्रमण गरेको थियो । भारतले यो अपरेसन पहलगाममा निर्ममतापूर्वक मारिएका निर्दोष पर्यटकको न्यायका लागि गरिएको भनेको छ ।
हवाई आक्रमणमा जैश–ए–मोहम्मद र लस्कर–ए–तोयबाका मुख्यालय ध्वस्त पारिएको दाबी भारतले गरेको छ । यी तिनै स्थानहरू हुन्, जहाँबाट भारतमा आतंकवादी आक्रमणको योजना बनाइएको थियो ।
२६ जनाको मृत्यु
पाकिस्तानले भारतले दाबी गरेजस्तो कुनै पनि आमसर्वसाधारण भएको क्षेत्रलाई मात्र निशाना बनाइएको भन्ने कुरा अस्वीकार गरेको छ । पाकिस्तानी पक्षको दाबीअनुसार भारतले आवासीय क्षेत्रमा आक्रमण गरेर बालबालिकासहित २६ जनाको मृत्यु भएको छ । भारतले केवल आतंकवादी पूर्वाधारमाथि आक्रमण गरिएको जनाएको छ ।
एक शीर्ष भारतीय सैन्य अधिकारीले भारतको पुछ जिल्लामा पाकिस्तानी गोलाबारीबाट १० सर्वसाधारणको मृत्यु भएको पनि जनाएका छन् । सो आक्रमणमा ३२ जना घाइते भएका छन् ।
पाकिस्तानी सेनाको संचार शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर)का महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद सरिफ चौधरीले भारतीय हमलामा भएको क्षतिबारे जानकारी दिएका छन् ।
राजधानी इस्लामावादमा बुधबार आयोजित पत्रकार सम्मेलनमा जनरल चौधरीले भारतले ६ वटा क्षेत्रमा गरेको आक्रमणमा २६ सर्वसाधारणको मृत्यु भएको र ४६ जना घाइते भएका बताएका हुन् । उनले भारतले गरेको यो आक्रमणका कारण ठूलो संख्यामा सर्वसाधारण प्रभावित भएका पनि बताएका छन् । चौधरीका अनुसार आक्रमणबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ ।
यता, भारतीय आक्रमणको जबाफमा पाकिस्तानी सेनाले ५ भारतीय लडाकु विमान र १ ड्रोन खसालेको दाबी गरेको छ । पाकिस्तानी वायुसेनाले यी विमानहरू खसालेको र उनीहरूले हतियार छाडेपछि मात्र पाकिस्तानमाथि भारतले आक्रमण गरेको चौधरीले दाबी गरे ।
विमान खसालेको पाकिस्तानी दाबीबारे भारतले कुनै प्रतिक्रिया दिएको छैन । यो पुष्टि भयो भने भारतीय सेनाका लागि दशकौंपछिको सबभन्दा ठूलो क्षति हुने छ । राफेल लडाकु विमान सेनाको आधुनिकीकरण गर्ने योजनाअन्तर्गत भारतले किनेको हो । भारतीय वायुसेनासँग ३६ वटा राफेल लडाकु विमान छन् ।
पाकिस्तानी सेनाले उनीहरूका १० भन्दा बढी विमानहरूमाथि गोली हान्न सक्ने तर संयम अपनाएको दाबी गरे ।
भारत र पाकिस्ताको प्रतिक्रिया
आक्रमणपछि पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले ‘निर्णायक जबाफ’ दिने चेतावनी दिएका छन् ।
आफ्नो भूमिमा भारतीय सैन्य आक्रमणपछि पाकिस्तानको राष्ट्रिय सुरक्षा समिति (एनएससी)को बैठक बसेको छ । प्रधानमन्त्री सरिफको अध्यक्षतामा बसेको बैठकले आतंकवादी शिविरमा आक्रमण गरेको भन्ने भारतीय दाबीलाई खारेज गरेको छ ।
‘भारतले गरिरहेको दाबीको कुनै प्रमाण छैन’, पाकिस्तानले भनेको छ, ‘प्रमाणबिनै आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न निर्दोष नागरिकमाथि हमला गरिएको छ ।’
प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा पाकिस्तानले आफूअनुकूल समय, स्थान र शैलीमा जबाफ दिने अधिकार सुरक्षित रहेको चेतावनी पनि दिएको छ ।
पाकिस्तानका सशस्त्र सुरक्षालाई यसबारे आवश्यक कारबाही गर्न औपचारिक अधिकार दिइएको छ ।
यससँगै पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायसँग भारतका अवैधानिक गतिविधिको गम्भीरता बुझ्न आग्रह गरेको छ । साथै, भारतले अन्तर्राष्ट्रिय कानुन र सिद्धान्तको खुलेआम उल्लंघन गरेको भन्दै त्यसको जबाफदेही बनाउन पनि माग गरेको छ ।
यस्तै, भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतीय सेनाले सटीकता, सतर्कता र संवेदनशीलताका साथ पाकिस्तानविरुद्ध कारबाही गरेको बताएका छन् ।
‘प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शनमा भारतीय सेनाले सबै भारतीयहरूलाई गौरवान्वित बनाएको छ’, उनले भनेका छन्, ‘सेनाले निर्धारित लक्ष्यहरूलाई सटीकताका साथ र योजनाबद्ध रूपमा नष्ट गर्यो ।’
रामायणको अशोकबाटिका प्रकरणको उल्लेख गर्दै उनले सेनाले हनुमानको आदर्शलाई पछ्याउने गरेको बताए । ‘हामीले हाम्रा निर्दोष मानिसहरूलाई मार्नेलाई मात्र मार्यौं’, उनले भने ।
जैश–ए–मोहम्मदका प्रमुख मसूद मारिए
अतिवादी संगठन जैश–ए–मोहम्मद संगठनका प्रमुख मसूद अजहरको परिवारका १० सदस्य र ४ नजिकका सहयोगी मारिएका छन् ।
९ पुस २०५६ मा काठमाडौंबाट अपहरण गरिएको इन्डियन एयरलाइन्सको ‘आईसी– ८१४’ जहाज प्रकरणमा अजहर जोडिएका हुन् । जहाजमा चालक दलसहित १८८ जना यात्रु थिए । १ जना यात्रुको आतंकवादीहरूले हत्या नै गरेका थिए । त्यसमा ८ जना नेपाली यात्रु पनि थिए ।
भारतले पाकिस्तानमाथि गरेको आक्रमणमा जैश–ए–मोहम्मद संगठनका प्रमुख अजहरको परिवारका १० सदस्य र ४ नजिकका सहयोगी मारिएको जैश–ए–मोहम्मद (जेईएम)ले स्वीकार गरेको छ ।
जैश–ए–मोहम्मद (जेईएम)ले बुधबार एक विज्ञप्ति जारी गर्दै मसूद अजहरकी दिदी र भिनाजु, भतिजा, भतिजाकी श्रीमती, भतिजी र परिवारका ५ छोरा–छोरीको मृत्यु भएको जनाएको छ ।
जैश–ए–मोहम्मदले मसूद अजहरका ३ नजिकका सहयोगी र ती सहयोगीमध्ये १ की आमा आक्रमणमा मारिएको पनि उल्लेख गरेको छ ।
२०१९ फेब्रुअरीमा जैश–ए–मोहम्मदले जम्मु–कश्मीरमा आत्मघाती बम विस्फोट गराएको थियो, जसमा ४० सैनिक मारिएको थियो ।
मसूदको जन्म पाकिस्तानको बहावलपुरमा भएको थियो । उनी त्यही ठाउँमा कडा सुरक्षाबीच बस्दै आएका थिए । लाहोरबाट ४०० किलोमिटर दुरीमा रहेको बहावलपुर पाकिस्तानको १२औं ठूलो शहर हो ।
सन् २००१ को भारतको संसद् भवन आक्रमण, सन् २०१६ को पठानकोट आक्रमण र सन् २०१९ को पुलवा आक्रमणमा उनको हात रहेको दाबी गरिन्छ ।
विद्यालय र हवाई सेवा बन्द
आक्रमणपछि दुवै देशका विभिन्न क्षेत्रका विद्यालय बन्द गरिएका छन् । पाकिस्तानमा हवाई आक्रमणपछि अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । धेरै एसियाली एयरलाइन्सले युरोप जाने र फर्कने उडान रद्द गरेका छन् ।
खासगरी ताइवान, दक्षिण कोरिया, थाइल्यान्ड, भियतनामका विभिन्न उडान र भारतीय एयरलाइन्सहरू एयर इन्डिया, इन्डिगो, स्पाइस जेटलगायतका विमानले उडान रद्द गरेका छन् । सिंगापुर एयरलाइन्स, ब्रिटिस एयरवेज, फिन एयर, एयरोफ्लोट जस्ता एयरलाइन्सले पनि रुट परिवर्तन गरेका छन् ।
के हो ‘अपरेसन सिन्दूर ?’
भारतले पाकिस्तानविरुद्ध गरेको आक्रमणलाई ‘अपरेसन सिन्दूर’ नाम दिइएको छ ।
शक्ति राष्ट्रहरूले कुनै पनि सैन्य कारबाही गर्नुअघि अपरेसन कहाँ हुने, कसरी हुने, कसलाई लक्षित गर्ने भनेर रणनीति बनाउँछ । भारतले पनि यही गरेको हो । यसअनुसार सैन्य कारबाहीको महत्त्वलाई ख्याल गरेर हमला वा मिसनको नाम राख्छन् । नामकरण पछाडि गोप्यता, प्रेरणा वा मनोवैज्ञानिक मानसिकतासमेत जोडिन्छ ।
सैन्य कारबाहीको मिसनमा कोडमा आधारित नामहरूसमेत तय गरिन्छ । प्रतीकात्मक नामकरण गर्ने अभ्यास संसारभरि छ । देशभित्रै आन्तरिक कारबाही चलाउँदासमेत यो अभ्यास हुन्छ ।
पहलगाम आक्रमणमा धेरै निर्दोष व्यक्तिहरू मारिएकोसँग यसको सम्बन्ध जोडिएको छ ।
पुरुषहरू मारिँदा तिनका श्रीमतीहरूको सिन्दूर पुछिएकाले उनीहरूको ‘न्याय’का निम्ति भारतले सैन्य कारबाहीको नाम ‘अपरेसन सिन्दूर’ राखेको हो ।
नेपाल र भारतीय समाजमा हिन्दु संस्कारअनुसार विवाह गर्दा वरले बधुको सिउँदोमा सिन्दूर लगाइदिने चलन छ । विवाहपश्चात् श्रीमान्को मृत्यु भएमा श्रीमतीले सिउँदोको सिन्दूर पुछ्ने गर्छन् ।
पहलगाम आक्रमणमा मारिएका निर्दोष व्यक्तिका श्रीमतीको सिन्दूर पुछिएको भनेर भारतले पाकिस्तानमाथिको सैन्य कारबाहीको नाम नै ‘अपरेसन सिन्दूर’ राखेको हो । कतिपयले ‘अपरेसन सिन्दूर’लाई सांस्कृतिक र भावनात्मक सन्दर्भसँग जोडेर व्याख्या गरेका छन् ।
नेपालको ‘रहस्यमय’ मौनता, चौथाइवालेको प्रभाव !
भारतले पाकिस्तानमा आक्रमण गरेपछि विश्वका विभिन्न देशले प्रतिक्रिया जनाए पनि नेपालले कुनै प्रतिक्रिया दिएको छैन ।
भारत र पाकिस्तानबीच भएको युद्धको प्रभाव नेपालमा पनि पर्ने हुनाले यसबारे चासो प्रकट भएको छ । परराष्ट्र मामिलाका जानकारहरूले दक्षिण एसियाका ती २ परमाणु अस्त्र सम्पन्न देशबीचको द्वन्द्वले नेपालमा सुरक्षासहितका चुनौती देखापर्ने छ भने तनाव न्यूनीकरणका लागि सार्क राष्ट्रको अध्यक्षको हैसियतले नेपालले दुवै देशलाई आह्वान गर्नुपर्ने बताउँछन् ।
पहलगाम आक्रमणपछि भारत र पाकिस्तान एकअर्काप्रति कठोर बन्दै गएका समयमा भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएर सत्ता र विपक्षका करिब २ दर्जन नेताहरूसँग भेटेका थिए । त्यस्तै, पाकिस्तानी सेनाको एक अध्ययन टोलीका प्रतिनिधिहरू अहिले नेपालमा छन् ।
चौथाइवालेले नेताहरूलाई भेटेर पहलगाम हमलाको जबाफमा भारतले चाल्ने कदमप्रति समर्थन जुटाउने प्रयास गरेका थिए । चौथाइवालेलाई भेटेका नेताहरूका अनुसार भारतले चाल्ने सम्भावित कदममा छिमेकीहरूले लिने नीति आफ्नो पक्षमा हुनुपर्ने विषयमा लबिङ गरेका थिए ।
पहलगाम आक्रमणलगत्तै सरकारले उक्त आक्रमणलाई आतंकवादी भनेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु देउवाले आ–आफ्ना एक्समार्फत घटनाको निन्दा गरेका थिए ।
तर, भारत र पाकिस्तानबीच औपचारिक युद्ध सुरु भइसक्दा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र सरकारको कुनै धारणा आएको छैन । नेपाल अहिले सार्कको अध्यक्ष राष्ट्र पनि हो । सार्कमा भारत र पाकिस्तान पनि सदस्य हुन् ।
भारतको जबाफी कारबाहीबारे नेपाल सरकारले आधिकारिक धारणा सार्वजनिक नगर्दा धेरैले आश्चर्य व्यक्त गरेका छन् ।
पहलगाम आक्रमण भएको साता भारतीय दूतावास पुगेर श्रद्धाञ्जलि अर्पण गर्ने क्रममा परराष्ट्रमन्त्री राणाले नेपाल आतंकवादविरुद्धको कारबाहीमा भारतसँग काँधमा काँध मिलाएर उभिएको बताएकी थिइन् । तर, बुधबार राति अबेरसम्म नेपालको धारणा आएको छैन ।
भारत र पाकिस्तानबीच चुलिएको तनावका कारण नेपाललाई सुरक्षा चुनौती थपेको जानकारहरू बताउँछन् ।
असंलग्न परराष्ट्र नीति अख्तियार गरेको नेपालले विगतमा भारत र पाकिस्तानबीच युद्ध भएको अवस्थामा समेत त्यही नीतिलाई निरन्तरता दिएको छ ।
उनीहरूका अनुसार आतंकवादलाई निरुत्साहित गर्न भारतबाट कुनै खालको कारबाही हुँदा त्यो भारतको आन्तरिक निर्णय नै हुने छ । तर, नेपालले आफ्नो सापेक्ष हित र क्षेत्रीय शान्तिलाई हेरेर आफ्नो धारणा बनाउनुपर्ने सुझाव दिन्छन् ।
नेपाली कांग्रेसका नेता तथा पूर्वपरराष्ट्रममन्त्री एनपी साउदले भारत र पाकिस्तानबीचको पछिल्लो तनावलाई मध्यनजर गरेर सरकारले कूटनीतिक जिम्मेवारीबोध गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्ने बताउँछन् ।
‘छिमेकमा युद्धको आगो सल्किसकेको छ । यस्तो बेला सरकारले कूटनीतिक जिम्मेवारीबोध गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्नुपछ’, उनले भने ।
साउदले विश्वव्यापी आतंकवादीहरूबाट भइरहेका आक्रमणहरूको शिकार हुनबाट नेपालीहरू पनि अछुतो रहन नसकेका उल्लेख गरे ।
सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता
भारत–पाकिस्तानबीच तनाव चुलिएका बेला नेपालले भारतसँगको सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ । सीमा क्षेत्रमा पहिलाभन्दा निगरानी बढाइनुका साथै शंका लागेका व्यक्तिहरूको परिचयपत्र मागेर सोधपुछ गरिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले भने, ‘लामो खुल्ला सीमा छ । त्यो खुल्ला सीमाको दुरुपयोग नहोस् र त्यसमा अवाञ्छित आवागमन नहोस् भन्ने कुरामा सरकार पूरा सचेत छ र त्यसअनुसार निगरानी र जाँच गर्ने काम भइरहेको छ ।’
यस्तै, भारतले पनि नेपालसँग सीमा जोडिएका क्षेत्रहरूमा पहिलाको भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ ।
भारत र पाकिस्तानमा सिर्जना भएको तनावपछि विकसित घटनाक्रम र त्यसले नेपाललाई पार्न सक्ने प्रभाव, सम्भावित चुनौती तथा भारत र पाकिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा बुधबार साँझ बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा छलफल भएको छ ।
बैठकले तीनै तहका सुरक्षा निकायलाई समन्वयात्मक रूपमा सुरक्षा रणनीति कार्यान्वयन गर्न निर्देश गरेको छ ।