२०८२ वैशाख २५ गते बिहिवार / May 08 , 2025 , Thursday
२०८२ वैशाख २५ गते बिहिवार
Ads

करोडौं ठगी गर्ने ७ जना पक्राउ

मध्यान्ह
२०८२ वैशाख २५ गते १७:११
करोडौं ठगी गर्ने ७ जना पक्राउ

जनकपुरधाम : धनुषा प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गरेको अभियोगमा ७ जनालाई पक्राउ गरेको छ ।

‘फेक एकाउन्ट’ मार्फत सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने अभियोगमा उनीहरूलाई पक्राउ गरी प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार पक्राउ परेकाहरूले फेसबुक लगायतका सामाजिक सञ्जालमा फर्जी नाम र तस्बिर प्रयोग गरी मोबाइल, मोटरसाइकल लगायतका सामान सस्तोमा उपलब्ध गराइदिने भन्दै २ करोड ६३ लाख ९ हजार ३१२ रुपैयाँ ठगी गरेका थिए ।

पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–१ का २३ वर्षीय सुरज साह, सर्लाही बरहथवा–७ का २२ वर्षीय नितेश कुमार साह, गौशाला नगरपालिका–१ का २२ वर्षीय रोशन साह, २१ वर्षीय सुधीर कुमार महतो, १९ वर्षीय अमित साह, क्षीरेश्वरनाथ नगरपालिका–२ का २२ वर्षीय श्याम सुन्दर महरा र २० वर्षीय राम कुमार महरा छन् ।

उनीहरूले सामाजिक सञ्जालमा विश्वास जित्ने शैलीमा संवाद गर्दै सस्तो सामानको प्रलोभन देखाएर अग्रिम रकम माग्ने गर्थे । रकम बुझ्ने बित्तिकै सम्पर्कविहीन हुने गरेको अनुसन्धानमा खुलेको छ ।

उनीहरूको साथबाट प्रहरीले दश थान मोबाइल समेत बरामद गरेको छ । ती मोबाइलको प्रयोग गरी विभिन्न बैङ्क तथा वित्तीय संस्थासहित वालेट आइडी खोलेर १८७ वटा खातामार्फत ठगी कारोबार गरिएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार हालसम्म २१ वटा फेक एकाउन्ट पत्ता लागिसकेको छ । जिल्ला अदालत धनुषाबाट म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको उनले जनाए ।

थप अनुसन्धानपछि उनीहरुविरुद्ध ठगी तथा साइबर अपराध अन्तर्गतको मुद्दा अघि बढाइने प्रहरीले जनाएको छ ।
 

ADV

सम्बन्धित खबर