सुशीला रेग्मी/मध्यान्ह
रामपुर (पाल्पा) : चैते खेती पकेट क्षेत्रका कृषकलाई प्रविधि सम्बन्धी ज्ञान सीप सिकाउन थालिएको छ । पाल्पाको रामपुर नगरपालिका वडा नं ४ स्थित तल्लो वडमान कृषक समुहका २९ कृषकलाई खेती गर्ने प्रविधि सम्बन्धी ज्ञान सीप सिकाउन थालिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रामपुर नगरपालिकाले वडमान क्षेत्रमा चैते धान खेतीका लागि पकेट कार्यक्रम संचालन गरेको छ ।
समुहका अध्यक्ष ओमबहादुर रानाको अध्यक्षतामा भएको तालिम रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले उद्घाटन गरेकी हुन् । सो अवसरमा नगर उपप्रमुख आचार्यले रामपुर नगरले कृषिमा प्राथमिकता दिएर काम गरेको बताउँदै कृषकको माग र आवश्यकता हेरेर बजेट उपलब्ध गराउने गरेको बताइन् । उनले रामपुरको उत्पादन बृद्धि गरेर स्थानीय स्तरमा मात्र नभई बाहिरी शहर बजारमा पनि बिक्रीका लागि पठाउने गरी व्यवसाय गर्न कृषकलाई आग्रह गरिन् ।
यहाँका कृषकलाई आधुनिक प्रविधिको प्रयोग र उन्नत जातको बिउ प्रयोग गरेर उत्पादन बढाउने गरी खेती गर्न सिकाउने उद्देश्यले दुई दिने तालिम आयोजना गरिएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेयले जानकारी दिए । शाखा प्रमुख पाण्डेय र प्राविधिक प्रज्वल केसीले उन्नत धानखेती प्रविधि, खेती पद्धत्ति, माटो, हावापानी, लगाउने समय, मलखाद व्यवस्थापन, छरुवा धान खेती प्रविधि, धान खेतीमा कृषि यान्त्रिकरणको प्रयोग लगायतका सम्बन्धमा सहभागीलाई ज्ञान सीप सिकाएका थिए ।
आउँदो चैत १५ गते वडमान खेतमा पकेट क्षेत्र कार्यक्रम अन्तर्गत करिब तीन सय दुई रोपनी क्षेत्रफलमा धान रोपाई गर्ने तयारी छ । समूहका सचिव पविसरा पचभैयाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सहभागीलाई उपाध्यक्ष तुलबहादुर थापाले धन्यवाद दिए । कार्यक्रम सल्लाहकार बलबहादुर पोखरेलले संचालन गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies