२०८२ वैशाख २७ गते शनिवार / May 10 , 2025 , Saturday
२०८२ वैशाख २७ गते शनिवार
Ads

पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिएका छौं : मुख्यमन्त्री आचार्य

मध्यान्ह
२०८२ वैशाख २६ गते २०:०६
पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिएका छौं : मुख्यमन्त्री आचार्य

पाल्पा : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएका स्थलहरूको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारलाई प्राथमिकतामा राखेर सरकारले विशेष ध्यान दिएको बताएका छन् ।

पाल्पाको रुरुक्षेत्र धाममा आयोजित ‘प्रथम रुरुक्षेत्र शालग्राम महोत्सव २०८२’ को शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउने गरी सरकारले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारलाई प्राथमिकतामा राखेको बताएका हुन्  । ‘घुम्न जाऔं बर्दिया’,‘पाणिनि तपोभूमि सम्मेलन’ र ‘रुरु शालग्राम महोत्सव’ यही उद्देश्यका साथ आयोजना गरिएको मुख्यमन्त्री आचार्यले स्पष्ट पारेका थिए  ।

उनले  लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्या बढ्दो क्रममा रहेको जानकारी गराए ।

मुख्यमन्त्री आचार्यले धार्मिक आस्था, नैतिक आचरण र संस्कृतिको संरक्षणमा ध्यान दिन आवश्यक रहेको बताए । समाजमा बढ्दो अराजकताको कारण औंल्याउँदै उनले असल संस्कार, संस्कृति र मूल्य–मान्यताहरूको जगेर्ना गर्न जरुरी रहेको बताए । 

‘मुलुकमा अराजकता छाइरहेको छ । अराजकता छाउनुको पछाडिको एउटा कारण भनेको आज हामीले धर्म भुल्यौं, नैतिकता भुल्यौं, संस्कृति भूल्यौं । यी भुलेका कारणले आज युवाहरू अराजकतातिर धकेलिएका छन्’मुख्यमन्त्री आचार्यले भने, ‘त्यसैले हामीले धर्म र संस्कृतिको संरक्षण गर्न जरुरी छ । त्यो उद्देश्य राखेर पनि प्रदेश सरकारले यी कार्यक्रमहरूलाई अगाडि बढाएको हो ।’

मुख्यमन्त्री आचार्यले ऐतिहासिक सम्पदाहरूको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनबाट समृद्धिको यात्रा तय गर्न सकिने  बताए । 

लुम्बिनी प्रदेश तपोभूमि भएको उल्लेख गर्दै उनले विभिन्न जिल्लाहरूका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व दर्शाउँदै रुरुक्षेत्रको शालग्रामलाई विश्व जगतमा पु¥याउन सकिने र धार्मिक पर्यटकहरू भित्र्याउन सक्ने आधार रहेको स्पष्ट पारेका हुन् ।

उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी, पाणिनि ऋषिको जन्मस्थल र संस्कृत व्याकरण लेखन स्थान पाणिनि तपोभूमि लगायत प्रदेशका धार्मिक तथा सांस्कृतिक स्थलहरूलाई एक आपसमा जोड्ने गरी सरकारले योजना अघि बढाएको जानकारी दिए । नेपालका चार प्रमुख धार्मिक धामहरूमध्ये एक रुरुक्षेत्रमा ‘शालग्राम दिवस’ को अवसरमा पर्यटन डिभिजन कार्यालय रुपन्देही र तानसेन नगरपालिकाको सहकार्य तथा हृषिकेश मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा महोत्सव आयोजना गरिएको हो । महोत्सवमा विविध धार्मिक, सांस्कृतिक तथा पर्यटनमूलक कार्यक्रमहरू समावेश गरिएका छन् । 

ऐतिहासिक, धार्मिक तथा प्राकृतिक रूपमा महत्वपूर्ण रुरुक्षेत्रमा आयोजना गरिएको महोत्सवले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारमा भइ पर्यटनको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । महोत्सव दुई दिनसम्म सञ्चालन हुने रुरु क्षेत्र गाउपालिका का प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

ADV

सम्बन्धित खबर