२०८२ वैशाख २७ गते शनिवार / May 10 , 2025 , Saturday
२०८२ वैशाख २७ गते शनिवार
Ads

‘कर्णाली छोरी सम्मेलन’को सम्पूर्ण तयारी पूरा

पुर्ण कुमार
२०८२ वैशाख २६ गते २०:१५
‘कर्णाली छोरी सम्मेलन’को सम्पूर्ण तयारी पूरा

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शनिबारदेखि ‘कर्णाली छोरी सम्मेलन–२०८२’ सुरु हुँदैछ । 

ज्योति फाउण्डेसन र सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा सम्मेलन आयोजना गर्न लागिएको हो । तीन दिनसम्म चल्ने सम्मेलन २९ गते संचालन हुने भएको छ । कर्णालीमा पहिलो पटक छोरी सम्मेलन गर्न लागिएको हो । 

कर्णालीका छोरी सशक्तीकरण अभियानको माध्यमबाट सचेत, सवल, सक्षम तथा आत्मनिर्भर कर्णालीका छोरीहरूको निर्माण र विकासमा सघाउ पु¥याउनु सम्मेलनको मुख्य उद्देश्य रहेको ज्योती फाउण्डेसनका अध्यक्ष ज्योती कटुवालले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् । 

कर्णालीका छोरीहरूलाई आफ्नो हक र अधिकार बोध गराउने र तिनीहरूको जीवन रूपान्तरणको माध्यमबाट कर्णालीको उज्जल भविष्यको चित्र कोर्ने अभिप्रायले आयोजना हुन लागेको सम्मेलनमा कर्णाली प्रदेशका सम्पूर्ण ७९ वटा स्थानीय तहबाट २/२ जना प्रतिनिधिहरू तथा सीमान्तकृत र लोपोन्मुख राउटे, राजी, बादी र बोटे समुदायबाटथप दुई दुई जना गरी करिब २ सय जना छोरीहरूको सहभागिता रहनेछ ।

आ–आफ्नो स्थानीय तह, क्षेत्र तथा समुदायको प्रतिनिधित्व गर्ने छोरीहरूले यस सम्मेलनमार्फत आफ्ना आवाजहरू मुखरित गर्ने अवसर पाउने छन् । सम्मेलनमा हरेक दिन छोरीका मनका कुरा, प्रवचन तथा बहस कार्यक्रमहरू संचालन हुनेछन् । 

‘छोरीका मनका कुरा’ शीर्षकमा सहभागी छोरीहरूले आफ्ना भोगाइहरू सुनाउने छन् । यसका साथै सिर्जनशील छोरीहरूलाई उनको प्रतिभा प्रस्तुत गर्ने अवसर पनि प्रदान गरिनेछ ।

कार्यक्रममा ‘छोरीहरूको जीवन रूपान्तरण’ शीर्षकमा विज्ञ व्यक्तित्वबाट व्याख्या, विश्लेषण हुनेछ । सम्मेलनमा हरेक दिन विभिन्न शीर्षकमा बहस सत्रहरू संचालन हुनेछन् । बहसका विषयहरू छोरीहरूको सशक्तीकरण र जीवन रूपान्तरणसँग सम्बन्धित हुनेछन् । बहस सत्रहरूहरूमा राजनीतिमा कर्णालीका छोरी, शिक्षित छोरी किन जरूरी, स्वस्थ छोरी, स्वस्थ कर्णाली, कर्णालीका सारथि, कानुनी सेवामा कर्णालीका छोरी, कर्णालीका खेलाडी छोरी, महिनावारीका सकस, आमाका कुरा, महिनावारीको सकस, हामी सक्छौं तथा कर्णालीका कोइली, कर्णालीका न्याउली शीर्षकहरूमा बहस हुनेछ ।

बहस सत्रहरूमा वक्ता तथा सहजकर्ताका रुपमा विषय विज्ञ व्यक्तित्वहरूको सहभागिता रहने छ । प्रायः सबै सत्रहरूमा कर्णालीलाई जन्मथलो, थातथलो र कर्मथलो बनाउने कर्णालीका सन्ततीहरूलाई मौका दिइने छ । यसपटक मौका नपाएका कर्णालीका छोरीहरूले अर्कोपटक मौका पाउने आयोजकले जनाएको छ ।

ADV

सम्बन्धित खबर