काठमाडौँ : काठमाडौँको गोकर्णेश्वर नगरपालिकालाई ‘योग नगर’ घोषणा गरिएको छ ।
प्रतिनिधि सभा अर्थ समिति सभापति सन्तोष चालिसे र नगर प्रमुख दीपककुमार रिसाललगायतले स्थानीय गराडोलमा आज आयोजित कार्यक्रममा ‘योग नगर’को औपचारिक घोषणा गरे ।
सो अवसरमा सभापति चालिसेले विश्वभर विभिन्न नयाँ–नयाँ रोग फैलिएका र अशान्ति बढिरहेका बेला मानिसलाई त्यसबाट मुक्ति दिलाउन योगाभ्यास महत्त्वपूर्ण विधि हुनसक्ने धारणा राखे ।
गोकर्णेश्वर नगरपालिकाले जनस्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको अवस्थामा आगामी दिनमा योग र ध्यानलाई उच्च महत्त्व दिइने नगर प्रमुख रिसालले बताए ।
योगगुरुहरुको सहभागिता रहेको सो कार्यक्रममा पतञ्जली योग समिति नेपालका शंकर योगी र अर्जना घिमिरेले योग साधना र ध्यानबारे प्रशिक्षणसहित जानकारी गराएका थिइन्।
उक्त नगरपालिकाका नौ वटै वडाका ४० योग केन्द्रमा नियमित योगाभ्यास हुने गरेको छ । नेपालमा पतञ्जली, जीवन विज्ञान, आर्ट अफ लिभिङ, ओशो, ब्रह्मकुमारी राजयोगलगायतका संस्थाले नियमित ध्यान र योग सिकाउँदै आएका छन् ।
योगाभ्यासले मानिसलाई शारीरिक स्वास्थ्य मात्र नभई अनुशासित बनाउँछ । पछिल्लो समय बढ्दो सहरीकरण र मिसावटयुक्त खानेकुराले अनेक रोग देखा परिरहेको अवस्थामा त्यसका निदानका लागि योग अभ्यासको महत्त्व दिनानुदिन बढिरहेको छ ।
यसअघि भक्तपुरलाई ‘योग जिल्ला’ र ललितपुरको गोदावरीलाई ‘योग नगर’ घोषणा गरिएको थियो । नेपालले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउँदै आएको छ । अन्तरराष्ट्रियरुपमा जुन २१ का दिन योग दिवस मनाइने गरिन्छ । नेपाल भूमिमा ऋषिमुनिले समेत योगाभ्यास र साधना गरेकाले योग भूमि भएको विश्वास गरिँदै आएको छ ।