काठमाडौं : पाकिस्तान र भारतले जारी युद्धलाई अन्त्इ गर्दै युद्धविरामको सहमति गरेको छ । दुवै देशका अधिकारीले युद्धविरामको सहमति भएको जानकारी दिए ।
पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले पूर्ण र तत्काल युद्धविराममा सहमत भएको बताएका छन् । दारले एक्समा लेखेका छन्, ‘पाकिस्तान र भारत पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन् । पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस क्षेत्रमा शान्ति र सुरक्षाको लागि प्रयासरत रहेको छ ।’
यस्तै, भारतका विदेश सचिव विक्रम मिश्रीले पनि युद्धविराम भएको बताएका छन् । उनले पत्रकार सम्मेलनमार्फत दुई देशबीच युद्धविरामको सहमत भएको जानकारी दिए ।
त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको बताए । उनले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन् ।
ट्रम्पले भनेका छन्, ‘संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराम गर्न सहमत भएका छन् । दुवै देशलाई साझा समझदारी र उच्च बुद्धिमत्ताको प्रयोग गरेकोमा बधाई छ ।’
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि यसबारे जानकारी दिएका छन् ।
भारतीय विदेश मन्त्री मिसरीले पाकिस्तानको डाइरेक्टर जनरल अफ मिलिट्री अपरेसन्सले फोन गरेर संघर्षविरामका लागि अनुरोध गरेको जानकारी दिए । उनले भने, ‘पाकिस्तानको डाइरेक्टर जनरल अफ मिलिट्री अपरेसन्सले भारतीय समयअनुसार अपराह्न ३ बजेर ३५ मिनेटमा भारतको डाइरेक्टर जनरल अफ मिलिट्री अपरेसन्सलाई फोन गरेको थियो। दुवै पक्षबीच साँझ पाँच बजेदेखि सबैखाले गोलीबारी र सैन्य कारबाही रोक्ने समझदारी बन्यो।’
दुवै देशका डाइरेक्टर जनरल अफ मिलिट्री अपरेसन्सले १२ मेका दिन अपराह्न १२ बजे पुनः कुरा गर्ने छ ।
पहलगाम आक्रमणको जवाफमा भारतले ७ मेमा पाकिस्तानमा आक्रमण गरेपछि दुवै पक्षबीच तनाव बढेको थियो। पाकिस्तानस्थित ९ आतंकवादी अड्डाहरूमा आक्रमण गरेर ध्वस्त पारिएको दाबी भारतले गरेको थियो। यो आक्रमणमा ती अड्डामा बस्दै आएका आतंकवादीहरूको मृत्यु भएको भारतीय पक्षले दाबी गरेको थियो।
भारतीय आक्रमणको प्रतिकारस्वरूप पाकिस्तानले बिहीबार र शुक्रबार राति भारतका पञ्जाब, जम्मु–कश्मीर, गुजरात, राजस्थानलगायतका सहरमा ड्रोन तथा मिसाइल आक्रमण गरेको थियो। यसका साथै पाकिस्तानले सीमा क्षेत्रका केही गाउँहरूमा सर्वसाधारणलाई लक्षित गरेर आक्रमण गरेको भारतले दाबी गरेको थियो।
पाकिस्तानका तर्फबाट भएका ड्रोन र मिसाइललाई नष्ट पारिएको भारतको दाबी छ। पाकिस्तानले तीन सयभन्दा बढी ड्रोन आक्रमण गरे पनि त्यसले कुनै क्षति पुर्याउन नसकेको भारतको दाबी छ।
दक्षिण एसियाका दुई छिमेकी मुलुक भारत–पाकिस्तानबीच तनाव बढ्दै गएपछि संघर्षविरामका लागि अमेरिका, बेलायत, युरोपियन युनियन, खाडीलगायतका मुलुकहरूले आग्रह गरेको थियो।
पछिल्लो समय बढेको तनावकाबीच परमाणु हतियारसम्पन्न दुवै मुलुक आआफ्नो सैन्य शक्ति परीक्षणसमेत गर्न चाहेका थिए। जानकारहरूका अनुसार पहलगाम आक्रमण र त्यसपछि भारतले पाकिस्तानस्थित आतंकवादी अड्डाहरूमा गरेको आक्रमणपछि बढेको तनावका बीच दुवै मुलुके आफ्नो सैन्य तागत परीक्षण गरेका छन्।
दुई दिनदेखि जारी गोलीबारी र हवाई आक्रमणहरूमा पाकिस्तानले ठूलो क्षति बेहोर्नुपरेको भारतले दाबी गरेको छ। पछिल्लो दुई दिनमा पाकिस्तानका चारभन्दा बढी एयर बेसमा आक्रमण गरेर क्षति पु¥याइएको भारतको भनाइ छ।
यता पाकिस्तानले पनि भारतका सैन्य स्थलहरूमा क्षति पुगेको दाबी गरेको छ। यद्यपि भारतले भने पाकिस्तानको भनाइलाई खारेज गरेको छ।
अन्ततः दुवै मुलुक संघर्षविरामका लागि तयार भएपछि पछिल्ला केही दिनदेखि जारी तनाव अन्त्य हुने अपेक्षा गरिएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान पूर्ण एवं तत्काल युद्धविरामका लागि सहमति जनाएको बताएका थिए। ट्रम्पले शनिबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा यस्तो बताएका थिए।
उनले भनेका छन्, ‘अमेरिकाको मध्यस्थतामा भएको लामो कुराकानीपछि भारत र पाकिस्तान पूर्ण एवं तत्काल युद्धविरामका लागि सहमत भएको घोषणा गर्न पाउँदा खुसी लागेको छ।’
पाकिस्तानका उपप्रधान एवं परराष्ट्रमन्त्री इसहाक डारले पनि पाकिस्तान र भारत पूर्ण एवं तत्काल संघर्षविरामका लागि राजी भएको बताएका छन्।
डारले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘पाकिस्तन र भारत तत्काल संघर्षविराम गर्न तयार भएको छ। पाकिस्तान सधैँ सम्प्रभुता र क्षेत्रीय अखण्डतासँगै विना सम्झौता क्षेत्रमा शान्ति र सुरक्षा चाहन्छ।’