२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

महामारीले ल्याउने संकट

ADV
२०८१ असार २४ गते ०६:२५
महामारीले ल्याउने संकट

–डा अमृत बस्नेत

महामारी भनेको एउटा रोग वा सङ्क्रमण हो, जसले विश्वव्यापी स्तरमा वा ठुलो भौगोलिक क्षेत्रमा तीव्र रूपमा फैलिन्छ र धेरै संख्यामा मानिसलाई प्रभावित पार्छ । यसमा सामान्यतयाः नयाँ सङ्क्रामक रोग समावेश हुन्छन्, जसमा मानिससँग सङ्क्रमणसँग लड्ने प्रतिरक्षा कमजोर हुन्छ, जसले गर्दा व्यापक बिरामी÷अस्वस्थ गराउँछ । महामारीले धेरै देशहरू वा महादेशलाई समेट्न सक्छ र रोगको फैलावटलाई नियन्त्रण गर्न र व्यवस्थापन गर्न अन्तर्राष्ट्रियस्तरमा समन्वित प्रतिक्रिया आवश्यक पर्छ । 

महामारीको घोषणा विश्व स्वास्थ्य सङ्गठनद्वारा गरिन्छ । जब कुनै महामारी विभिन्न देशहरूमा व्यापक रूपमा फैलिन्छ र नियन्त्रण गर्न चुनौतीपूर्ण हुन्छ । महामारीले मानव जनसङख्यालाई गहिरो रूपमा प्रभाव पार्छ । विगतमा यस्ता थुप्रै महामारीहरु भएका छन् । सन् १६५–१८०को एन्टोनिन प्लेग, सन् ५४१–५४२मा जस्टिनियन प्लेग, सन् ७३५–७३७ को जापनिज स्माल पक्स, सन् १३४७–१३५१ को ब्ल्याक डेथ महामारी, सन् १६२९–१६३१ को इटालियन प्लेग, सन् १९६५–१६६६ को ग्रेट प्लेग अफ लन्डन महामारी भएको थियो । यस्तै सन् १८१७–१९२३ को पहिलो हैजा, सन् १८२७–१८३५को दोस्रो हैजा महामारी, सन् १८३९–१८५६ को तेस्रो हैजा, सन् १८६३–१८७५ को चौथो हैजा महामारी, सन् १८८१–१८८६ को पाँचौं हैजा महामारी, सन् १८८९–१८९० को रसियन फ्लू र सन् १८९९–१९३३ को छैठो हैजा महामारी भएको थियो । 

सन् १९१८–१९१९ को स्प्यानिस फ्लू, सन् १९५७–१९५८ को एसियन फ्लू, सन् १९६१ देखि वर्तमानसम्म सातौँ हैजा, सन् १९६८–१९७० को हङकङ फ्लु, सन् १९८१ देखि वर्तमानसम्म एचआइभी एड्स, सन् २००२–२००३ को सार्स कोरोना भाइरस–१, सन् २००९–२०१० को स्वाइन फ्लु, सन् २०१४–२०१६ को इबोला, सन् २०१५ देखि वर्तमानसम्म मर्स महामारी रसन् २०१९ देखि वर्तमानसम्म कोभिड–१९ महामारीलाई लिन सकिन्छ । 

महामारीको कारण आर्थिक गतिविधिमा उल्लेखनीय मन्दी आउन सक्छ । धेरै व्यवसायहरू, विशेषगरी साना व्यवसायहरू बन्द हुन सक्छन्, जसले व्यापक रोजगारी गुमाउनु र बेरोजगारी दरमा वृद्धि गराउँछ । लकडाउन, क्वारेनटाइन र आइसोलेसन जस्ता उपायहरूले सामाजिक एकान्तमा वृद्धि गर्छन्, जसले मानसिक स्वास्थ्यलाई असर गर्छ र मानसिक समस्याहरू जस्तै मन आत्तिने, चिन्ता र डिप्रेसनको घटनाहरू वृद्धि गर्छ । विद्यालय बन्दले शिक्षा प्रणालीमा अवरोध पु¥याउँछ । महामारीले प्रायः सार्वजनिक स्वास्थ्य नीतिहरू, आर्थिक प्रोत्साहन प्याकेजहरू र स्वास्थ्य सेवा नियमहरूमा परिवर्तनहरू सहित महत्त्वपूर्ण सरकारी हस्तक्षेपहरू निम्त्याउँछ । 

महामारीको कमजोर व्यवस्थापनले राजनीतिक अस्थिरता र नेतृत्वमा परिवर्तन ल्याउन सक्छ । घटाइएको औद्योगिक गतिविधि र यातायातले प्रदूषण र हरित गृह ग्यास उत्सर्जनमा अस्थायी कमी ल्याउन सक्छ । ठुलो जमघट समावेश गर्ने सांस्कृतिक र धार्मिक अभ्यासहरू परिवर्तन वा स्थगित हुन सक्छन्, जसले सामुदायिक र सांस्कृतिक जीवनलाई असर गर्न सक्छ । उपभोक्ता बानीहरूमा परिवर्तनहरू जस्तै डिजिटल प्लेटफर्महरू–ई–सेवा, फोन पे, खल्ती र ई–बैंकिङमा बढेको निर्भरता, महामारी पछि पनि जारी रहन सक्छ । यसले दूर दराजका मानिसहरूमा समस्या उत्पन्न गराउन सक्छ । भाइरसको फैलावटलाई नियन्त्रण गर्न निगरानी प्रविधिहरूको प्रयोगले तथ्याङ्क गोपनीयता र नागरिक स्वतन्त्रताहरूको बारेमा चिन्ता बढाउन सक्छ । 

महामारीहरूले स्वास्थ्य क्षेत्र र चिकित्सकमा ठुलो दबाब पार्ने हुँदा स्वास्थ्य सेवा प्रणालीको बलियो पक्ष र कमजोरीहरू दुवै उजागर हुन्छन् । महामारीलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न पर्याप्त, प्रशिक्षित र लचिलो स्वास्थ्यकर्मीहरूको टिम सुनिश्चित गर्नु महत्त्वपूर्ण छ । स्वास्थ्यकर्मीहरू, चिकित्सा विद्यार्थीहरू र स्वयंसेवकहरूलाई आवश्यक पर्दा परिचालन गर्न सकिन्छ । चिकित्सक स्वास्थ्यकर्मीहरूलाई सङ्क्रमण नियन्त्रण अभ्यास, उच्च गुणस्तरीय व्यक्तिगत सुरक्षा उपकरणको विश्वसनीय आपूर्ति सुनिश्चित गर्नुपर्दछ र यसको सही प्रयोगमा प्रशिक्षण दिनुपर्दछ । 

एक्काइसौँ शताब्दीको वैज्ञानिक एआई युगमा सबै देशहरूसँग आ–आफ्नो हैसियतअनुसारका हातहतियारहरू छन् । त्यसैले विश्वका महाशक्ति राष्ट्रहरूले महामारीलाई हतियार बनाएर विश्व आर्थिक युद्धमा होमिन अनेक प्रयास र गुरु योजनामा तल्लीन रहेका छन् । कोभिड–१९ पनि यसको एउटा ज्वलन्त उदाहरण हो । संयुक्त राज्य अमेरिका र चीनबिचको विश्व आर्थिक टकरावले गर्दा सन् २०१९ मा कोभिड–१९ महामारी ल्याइएको अनुमान गर्न सकिन्छ । विश्व आर्थिक टकरावले सन् २०३० मा फेरि नयाँ महामारी ल्याइने अनुमान गर्न सकिन्छ । चीन, रसिया र संयुक्त राज्य अमेरिकाबिचको विश्व आर्थिक टकराव र बदलिँदो विश्व भूराजनीतिक ध्रुवीकरणको कारण त्यो अवस्था नआउला भन्न सकिन्न । त्यति बेला पनि नेपाल जस्तै अन्य विकासशील देशहरू फेरि चेपुवामा पर्न सक्नेछन् । महामारीमार्फत विश्वका महाशक्ति राष्ट्रहरूले आफ्नो अर्थतन्त्रलाई बलियो र अरू महाशक्ति राष्ट्रहरूको अर्थतन्त्रलाई धराशायी बनाउने माध्यमका रूपमा लिइरहेका छन् । 

कोभिड–१९ महामारीको समयमा नेपालको स्वास्थ्य क्षेत्र र जनजीवनहरू एकदम भयावह, नाजुक र धराशायी स्थितिमा थियो । पर्याप्त सदन कक्ष, आवश्यक अक्सिजन आपूर्ति, चिकित्सक, स्वास्थ्यकर्मी, अत्यावश्यक चिकित्सा उपकरणहरू र औषधिहरूको चरम अभाव थियो । नेपालले त्यस समयलाई ध्यानमा राख्दै समयमै भविष्यमा देखा पर्ने महामारीहरू विरुद्ध पूर्व तयारीका अभ्यासहरू (रोकथाम, नियन्त्रणका उपायहरू) पहल गरी कार्यान्वयन गरेमा आगामी दिनमा सबै क्षेत्रका जनतालाई समान रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सहज हुनसक्छ । यसले मृत्युदर कम गर्न पनि मद्दत गर्नेछ । नेपालले यी तथ्यहरूलाई समग्र तयारी रणनीतिमा समाहित गरी विभिन्न देशहरू र अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरूसँग समन्वय गरेर महामारीहरूको सामना गर्न आफ्नो लचिलोपन र क्षमता वृद्धि गर्नुपर्दछ, जसले स्वास्थ्य, अर्थतन्त्र र समाजमा महामारीको सम्भावित प्रभावलाई कम गर्न मद्दत गर्दछ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise