२०८१ पुष ८ गते सोमवार / Dec 23 , 2024 , Monday
२०८१ पुष ८ गते सोमवार

जनकपुरधामको वैभव फर्काउने सवाल

ADV
२०८१ असार २४ गते ०६:३०
जनकपुरधामको वैभव फर्काउने सवाल

–ललितकुमार यादव

जनकपुरधामको गौरवशाली इतिहासलाई वर्तमानमा कसरी परिणत गर्न सकिएला ? जनकपुरधामवासीका लागि यति बेला मुख्य चिन्ताको विषय यही हो । ऐतिहासिक तथा पौराणिक कालको कुरा गर्ने हो भने जनकपुरधाम हरेक क्षेत्रमा दक्षिण एसियाकै अग्रणी सहर थियो । आजभन्दा २५–३० वर्ष अघिकै कुरा गर्दा पनि नेपालका पाँच वटा ठुला तथा सुविधा सम्पन्न सहरहरूको सूचीमा जनकपुरधामको नाम थियो । काठमाडौँ र विराटनगरपछि तेस्रो नम्बरमा जनकपुरधाम थियो । 

वि.सं. २०१७ सालमा जनकपुर नगरपालिकाको घोषणा हुँदा भरतपुरको नाम निशान थिएन । इटहरी भन्ने ठाउँमा बस्ती नै थिएन । पोखरासमेत सानो गाउँ थियो । वीरगन्ज भर्खर सहरीकरण हुँदै थियो । तर, अहिले अरू सहर कहाँ पुगे ? तर, जनकपुरधामको थप पछाडि प¥यो । जनकपुरधाम पछाडि गर्नुको कारण खोजेर समस्या समाधानतिर लागिएन भने जनकपुरधामवासीका लागि विगतको गौरवमय इतिहासमा गर्व गर्नु बाहेकको विकल्प रहँदैन । तर, अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गुरुयोजना बनाएर काम गर्न सकिएमा जनकपुरधामलाई सुन्दर, स्वच्छ र समृद्ध महानगर बनाउन सकिन्छ ।

संक्षिप्त परिचय

जनकपुरधाम मधेस प्रदेशको प्रादेशिक राजधानी, धनुषा जिल्लाको जिल्ला सदरमुकाम र नेपालको एक उपमहानगरपालिका हो । धनुषा जिल्लाको पहिलो नगरपालिका हो । यो नगरको नामकरण प्राचीन मिथिला क्षेत्रका राजर्षि राजा तथा नेपालको राष्ट्रिय विभूति जनकको नामबाट भएको हो । यो सहर प्रारम्भिक १८औं शताब्दीमा स्थापित भएको थियो । 

परम्पराअनुसार, कथाकारले यस क्षेत्रमा पहिले जनकपुरधाम भनेर चिनिने सहर रहेको संकेत गर्दछ । जुन पुरातन समयमा मिथिला क्षेत्रमा शासन गर्ने विदेह वंशको राजधानी थियो । जनकपुरधाम राजर्षि जनकको पूण्यभूमि र माता जानकीको पवित्र जन्मस्थलको रूपमा देश विदेशमा परिचित छ ।

जनकपुरधाम नेपालको सङ्घीय राजधानी काठमाडौँबाट करिब २२५ किलोमिटर (१४० माइल) दक्षिण पूर्वमा अवस्थित छ । नेपाल राज्य नगरपालिका ऐन २००९ बमोजिम तत्कालीन श्री ५ को सरकारद्वारा वि.सं. २०१७ जेठ १३ गतेदेखि लागु हुने गरी जनकपुर नगरपालिकाको गठन गरिएको थियो । वि.सं. २०७१ सालबाट यस नगरपालिकाको नाम जनकपुरधाम कायम रही उप–महानगरपालिकामा परिणत भएको हो । समुद्री सतहबाट ९० मिटर उचाइमा यो सहर अवस्थित छ । यस उपमहानगरपालिकाको क्षेत्रफल ९१.९७ वर्ग कि.मि. रहनुका साथै भू–सतह प्रायः सबै समतल रहेको छ । भौतिक पूर्वाधारका आधारमा जनकपुरधामलाई सहर, सहरोन्मुख र गाउँ गरी तीन प्रकृतिको क्षेत्रमा वर्गीकरण गर्न सकिन्छ ।

शिक्षा

प्राचीन कालदेखि नै शिक्षाको लागि जनकपुरधाम उर्वर भूमि मानिन्छ । व्यास, पाणिनी, अष्टावक्रलगायतका ऋषि र प्रसिद्ध कवि विद्यापतिको ज्ञान भूमिको रूपमा जनकपुर परिचित छ । राजर्षि जनकले विभिन्न ऋषिसँग जिज्ञासुका रूपमा शास्त्रार्थ गर्ने क्रममा जनकपुरधाममा जे–जति ज्ञान प्राप्त गरे, त्यसलाई जनक दर्शन भनिन्छ । प्राचीनकालदेखि नै ज्ञान विज्ञान, धर्म दर्शन र कला संस्कृतिका क्षेत्रमा जनकपुरधाम प्रसिद्ध स्थल हो । विश्वका विभिन्न ठाउँका मानिस जनकपुरधाममा शिक्षा आर्जन गर्न आउँथे । 

जनकपुरधाममा प्रशस्तै सरकारी तथा निजी विद्यालयहरू छन् । उच्च शिक्षाको लागि पुरानो सरकारी क्याम्पस राम स्वरूप राम सागर बहुमुखी क्याम्पस तथा राजर्षि जनक विश्वविद्यालय छ । तर, शिक्षामा बढ्दो व्यापारिकरणले जनकपुरधामको शिक्षाको स्तर खस्किएको तथा शैक्षिक वातावरणमा नकारात्मक असर परेको छ । जनकपुरधामलाई शैक्षिक केन्द्रको रूपमा विकास गर्न मूलतः गुणस्तरीय, सर्वसुलभ र जीवनोपयोगी शिक्षा दिने तर्फ उपमहानगरले काम अगाडी बढाउनु पर्ने देखिन्छ । सार्वजनिक शिक्षाको गुणस्तरमा सुधार, सरकारी शिक्षालयको भौतिक संरचनाको स्तरोन्नति सँगसँगै शैक्षिक सामाग्रीको व्यवस्थापन, आईसिटीमा आधारित शिक्षामा जोड दिनुपर्छ । शिक्षकहरूको क्षमता विकासका लागि समय समयमा शैक्षिक तालिम र भ्रमणको व्यवस्था मिलाउन सकिन्छ । 

स्वास्थ्य

स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष महत्वका साथ हेर्नुपर्छ । आफ्ना हरेक नगरवासीले सर्वसुलभ, गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गरेका छन् की छैनन्, भन्ने कुराको ख्याल गर्नुपर्छ । जनकपुरधाममा प्रादेशिक अस्पताल, प्रादेशिक प्रयोगशाला र सरकारी आँखा अस्पताल रहेकै भरमा बस्नु हुँदैन । हरेक नागरिकले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाएको अवस्थाको सिर्जना गर्न सक्नुपर्छ । बढ्दो जनसंख्याको चापलाई ध्यानमा राखेर हाल सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरूको स्तरोन्नति सँगसँगै सेवाको विस्तार पनि गर्दै जानुपर्छ । हरेक नागरिकको स्वास्थ्य बिमा गरी सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने स्वास्थ नीति बनाउन अत्यावश्यक छ । भविष्यमा जनकपुरधाममा बढ्न सक्ने जनसङ्ख्यालाई धान्न सक्ने गरी अहिलेदेखि नै स्वास्थ्य सेवा र संरचनाको विस्तार र विकास गर्दै जानुपर्छ । 

यातायात

जनकपुरधामलाई देशका प्रमुख सहरहरूसँग जोडने काम जनकपुर–ढल्केवर ६ लेनको सडक ढल्केवरमा पूर्व–पश्चिम राजमार्गसँग जोडिएर पुरा गरेको छ । भारतीय नाकासँग जोडने काम जनकपुर–जटही सडक, जनकपुर–विर्तामोड सडक र नेपाल रेल्वे लगायतले गरेको छ । हुलाकी राजमार्गले समेत जनकपुरधामलाई छोएको छ । उपमहानगरभित्र सामान्य आवतजावतको लागी विद्युतीय रिक्सा उपलब्ध छ । यहाँ रहेको आन्तरिक विमानस्थलले जनकपुरधामलाई हवाई सेवासँग जोडेको छ । 

उपमहानगरभित्र आवतजावतलाई अझ सहज बनाउन नगर बस र टेक्सी सञ्चालनमा ल्याउन सकिन्छ । प्रदेश र सङ्घीय सरकारसँगको सहकार्यमा जनकपुरधामको हवाई सेवाको विकास तथा विस्तार गर्न सकिन्छ ।जनकपुरधामलाई नेपालका प्रमुख सहरहरूसँगै भारतको बनारस र अयोध्यासँग हवाई सेवा मार्फत सिधै जोड्न सकिन्छ । रेल्वे सेवाको विस्तारले जनकपुरधामको आवतजावतलाई झन् सहज बनाउँछ । बढ्दो बस, मिनी बस, माइक्रो लगायतका सवारी साधनलाई व्यवस्थित पार्क गर्ने गरी आधुनिक र सफा बसपार्क उपमहानगरमा छैन । यसलाई मध्यनजर गरेर मुख्य बसपार्क एउटा र अन्य केही सुविधा सम्पन्न बसपार्क जनकपुरधाममा निर्माण गर्न अत्यावश्यक छ ।

प्रविधिमैत्री

अहिलेको आधुनिक युगमा प्रविधिमैत्री हुन अत्यावश्यक भैसकेको छ । नागरवासीलाई प्रविधिकै माध्यमबाट सेवा र सूचना प्रदान गर्न उपमहानगरलाई सक्षम बन्नु पर्छ । यसका लागि डिजिटल जनकपुरधाम बनाउनु बनाउनु पर्नहुन्छ । जनकपुरधामको आफ्नै सर्भर सिस्टम डेभलप गर्ने, सोही सर्भर सिस्टमको प्रयोग गरेर उपमहानगरका सम्पूर्ण सेवाहरू नागरवासीलाई प्रदान गर्ने, स्थानीय तथ्याङ्क सङ्कलन र अभिलेखीकरणलाई डिजिटल बनाउने र त्यसकै आधारमा योजना बनाउने र कार्यान्वयन गर्ने लगायतका काम गर्नु पर्नहुन्छ । तर व्यक्तिगत गोपनीयताको ख्याल गर्नुपर्छ । यसमा कुनै कमजोरीको गुन्जाइस हुनु हुँदैन । 

सुशासनको लागि पारदर्शिता आवश्यक पर्छ । पारदर्शी हुन प्रविधिको प्रयोग बाहेक अर्को उपयुक्त विकल्प छैन । प्रविधिको प्रयोग गरेर सहज तरिकाले सेवा र सूचना प्रदान गर्ने संरचना तथा प्रणालीको विकास गरी उपमहानगरको काम कारबाहीलाई पारदर्शी बनाउन सकिन्छ । नगरमा सुशासन कायम गर्न सकिन्छ । सेवाग्राही घण्टौँ लाइनमा बसेर सेवा लिने, समयमा सही सूचना नपाउने, भनेको बेला अभिलेख नभेटिने लगायतका समस्याको समाधान डिजिटल जनकपुरधाम नै हो ।

आकर्षण र सौन्दर्यीकरण

जनकपुरधामको केन्द्रीय बजार भव्य जानकी मन्दिरले सुसज्जित छ । यो नेपालकै ठुलो मन्दिरमध्येको एक हो । जनकपुरधामको अर्को विशेषता यहाँ रहेका पोखरी तथा कुण्डहरू र कुटीहरू हुन् । बावन कुटी बहत्तर कुण्डको सहर भनेर जनकपुरधामलाई चिनिन्छ । यहाँ पाइलै पिच्छै रहेका मठमन्दिर र कुण्डले जनकपुरधामको आकर्षण बढाएको छ । यति धेरै आकर्षण भए पनि जनकपुरधामको सौन्दर्यीकरण अत्यावश्यक रहेको छ । जनकपुरधाममा रहेका मन्दिरहरूलाई सौन्दर्यीकरण गरी विश्वभरिका पर्यटकको ध्यान तान्न सकिन्छ । यहाँका पोखरीहरूलाई पानी पर्यटनको रूपमा विकास गर्न सकिन्छ । पोखरीका डिलहरूमा फूल र वृक्षा रोपन गरी हरित नगरीको रूपमा जनकपुरधामको विकास गर्न सकिन्छ । अन्य खालि ठाउँमा समेत व्यवस्थित पार्कको निर्माण गरी जनकपुरधामको वातावरणलाई स्वच्छ र सफा बनाउन सकिन्छ ।

नगरभित्र ठाउँ–ठाउँमा खालि ठाउँको व्यवस्था, अव्यवस्थित तारको भूमिगत व्यवस्थापन, फुटपाथ, ठेला र साइकलमा सञ्चालित अव्यवस्थित व्यापारको व्यवस्थापन, हाटबजारको व्यवस्थापन लगायतका कार्य गरी जनकपुरधामको बजार र सडक व्यवस्थापन गर्न सकिन्छ । सार्वजनिक स्थलहरूको भित्तामा मिथिला चित्रकला बनाउन लगाई सहरको सौन्दर्यीकरणका साथै मिथिला चित्रकलाको प्रचार प्रसार गर्न सकिन्छ । यहाँका ऐतिहासिक तथा पौराणिक सम्पदाको संरक्षण सम्वद्र्धन गरी जनकपुरधामलाई उत्कृष्ट पर्यटकीय एवम् धार्मिक गन्तव्यको रूपमा विकास गर्न सकिन्छ ।

कुनै पनि सहरको स्वच्छता, सुन्दरता र आकर्षण कायम राख्नमा सरसफाइ र फोहर व्यवस्थापनको ठुलो भूमिका रहन्छ । नगरवासीलाई फोहरलाई वर्गीकरण गरेर छुटाउन लगाउने र त्यसरी छुट्ट्याएको फोहरबाट विभिन्न ग्यास, प्रांगारिक मललगायत पुनः प्रयोगमा ल्याउन सक्ने सम्भाव्यताको अध्ययन गरी फोहर व्यवस्थापनको वैज्ञानिक र दीर्घकालीन समाधान खोज्न सकिन्छ । फोहरका एक टुक्रा पनि नदेखिने गरी सरसफाइको व्यवस्था उपमहानरले मिलाउनु पर्छ । नगरवासीलाई चेतना र सचेतनाका माध्यमले सरसफाइ तथा फोहर व्यवस्थापनमा अभ्यस्त गराउन सकिन्छ । फोहरलाई समस्याको रूपमा होइन हरेक फोहरबाट मोहर लिने गरी फोहरको व्यवस्थापन गर्नु पर्नहुन्छ । सरसफाइ र फोहर व्यवस्थापन गरी लामखुट्टेको समस्या समाधान गर्न सकिन्छ ।

निष्कर्ष

शिक्षा, स्वास्थ्य र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर नगर र नगरवासीको आर्थिक सबलीकरणको बाटोहरू पहिल्याउनु पर्छ । जनकपुरधामको सबल पक्षहरूको सदुपयोग गर्दै सुशासनको माध्यमबाट जनकपुरधामलाई विकासको बाटोमा डो¥याउनु पर्छ । जनकपुरधामको बढ्दो वस्ति विस्तार, औद्योगिक विस्तार, व्यापार व्यवसाय र बजार विस्तारलाई व्यवस्थित गर्दै सम्पदाहरूको संरक्षण र सम्वद्र्धन गरी महानगरको आधार तयार गर्न सकिन्छ । स्वच्छ र सुन्दर सँगसँगै जनकपुरधामलाई समृद्ध बनाउनु पर्ने आजको आवश्यकता हो । यसका लागि जनकपुरधामको भ्रमणमा आउने तीर्थयात्रीहरूलाई पर्यटकमा बदलिने योजना चाहिएको छ । जनकपुरधामलाई धेरै दिन बस्ने र धेरै पैसा खर्च गर्ने पर्यटक चाहिएको छ । वैभवशाली जनकपुरधामको वैभव फर्काउन सकिन्छ । जनकपुरधाम समृद्ध बन्न सक्छ । यसका लागि राजनीतिक इमानदारिता र विकासप्रतिको प्रतिबद्धता चाहिन्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise