–अच्युतप्रसाद पौडेल ‘चिन्तन’
हाम्रो लोकतन्त्र धेरै भोको छ, भोक लाग्न साथ हल्लाखल्ला गरिहाल्छ । अब पर्सि २८ गते संसद्मा उसले आफ्नो नयाँ चरित्र पनि देखाउँदैछ । १६ महिनामा चार पल्ट विश्वासको मत लिने÷दिने लोकतन्त्रले अहिले अर्को विश्वासको मत माग्दैछ । जब सुशासनको शब्द सुनिन्छ सडकमा लोकतन्त्र ढल्न खोज्छ, मध्यरातमै ढल्न खोजेको लोकतन्त्रलाई पुनर्जीवन दिनु परेको छ । अत्यायो मनसुनले दुई दिनमा झन्डै सय जना निल्ने मनसुन कोहीदेखि डराउँदैन । काठमाडौँमा पनि जताततै पस्यो । बालेनको डोजरको आँखा छैन, उसले कुन पद अनि कुन ओहदा देख्दैन तर, संसद्मा चाहिँ बेचनले बेचैन गरिदिन सक्ने लोकतन्त्र छ हामीकहाँ ।
हाम्रो लोकतन्त्रले अतीतदेखि सहिष्णु रूपमा बसेको समाजलाई पचाउन सकेन । ‘भाइ फुटे गवाँँर लुटे’ भन्ने उखान त्यतिकै बनेको होइन । हाम्रो धर्म, संस्कृतिलाई बुझ्न नसक्दा सबैतिर फाटो छ अहिले । देशमा कुन धर्म राख्ने भन्ने विषयमा जनमत सङ्ग्रह गरिएन । धर्मभिरु देशमा, विश्वकै एक मात्र हिन्दु धर्म भएको देशमा विदेशीको इसारामा धर्म निरपेक्षता लादियो । अमेरिकी राष्ट्रपतिले शपथ लिँदा बाइबल छुन्छन्, यहाँ शपथ लिँदा वेद र गीता लिनुपर्ने तर, त्यो पर्दैन भन्छन् । संविधान लेख्नुअघि लोकमत बुझ्ने भनियो, मत बुझ्न हिँडेको पनि हो तर, जम्मा भएका विचारका पोका भने खोलिएनन् ।
धार्मिक राजधानी खास गरी हिन्दु धर्मको विश्वको राजधानी हुन सक्ने देश नेपालमा झन्डै डेढ अर्ब हिन्दुहरूको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिर रहेको छ । बुद्ध जन्मस्थल लुम्बिनी यहीँ छ, जीवनमा एक पटक यहाँ पर्यटकहरू आउँदा पनि हाम्रो बाह्य पर्यटकको संख्या वृद्धि हुने र विदेशी रकम आय आर्जन गर्न सकिन्छ । भारतमा रहेका अनेकौँ तीर्थ, धामहरूको भ्रमण गर्दा शिर छोडी पीठमा आएको भन्दै उनीहरू गिज्याउने गरेको देखिन्छ । संघीयतामा प्रवेश गरेसँगै स्थानीय तहमा सार्वजनिक निकायहरूले विषयगत बिदा दिने होडबाजी छ । चार नारायण रहेका क्षेत्रहरू बुढानीलकण्ठ, शेष नारायण, इचँगु, चाँगु नारायण आदि क्षेत्रमा हरिबोधिनी एकादशी भन्दै बिदाको घोषण गरे । सरकारी एउटा निकाय बन्द हुने अन्य निकाय खुल्ने संस्कृतिले जनता नै अन्यौलता हुन्छन्, एकताको सन्देश पनि जाँदैन । अपाच्य यस्ता धेरै कुरा हाम्रो लोकतन्त्रले सहन सक्दैन ।
सत्ता परिवर्तन हाम्रो लोकतन्त्रको भारी विशेषता हो, असारमा विकास खर्च र माटो छोप्ने लोकतन्त्रले धेरै ठूलो बेरुजु देखाएको छ । भ्रष्टाचारमा लिप्त लोकतन्त्रका अनुयायीहरू निलम्बनमा छन् । मेयर उपमेयर जोडी नै भ्रष्टाचारमा पर्नु मात्रै होइन मुख्य सचिवदेखि गृह सचिव, गृहमन्त्रीलगायतका पनि मुद्दा खेप्ने देश हो यो ।
मिलेर बसेको समाजमा हामी स्वयम्भू पुग्छौँ, बौद्धनाथ पुग्नेहरू पशुपति पुग्छन् । आन्तरिक पर्यटन, धार्मिक पर्यटनका लागि पूर्वको पशुपति हलेसी चर्चित छ । पूर्वकै पाथीभरा पुग्न मानिस लालायित छन्, इलामको माइपोखरी, झापाको किच्चक बध्, सतासी धाम, धरानको दन्तकाली, बूढासुब्बा, महोत्तरीको जलेश्वर, धनुषाको जनकपुर, दोलखाको भीमसेनस्थान, कालिन्चोक पुग्न कसलाई मन नलाग्ला । दूर्गम क्षेत्रमा केबलकार, सुगममा राम्रो सडक, यातायात, सुरक्षित यात्रा गराउन सके हामी देशाटन गर्न सक्छौँ । विदेशीहरू चट्टान, हिमाल, गुफा, कन्दरा हेर्न यहाँ आउँछन्, हामी युरोपको सपना देख्छौँ, हाम्रा सन्ततिलाई भाँडा माझ्न खाडी पठाउँछौ । आय आर्जनका प्रशस्त सम्भावना हुँदा हुँदै विप्रेषणका लागि विदेश पठाउने, पासपोर्ट बनाइदिएर राजस्व बढाउन खटेर लागेको छ हाम्रो लोकतन्त्र ।
राजनीतिकर्मीहरूले धर्म, भाषा, जाति, लिङ्गको एजेन्डा उठाएर सत्ताको भर्याङ्ग चढ्ने गरे । जसको कारण राष्ट्रिय समन्वयको अभाव भयो । जसले देश बनायो, उसको नाम बिर्से, सालिक तोडे, तेरो मेरोको नयाँ संस्कृति हुर्काएर मल्लकालको जस्तो विषम परिवेश निर्माण गरे । हाम्रो लोकतन्त्रले कसैलाई मासु–भात कसैलाई पुर्पुरोमा हात गराएको छ । एजेन्डामा समाजवादको कुरा गरियो व्यवहारमा बिचौलियावाद भयो । दुर्गममा हवाई टिकट नपाएर सुत्केरी महिला छटपटिएर मर्ने गरेको तर, सुकिला मुकिलाहरू विदेश उपचार गर्ने त्यो पनि सरकारी पैसामा, आफू, आफन्त, साला, साली सबैलाई विदेश उपचार गराउने, स्वदेशमा गराए पनि दल विशेषमा रहेका निजी र महँगा अस्पतालमा गराउने परम्परा बसालियो । असली नेपाली या त दुर्गम रुझ्छ, भिज्छ, खोले फाँडो खान्छ या खाडीमा गएर भाँडा माझ्छ, तर, आलिसान महलमा राज गर्नेहरू निर्वाचनमा मात्र उनीहरूलाई सम्झन्छन् ।
धार्मिक पर्यटनका क्षेत्र लाखौँ छन् हामीकहाँ । गोरखाको मनकामनाले जे वरदान माग्यो त्यही दिने विश्वास छ, व्यास गुफा छ दमौलीमा, पोखराका ताल वाराही, विन्ध्यवासिनी, म्याग्दीको गलेश्वर, मुस्ताङको मुक्तिनाथ, सुर्खेतकी देउती बज्यै, बाजुराको बढिमालिका, खप्तड क्षेत्र, डडेलधुराको उग्र तारा, डोटीको शैलेश्वरी, बाँकेको बागेश्वरी, कञ्चनपुरको ब्रह्मदेव गनेर भ्याइँदैन यहाँ, भनौँ पुर्खाको उखान देश मन्दिरै मन्दिरको घर हो भनिन्छ । सलल बग्ने काल गण्डकी, कोसी, कर्णाली राजधानीका नदीनालाहरूले उपचार खोजेका छन् । तर हाम्रो देशलाई राजनैतिक रोग लागेको छ, लोकतन्त्रका संवाहकहरूले समयमै रोग निदान गरेनन् भने देशको अस्तित्व मेटिने छ, भविष्यका सन्ततिले श्राप गर्नेछन् । राजनैतिक, प्रशासनिक अङ्गहरूमा धमिरा लागेझैं सामाजिक संस्कृति, संस्कार, धर्ममा बेमेल ल्याउँदै जाने हो भने देश थप संकटमा पर्नेछ, अहिले नै कति ठाउँमा निषेधाज्ञा लगाउनु परेको छ । धर्मलाई छोड्दा व्यक्ति, समाज र पूरै राष्ट्र भ्रष्ट हुन्छ । अतः लहडबाजीमा विकृति निम्त्याउने लोकतन्त्रका संवाहक भनिएकाहरूले अतीतको गल्ती स्वीकार गरी पुनः राष्ट्रिय एकताको लागि पहल गर्नुपर्ने हो । तर, केवल सत्ताको लडाइँमा व्यस्त राजनीतिकर्मीहरूले देशलाई बिर्सेका छन्, आप्mनो दुनो सोझ्याउन मात्र लागेका छन्, नत्र उही आलोपालो नेतृत्व आफैँ गरेकै हो, दुनियाँ हँसाउन किन अहिले यत्रो लफडा गर्नुपर्थ्यो र आखिर काले काले मिलेर खाऊँ भाले नै हो । लोकतन्त्रको बेइज्जत भइसकेको छ ।
हाम्रो लोकतन्त्रले ‘प्रजा सुखे सुखं राजा’ भन्ने मान्यतालाई आत्मसात् गर्नै सकेन । यहाँ राजाको अर्थ हुन्छ राज्य र प्रजाको अर्थ हुन्छ, समस्त प्राणी, न मात्रै मानिस । जलवायुको परिवर्तनबारे संसारमा व्यापक बहस हुन्छ, प्राणी र प्रकृतिको माया नगरिएकाले जलवायुको समस्या निम्तिएको हो । दिनानुदिन मौसम बिग्रँदै छ, विकासको अवधारणा नै गलत भएको, प्रकृति दोहन बढेकाले यसो भएको हो । हाम्रो लोकतन्त्र लोभतन्त्रमा परिणत भएको छ, लोभै लोभले एकले अर्कालाई सिध्याउन तिर लागिएको अवस्था छ र त ‘लोका समस्ता सुखिनो भवन्तू’ भन्ने वैदिक अवधारणालाई बिर्सेको छ । वैदिक र देव भूमि नेपालमा वैदिक विषय बिर्सनु भनेको आत्मघाती कदम हो ।
सही लोकतन्त्रले लोकमा रहेका सबैको सुख र समृद्धिको अपेक्षा गर्छ । यो श्लोकको मूल मर्म पनि त्यही हो । राज्य भन्नु केवल भूमि मात्र होइन, माटो मात्र नभएर मुटु पनि हो । पश्चिमाको नुन खाएका कारण देशमा संकट थपिएको छ । दिल्ली र बेइजिङमा प्रदूषण बढेको छ, त्यसको मार यहाँ पर्ने नै भयो । दुवैले उन्नत विकास गरेका छन्, त्यसको प्रभाव भने यहाँ परेको छैन । इस्वी संवत् चारौँ शताब्दीका कौटिल्यको अर्थशास्त्रलाई मनन गरिएको छैन । जति खाए पनि नअघाउने हाम्रो लोकतन्त्र पाल्ने कसले हो स्पष्ट छैन, नागरिकहरू त बेचैन भइसकेका छन्, कर र तनावले ।