२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सामुदायिक वनमा चियाखेती

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असार २४ गते २१:४१
सामुदायिक वनमा चियाखेती

अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१०, सेङलेङको लालीगुराँस देउराली सामुदायिक वनमा व्यवसायिक चियाखेती शुरु भएको छ । बनमाराले अन्य जडिबुटी तथा घाँस समेत सखाप बनाइदिएपछि बनमारा हटाएर समुदायले चियाखेती शुरु गरेको हो । 

अर्घाखाँचीमै पहिलो पटक सेङलेङमा व्यवसायिक चियाखेती थालिएपछि स्थानीय हर्षित भएका छन् । भूमिकास्थान नगरपालिकाको समन्वय तथा सामुदायिक वनको २१ र निजी तर्फ १७ गरी ३८ रोपनी क्षेत्रफल जग्गामा ३२ हजार चियाका बिरुवा रोपिएको लालीगुराँस देउराली सामुदायिक वनका अध्यक्ष गिर बहादुर नेपालीले बताए  ।

समुद्री सतहदेखि २ हजार मिटर भन्दा बढी उचाइमा रहेको सेङलेङमा भूमिकास्थान नगरपालिकाले पर्यटन हबको रुपमा विकास गर्नेगरी काम समेत थालेको छ ।

प्राकृतिक रुपमा मनमोहक वातावरण रहेको उक्त स्थानमा चियाको बगान तयार भएपछि पर्यटकको आकर्षण थप बढेर जाने भूमिकास्थान नगरप्रमुख झविलाल थापाले जिकिर गरे । 

‘हामीले भूमिकास्थानलाई कृषि, पर्यटन, उद्योग र व्यापारको माध्यमबाट आर्थिक समृद्धि र आत्मनिर्भर पालिका बनाउने योजना बनाएका छौं’, नगरप्रमुख थापाले भने, ‘जसअनुसार कार्यक्रम लन्च भएका छन् ।’ कर्मशिल जनशक्तिमार्फत बाँझो जग्गामा व्यवसायिक कृषि, मकैको पोष्कर र थाकलको पातबाट टोपी र झोला निर्माण, सेङलेङ होमस्टेसहित पालिकाभर व्यवसायिक पर्यटकीय क्षेत्रको विकास नै नगरपालिकाको रोजगारी, उत्पादन र समृद्धिका आधार भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले बताए ।

गत वर्षदेखि शुरु भएको कर्मशिल जनशक्ति परिचालनमार्फत बाँझो जग्गामा व्यवसायिक कृषि, मकैको पोष्कर र थाकलको पातबाट निर्माण हुने टोपी, झोला र विद्यालयमा पढ्दै कमाउँदै रमाउँदै कार्यक्रमले हरेक नगरबासीलाई नैतिकवान र कर्मशिल बनाउँदै लग्ने नगरप्रमुख थापाको विश्वास छ । युवाहरुले देशछोडे भन्ने चिन्ता गर्नु भन्दा पहिला स्वदेशमै बस्ने वातावरण बनाउन सबै पक्ष एक भएर लाग्नुपर्नेमा नगरप्रमुख थापाको जोड रहेको छ । स्थानीयको जागरुकता र सामुहिक एकता देख्दा अर्घाखाँचीमै पहिलो चिया पकेट कार्यक्रमको रुपमा सेङलेङमा चियाखेती सफल हुनेमा आफु विश्वास्त रहेको भूमिकास्थानका प्रमुख प्रशासकीय अधिकृत नेपालीको विश्वास छ ।

बनमारा हटाएर चिया खेती लगाएका छौं, यसलाई प्रवद्र्धन गर्दै पर्यटकलाई आकर्षण गर्नेगरी बगान बनाउने सोचमा रहेको सेङलेङ होमस्टेका अध्यक्ष हिमनाथ खनालले बताए । भूमिकास्थानको सेङलेङ गाउँ शितोष्ण हावापानी भएको र पूर्वतर्फ फर्किएको जैविक विविधताले सम्पन्न नमूना गाउँ हो । जहाँबाट मनोरम हिमश्रृंखला, अग्ला पहाडदेखि बेसिसम्मका रोचक दृश्य देख्न र चिसो मौसमको आनन्द लिन सकिन्छ । पछिल्लो समय बढ्दै गएको गर्मी र मानविय उकुसमुकुसमा प्राकृतिक मनोरमपूर्ण सेङलेङ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको थलो बन्न थालेको छ ।

चैतेदशैंमा सराँय नाच सहितको मेला लाग्ने बराहदेवीको मन्दिर, सेङलेङ दह, पाथिभरा मन्दिर, सेङलेङ दह, चौर, नजिकै रहेको मसिनाको लेक, मृगस्थलीझरना, सिद्धगुफा पर्यटकीय आकर्षणको रुपमा रहँदै आएका छन् भने अब बन्ने चिया बगान पनि पर्यटकीय रोजाइमा पर्ने आँकलन गरिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise