कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ मा स्रोत नखुलेको ५ लाख भारतीय रुपैयाँसहित १ जना पक्राउ परेका छन् । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१० रानीवनका ४३ वर्षीय रामकुमार तोलाङ्गी ५ लाख भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले उनलाई झोलाभित्र लुकाइराखेको ५०० दरका १० गड्डी भारतीय नोटसहित पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।
यसैबीच प्रहरीले सीमा क्षेत्र भारतबाट गैरकानुनी रूपमा भित्र्याइएका १० लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामानहरू पनि बरामद गरेको छ ।
प्रहरीले कृष्णनगर नगरपालिका–६ स्थित भिल्मी चोकबाट १५० किलो चिनी बरामद गरेको छ । त्यस्तै महाराजगंज नगरपालिका–९ कुशाहवा बढनीमा दुईवटा मोटरसाइकलमा ल्याइरहेका ३ बोरा सुकेको रातो खुर्सानी, ३८ वटा ब्रोइलर कुखुरा र १९ प्याकेट पार्लेजी बिस्कुटसमेत प्रहरीले फेला पारेको छ ।
बरामद गरिएका सम्पूर्ण सामानहरू भन्सार कार्यालयमार्फत कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक ईश्वर लौडारीले जानकारी दिए ।