ताप्लेजुङ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को ११ औँ जिल्ला अधिवेशनले दुर्गा लिम्बूलाई सर्वसम्मतिमा अध्यक्ष चयन गरेको छ । जिल्ला उपाध्यक्षमा रामचन्द्र पोमु, महिला उपाध्यक्षमा देवीमाया नेपाली, सचिवमा मोहन न्यौपाने चुनिएका छन् ।
शुक्रबार सम्पन्न अधिवेशनले लिम्बूको नेतृत्वमा ४५ सदस्यीय जिल्ला समिति निर्विरोध गठन गरिएको हो । जिल्ला अधिवेशनको उद्घाटन पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले गरेका थिए ।
त्यस अवसरमा केन्द्रीय सचिव बलदेव चौधरी, निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल, कोशी प्रदेश कमिटी अध्यक्ष सरिता खड्का, विभिन्न पालिका र जिल्ला स्तरका पार्टीका कार्यकर्ता, अन्य दलका प्रतिनिधिको उपस्थिति थियो । सचिव न्यौपानेका अनुसार अधिवेशनमा जिल्लाका ६१ वटै वडाका २५० जना प्रतिनिधि सहभागी थिए ।