२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

गाउँमै विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर

Nada
२०८२ जेठ १० गते १४:५१
Shares
गाउँमै विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर

बागलुङ : यहाँको बरेङगाउँपालिका–३ बाटाकाचौरकी ८२ वर्षीया भागीरथी लुहारले बिहीबार गाउँमै विशेषज्ञ चिकित्सक भेटिन् । पेट दुख्ने समस्या लिएर स्वास्थ्य चौकी पुगेकी उनलाई चिकित्सकले आवश्यक जाँचपछि औषधि दिए । परिवारको सहारामा स्वास्थ्य चौकी पुगेकी लुहार खुशी भएर घर फर्किइन् । 

ncell

सोही ठाउँकै ७० वर्षीया विष्णु थापा पनि बिहीबार बिहानैदेखि बाटाकाचौर स्वास्थ्य चौकीको प्राङ्गणमा लाममा बसेर कन्सल्टेन्ट फिजिसियन डा.सन्दिप सापकोटासँग स्वास्थ्य जाँच गराए । डाक्टरले औषधि लेखिदिएपछि औषधि वितरण कक्षबाट औषधि लिएर खुसी हुँदै घर फर्किए।

स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य शिविरमा चिकित्सकहरू हेमन्त बास्तोला, सन्दिप सापकोटा, सन्दिप केसी, आशिष सापकोटालगायतले बिरामीको जाँच गरेका थिए। सन्तोष सुवेदीको नेतृत्वमा औषधि वितरण र आशिष शाक्यको नेतृत्वमा प्रयोगशाला सेवा सञ्चालन गरिएको थियो । शिविरमा बिरामीको भीड थियो ।

धौलागिरि प्रादेशिक अस्पताल बागलुङ र प्रादेशिक अस्पताल पर्वतका चिकित्सकहरूको विशेष उपस्थितिमा स्वास्थ्य चौकीमा विशेषज्ञ सेवा उपलब्ध शिविर बरेङ गाउँपालिकाले सञ्चालन गरेको हो । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको समन्वय, दुवै अस्पतालको प्राविधिक सहयोग र गाउँपालिका तथा वडा कार्यालयको आयोजनामा सम्पन्न शिविरबाट चार सय बढी बिरामीले सेवा लिएका छन् ।

शिविरमा आउने अधिकांश बिरामी सुगर, प्रेसरलगायत समस्या लिएर आएको डा हेमन्त बास्तोलाले बताए । शिविरमा हाडजोर्नी तथा नशा, सामान्य चिकित्सा, बाल रोग, महिला तथा प्रसूति रोग, भिडियो एक्सरे, प्रयोगशाला र नि:शुल्क औषधि वितरण गरिएको थियो ।

शिविरमा सहभागी अधिकांश ज्येष्ठ नागरिक, महिला तथा बालबालिका थिए । उनीहरूले गाउँमै प्रयोगशाला, भिडियो एक्सरेसहितको विशेषज्ञ सेवा लिए । गाउँ बस्तीका सर्वसाधारणको स्वास्थ्यसम्बन्धी समस्या पहिचान गर्ने, सर्ने तथा नसर्ने रोगको पहिचान र निदान गाउँमै गर्ने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए । केही समयअघि वडामा सञ्चालित शिविरमा विशेषज्ञ सेवा माग भएपछि शिविर आयोजना गरिएको वडाध्यक्ष शेरबहादुर खनालले बताए ।

स्वास्थ्य शिविर उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले सरकार नागरिकको स्वास्थ्यप्रति जिम्मेवार रहेको बताए। उनले नागरिकको नजिक विशेषज्ञ सेवा पुर्‍याउने प्रदेश सरकारले काम गरिरहेको उल्लेख गरे ।

ताजा खबर

सम्बन्धित खबर