२०८२ जेठ २३ गते शुक्रवार / Jun 06 , 2025 , Friday
२०८२ जेठ २३ गते शुक्रवार
Ads

कृषि उत्पादनमा विप्लव

राजकुमार के.सी.
२०८२ जेठ १४ गते ०६:२०
कृषि उत्पादनमा विप्लव

मकवानपुर : युद्धबाट समाज र राज्यसत्ता बदल्ने सोचकासाथ दश बर्षे युद्धमा हतियार बोकेर हिडेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) यतिवेला बाँझो जमिन उर्बर बनाउँन व्यस्त छन । वर्षौंदेखि आवादी नगरिँदा रूख–बुट्यानले ढाकेर जंगलमा परिणत भएको अर्घाखाँचीको शितगंगा नगरपालिका–११ मान्द्रेको करिब ५ बिगाहा जमिन पार्टीले खरिद गरेर उब्जाउ योग्य बनाउने अभियानमा उनी लागेका हुन् ।  

उनकै नेतृत्वको उत्पादन कम्युनले खोरिया फाँडेर, बाँझो जमिनमा आँप, लिची, सुन्तला, कागतीलगायतका बिरुवा रोपेर हराभरा बनाएका छन् । फलफूका बिरुवाले आकार लिन थालेपछि विप्लव अहिले अकबरे खुर्सानी फलाउने योजनामा रहेको बताउँछन । उनले अहिले पनि एक बिगाहा जमिनमा अकबरे लगाएका छन् । 

श्रम बगाउन नसक्ने र उत्पादनसँग गाँसिन नसक्ने कम्युनिष्ट पार्टीको नेता कार्यकर्ता हुनै सक्दैन भन्ने उनको तर्क छ । ‘हामीले समाजवादको आधार बनाउँदैछौं भनिरहेका छौं तर हाम्रो कृषि आत्मनिर्भर छैन । उत्पादनशील जनशक्ति स्वदेशमा छैनन्। स्वदेशी उत्पादन र स्वदेशी श्रम–संस्कृति नै आत्मनिर्भर अर्थतन्त्रको आधारशीला हो भन्ने हाम्रो बुझाइ छ ।’ 

२०७७ यता उनीहरूले धान, मकै, गहुँलगायत अन्नबाली उत्पादनमा जोड दिएका थिए । तर नेता–कार्यकर्ता श्रममा अभ्यस्त नभइसकेकाले र बजारीकरणको प्रबन्ध नमिलिसकेकाले उत्पादन बढ्न नसकेको विप्लवले बताए । गत वर्षसम्म निर्वाहमुखी खेतिमा रहेको उनको टिमले यसवर्षदेखि व्यावसायिक उत्पादनमा जोड दिएका हुन् । 

अहिले ‘एक जिल्ला, एक उत्पादन’ को अवधारणाअनुरूप उनीहरूले कृषि कम्युनलाई विस्तार गरिरहेको बताउँछन । कृषि कम्युन नेकपा संस्कृतिको आधार पनि बनेको छ । गत वर्ष नेकपाले देशका विभिन्न जिल्लामा डेढ सय बिगाहामा धानखेती गरेको थियो । त्यसमा करिब १ हजार ७ सय क्विन्टल धान उत्पादन भएको थियो ।

पोखराको जेठो बूढो, कपिलवस्तुको जिरा मसिनो, जुम्लाको मार्सीलगायत धानको प्रजाति थिए । त्यसलाई ब्रान्डिङ गरेर बजारीकरण गरेको योजना नेकपाको छ । गत वर्ष दुई सय टन हाराहारी आलु उत्पादन भएको विप्लवले बताए । यसलाई पनि बजारीकरण गरेको उनले बताए । अब अकबरे खुर्सानीको बजारिकरणको तयारी हुँदै गरेको उनले बताए ।

२ सय टन आलु बिक्री

विप्लवको नेतृत्वमा उत्पादन भएको दुई लाख किलो आलु व्यापारी विनोद चौधरीलाई बेचेका छन् । ‘आत्मनिर्भरताका लागि यो हाम्रो व्यावसायिक उत्पादन हो’, उनले  शीतगंगा खेतीबारे ‘हामीले आलुखेतीबाट व्यावसायिक उत्पादन सुरू गरेका छौं ।’ नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले सोमबार बेलुकी आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपालकै धनी उद्योगी विनोद चौधरीलाई आफूहरूले उत्पादन गरेर आलु बिक्री गरेको उनले बताएका थिए । ‘सोचेभन्दा बढी आलु उत्पादन गरी दिएपछि चौधरी छक्क परे’, उनले भनेका छन ।

जुम्लामा स्याउ, इलाममा चिया 

नेकपाले हिमाल, पहाड, तराईसम्मै उत्पादन विस्तारको योजना बनाएको छ । नेकपाले गत वर्षबाट जुम्मालको हिमा गाउँपालिकामा स्याउ खेती सुरू गरेको छ । त्यहाँ उसले तीन सय रोपनीमा जमिनमा स्याउका विरूवा लगाएको छ। केही वर्षबाटै त्यसले उत्पादन थाल्नेछ। कालिकोटको फोइमा चार सय रोपनी जमिनमा स्याउ खेती गरिरहेको पनि नेकपाले जनाएको छ । दुबै ठाउँमा गरी करिब पाँच हजार स्याउका विरूवा रोपिएको छ । नेकपाको सुनसरीको चार बिगाहा जमिन र झापामा पनि धान खेतीको तयारी भइरहेको छ । ‘अब केही समयभित्रै हामीले इलाममा चियाखेती सुरू गर्दैछौं । र, आफ्नै नाममा ब्रान्डिङ गर्छौं,’ नेकपाका कार्यालय सचिव असल क्षेत्रीले भने ।

गाइ फार्म र भेडापालन  

गत वर्षदेखि नेकपाले मोरङमा गाई पालन गरेका छन । उक्त फार्ममा ११ वटा गाई छन् । दैनिक ६० लिटर दूध उत्पादन भइरहेको छ । जुन स्थानीय बजारमा खपत भईरहेको बताइएको छ ।

यसबाहेक उनीहरूले कपिलवस्तुमा छाडा गाईगोरू पालिरहेका छन् । सहरी क्षेत्र र ग्रामिण इलाकामा समेत अहिले पशु–चौपाया विशेषतः गाई छाडा छाड्ने प्रचलन बढेको छ । दूध सुकेका थारा, बेत बसेका र दूध चुस्ने उमेरका गाइ र हुर्किएका गोरूसमेत ल्याएर बाटा–जंगल, चौर–चौरस्तामा ल्याएर छाडिदिनाले सवारी दुर्घटनाको जोखिम बढिरहेका छन्। वन क्षेत्रमा जंगली जनावरले आक्रमण गरेर अंगभंग भएका त्यस्ता पशुचौपाया कारूणिक अवस्थामा भेटिन्छन् । अहिले नेकपाले तिनै पशुचौपायाको उद्धार र संरक्षण दुवै गरिरहेको छ ।

‘हामीले कपिलवस्तुमा दुई सय त्यस्ता गाईहरू पालेका छौं। कोही दुधालू छन्। कोही ब्याउने छन्। दूध नदिने, बेत बसेका गाईहरू मलका लागि काम लाग्छन्। ती पशुचौपायाको मल हामीले खेतबारीमा प्रयोग गरिरहेका छौं ।’ क्षत्रीले भने । उनीहरुले कालिकोटको रूप्सामा भेडा पालनसमेत सुरू गरेका छन् । त्यो भेडीगोठमा अहिले डेढ सय भेडा छन्। विस्तारै संख्या बढाउँदै जाने नीति उनीहरुको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर