२०८३ मंसिर १२ गते शनिवार / Nov 28 , 2026 , Saturday
२०८३ मंसिर १२ गते शनिवार

दशकसम्म घटेन बालश्रमको ग्राफ

Nada
दिवाकर अधिकारी
२०८३ मंसिर १२ गते ०६:३०
Shares
दशकसम्म घटेन बालश्रमको ग्राफ

काठमाडौं : नेपालमा ११ लाख बालबालिका बालश्रममा संलग्न रहेको पाइएको छ । यस्तो तथ्यांक युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नै दिएका हुन् । 

प्रतिनिधिसभामा बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ विचाराधीन छ । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा यही विधेयकमाथिको छलफलमा मन्त्री यादवले बालश्रममा रहेका बालबालिकाको तथ्यांक प्रस्तुत गरेका हुन् । 

उनले भनेका छन्, ‘अहिले पनि नेपालमा ११ लाख बच्चा बालश्रममा आबद्ध छन् भनेर डाटाले देखाएको छ । त्यो ११ लाखलाई कसरी घटाउने भन्ने तिर हामी सोचिराखेका छौं ।’ 

संविधानले प्रत्येक बालबालिकालाई शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार र सर्वांगीण व्यक्तित्व विकासको हक सुनिश्चित गरेको छ । कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा अन्य जोखिमपूर्ण काममा लगाउन नपाइने व्यवस्था संविधानमै छ । 

तर, संविधानले अधिकार सुनिश्चित गर्दमा बालश्रम अन्त्य हुन नसकेको सरकारकै स्विकारोक्ति छ । 

बालश्रममा रहेका बालबालिकामध्ये २ लाख २० हजार बालबालिका जोखिमपूर्ण श्रममा रहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को प्रतिवेदन २०२६ देखाएको छ ।

नेपालको आफ्नै अध्ययन पनि छ । नेपाल श्रमशक्ति सर्वेक्षण २०१७/१८ मा आधारित बालश्रम प्रतिवेदन २०२१ ले नेपालमा ५ देखि १७ वर्ष उमेर समूहका १० लाख ८० हजार बालबालिका बालश्रममा संलग्न रहेको देखाएको थियो । पछिल्लो समय बालश्रममा रहेका बालबालिकाको संख्या ११ लाख रहेको श्रममन्त्री यादवले नै बताएका हुन् । 

राष्ट्रिय जनगणना २०७८ को बालबालिकासम्बन्धी विषयगत प्रतिवेदनले पनि बालबालिकाको आर्थिक गतिविधिमा संलग्नता उल्लेख्य रहेको देखाएको थियो । जनगणनाअनुसार १० देखि १७ वर्ष उमेर समूहका ३२.१ प्रतिशत बालबालिका आर्थिक गतिविधिमा सक्रिय छन् । 

जनगणनाले प्रदेशगत रूपमा कर्णालीमा आर्थिक गतिविधिमा संलग्न बालबालिकाको अनुपात सबैभन्दा बढी ३९.५ प्रतिशत देखाएको छ । सुदूरपश्चिममा ३८.९ प्रतिशत र कोशीमा ३८.४ प्रतिशत बालबालिका आर्थिक गतिविधिमा सक्रिय छन् । लुम्बिनीमा ३२.१ प्रतिशत, बागमतीमा २७.७ प्रतिशत, गण्डकीमा २७.६ प्रतिशत र मधेशमा २६.९ प्रतिशत रहेका छन् । 

जनगणनाले १० देखि १७ वर्षका बालबालिकाको आर्थिक गतिविधिलाई विश्लेषण गरेको हो । 

बालश्रम प्रतिवेदन २०२१ ले नेपालमा बालश्रमको सबैभन्दा ठुलो हिस्सा कृषि क्षेत्रमा रहेको देखाएको छ । प्रतिवेदनअनुसार बालश्रममा संलग्न ८७ प्रतिशत बालबालिका कृषि क्षेत्रमा र १३ प्रतिशत गैरकृषि क्षेत्रमा संलग्न छन् । प्रतिवेदनमा उल्लेख भएअनुसार कृषिअन्तर्गत खेतीपाती, पशुपालन र कृषि उत्पादनका काममा बालबालिका संलग्न हुने गरेका छन् । 

बाँकी श्रममा संलग्न बालबालिकामध्ये कोही पसलमा बिक्री सहायकको काममा र कोही भवन निर्माणमा संलग्न छन् ।

त्यस्तै, सिलाइ तथा कपडा बनाउने काममा पनि बालबालिका संलग्न छन् । पशुपालन फार्ममा, सफाइ तथा सहयोगी काममा र मालसामान ढुवानी गर्ने काममा बालबालिका संलग्न रहेको प्रतिवेदनले औंल्याएको छ । 

आइएलओले २०२६ मा प्रकाशित गरेको प्रतिवेदनअनुसार  जोखिमपूर्ण श्रममा रहेका बालबालिकाको ठुलो हिस्सा अनौपचारिक क्षेत्रमा काम गरिरहेका छन् ।

बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउने कामका रूपमा खानी तथा ढुंगा फुटाउने, इँटा उद्योग, भवन निर्माण, भारी सामान बोक्ने, कार्पेट उद्योग, होटल तथा रेस्टुरेन्ट, घरेलु काम, मनोरञ्जन क्षेत्र, मेकानिकल वर्कसप र फोहोर संकलनलगायत काम रहेको प्रतिवेदनमा उल्लेख छ ।

बालश्रम प्रतिवेदन २०२१ अनुसार ग्रामीण क्षेत्रमा बालश्रमको दर २०.४ प्रतिशत छ, सहरी क्षेत्रमा १२.१ प्रतिशत छ । ग्रामीण क्षेत्रमा आर्थिक अवसरको कमी, परिवारको आय, कृषि आधारित जीविकोपार्जन तथा सामाजिक अवस्थाले बालबालिकाको श्रममा संलग्नतासँग सम्बन्ध राख्ने प्रतिवेदनको विश्लेषण खण्डमा छ ।

आर्थिक अवस्थासँग पनि बालश्रमको सम्बन्ध देखाइएको छ । परिवारको सबैभन्दा न्यून सम्पन्नता समूहमा बालश्रमको दर २५ प्रतिशत छ भने सबैभन्दा उच्च सम्पन्नता समूहमा पाँच प्रतिशत छ । 

जातीय तथा सामाजिक समूहअनुसार बालश्रमको दर फरक छ । प्रतिवेदनअनुसार दलित समूहमा बालश्रमको दर १९.४ प्रतिशत, जनजातिमा १८.१ प्रतिशत, ब्राह्मण÷क्षेत्रीमा १४.५ प्रतिशत र नेवार समूहमा ९.९ प्रतिशत छ ।

यही बेला सरकारले बालश्रम निषेध तथा नियमन गर्नेसम्बन्धी विधेयक ल्याएको हो । बालश्रम अन्त्यका लागि राष्ट्रिय गुरुयोजना २०१८ देखि २०२८ पनि कार्यान्वयनमा छ । यसले बालश्रमका सबै स्वरूप क्रमशः अन्त्य गर्ने र सबैभन्दा खराब स्वरूपको बालश्रम उन्मूलन गर्ने लक्ष्य राखेको छ ।

तर ११ लाख बालबालिका बालश्रममा संलग्न रहेको तथ्य प्रस्तुत गर्दै मन्त्री यादवले विधेयकमा निषेधसँगै नियमन, उद्धार, पुनस्र्थापना र पुनर्एकीकरणलाई समेट्नुपर्ने बताएका छन् । उनका अनुसार नेपालमा गरिबी, पारिवारिक अवस्था र अभिभावक नभएका बालबालिकाको अवस्थालाई समेत ध्यान दिएर कार्यान्वयन गर्न सकिने कानुन बनाउन आवश्यक छ ।

प्रस्तावित विधेयकमा १३ वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई सीमित तथा हल्का काममा संलग्न गराउन सकिने प्रस्ताव छ । तर यसमा विपक्षी दलहरूले भने विरोध जनाएका छन् । 
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोम शर्मा भने बालश्रम किन भएको हो त्यो पहिचान गरेर समाधान गर्नुपर्ने बताउँछन् । 

उनका अनुसार बालश्रमको सम्बन्ध गरिबी, अभिभावकको संरक्षणको अभाव र परिवारको आर्थिक अवस्थासँग जोडिएको छ । यसमा सुधारका निम्ति कानुनसँगै परिवारलाई आर्थिक सुरक्षा र रोजगारीको अवसर दिनुपर्ने उनको आग्रह छ ।

उनी भन्छन्, ‘सरकारले एउटा यस्तो काम गरिदियोस् कि आर्थिक अवस्था यदि न्यून छ भने त्यस्तो परिवारले पनि आफ्ना बालबच्चालाई कहीँ पनि लगेर काममा लगाउन बाध्य नहोस् ।’

laxmi recruitement

सम्बन्धित खबर