२०८३ मंसिर १३ गते आइतवार / Nov 29 , 2026 , Sunday
२०८३ मंसिर १३ गते आइतवार

संसद्‍बाटै सुधारको सन्देश देऊ

Nada
२०८३ मंसिर १३ गते ०६:१०
Shares
संसद्‍बाटै सुधारको सन्देश देऊ

सिंहदरबारस्थित संघीय संसद्‍ भवन निर्माण सुरु भएको सात वर्ष बितिसकेको छ । २०७६ असोजमा शिलान्यास गरिएको भवन २०७९ असोजमै सम्पन्न गर्ने लक्ष्य थियो । तर, निर्धारित समयभित्र निर्माण पूरा भएन । त्यसपछि पटकपटक म्याद थपियो । छैटौँ पटकसमेत म्याद थप्दा समेत निमार्ण कहिले सकिन्छ भन्ने टुंगो छैन । निर्माण अवधि लम्बिँदा लागत बढेको छ । सुरूमा करिब पाँच अर्ब ६७ करोड रुपैयाँको मुख्य निर्माण ठेक्का संशोधन भएर ६ अर्ब ३० करोड रुपैयाँभन्दा माथि पुगेको छ । यसले संसद्‍ भवन निर्माणमा राज्यले बेहोर्नुपर्ने आर्थिक भार बढाएको छ । यो सबै हेरेर बस्न संघीय संसद्‍ सचिवालय विवश छ । 

निर्माणमा ढिलाइ हुनुका कारण अनेक हुन सक्छन् । डिजाइन परिवर्तन, निर्माण सामग्रीको मूल्य वृद्धि, प्राविधिक जटिलता वा ठेकेदारको कमजोर कार्यसम्पादनले आयोजनाको समय र लागत प्रभावित हुन सक्छ । तर यस्ता कारण देखाएर पटकपटक म्याद थप्ने र लागत बढाउने प्रवृत्तिलाई सामान्य मान्न सकिँदैन । हरेकपटक म्याद थप्दा त्यसको औचित्य, जिम्मेवारी र आर्थिक दायित्व स्पष्ट हुनुपर्छ । काममा ढिलाइ गर्ने ठेकेदारमाथि कारबाही भयो कि भएन, सरकारी निकायले समयमै अनुगमन गरे कि गरेनन् र लागत वृद्धि स्वाभाविक हो कि होइन भन्ने प्रश्नको जवाफ सरकारले दिनुपर्छ । यसको जवाफ खोज्ने जिम्मेवारी संसद्‍ आफ्नै पनि हो । किनभने, राज्यका नीति, कानुन र विकासका प्राथमिकता तय गर्ने प्रमुख थलो संसद्‍ हो । सरकारलाई जवाफदेही बनाउने, सार्वजनिक खर्चको निगरानी गर्ने र विकास आयोजनाको कामकारबाहीमाथि प्रश्न उठाउने संसद्‍ आफ्नै भवन निर्माणको ढिलासुस्ती भने टुलुटुलु हेरेर बस्न बाध्य छ । संसद्‍को समेत मौनता र संसद्‍ भवन निर्माणको ढिलाइले राज्यलाई प्रत्यक्ष आर्थिक भार त थपिएको छ नै, संसद्‍ सञ्चालनमा समेत असहजता छ । नयाँ भवन तयार नहुँदा वैकल्पिक संरचनामा संसद्‍ र समितिका बैठक सञ्चालन गर्नुपरेको छ । त्यसका लागि हुने खर्च पनि सार्वजनिक स्रोतबाटै व्यहोरिएको छ । 

नेपालमा विकास आयोजनाको ढिलाइ, लागत वृद्धि र कमजोर कार्यान्वयन पुरानै समस्या हुन् । बजेट विनियोजनलाई विकासको उपलब्धि ठान्ने तर निर्धारित समयमा आयोजना सम्पन्न गर्न नसक्ने प्रवृत्ति कायम छ । पूँजीगत खर्च अपेक्षित रूपमा हुन नसक्नु र सम्पन्न भएका आयोजनाको गुणस्तरमा समेत प्रश्न उठ्नुले विकास व्यवस्थापनको कमजोरी देखाउँछ । संसद्‍ भवन त्यसको एउटा प्रतिनिधि उदाहरण हो । यहाँनेर सरकारले बुझ्नुपर्छ, जेनजी आन्दोलन सत्ता परिवर्तनका लागि भएको थिएन, राज्य सञ्चालनको शैली, सार्वजनिक सेवा प्रवाह र विकास निर्माणमा देखिएको बेथिति बदल्ने आकांक्षासहित उठेको थियो । त्यही जनताको आकांक्षाको जगमा बनेको नयाँ सरकारले सुधारको सुरुवात आफ्नै व्यवहारबाट गर्नुपर्छ । यसका लागि संसद्‍ भवन निर्माणको वर्षौंदेखिको ढिलाइ, लागत वृद्धि र जवाफदेहिताको प्रश्नलाई सम्बोधन गर्नु एउटा अवसर हो । परिवर्तनको सन्देश भाषणबाट होइन, काम गर्ने शैलीबाट दिइयोस् । 

laxmi recruitement

सम्बन्धित खबर