२०८२ जेठ १६ गते शुक्रवार / May 30 , 2025 , Friday
२०८२ जेठ १६ गते शुक्रवार
Ads

चन्दननाथ मन्दिरको सेरा खेतमा परम्परागत मार्सी धान रोपाइँ सम्पन्न

दिलमाया शाही
२०८२ जेठ १४ गते १९:१३
चन्दननाथ मन्दिरको सेरा खेतमा परम्परागत मार्सी धान रोपाइँ सम्पन्न

जुम्ला : जुम्लाको प्रसिद्ध धार्मिक स्थल चन्दननाथ भैरवनाथ मन्दिर परिसरस्थित सेरा खेतमा परम्परागत 'काली मार्सी' धानको रोपाइँ सम्पन्न भएको छ । परापूर्वकालदेखि चली आएको परम्पराअनुसार हरेक वर्ष जेठ १४ गते चन्दननाथ भैरवनाथ गुठी समितिको पहलमा यो रोपाइँ गरिँदै आएको हो ।

चन्दननाथ भैरवनाथ गुठी समितिका अध्यक्ष अम्मर थापाका अनुसार सेरा खेतमा रोपिने मार्सी धान मन्दिरमा अक्षता चढाउन प्रयोग गरिन्छ । रोपाइँ कार्यक्रममा चन्दननाथ नमुना माविका विद्यार्थीहरू र स्थानीय महिलाहरूको सक्रिय सहभागिता रहेको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले चन्दननाथ मन्दिरको सेरा खेतमा हुने रोपाइँले यस क्षेत्रको सांस्कृतिक तथा कृषिजन्य महत्वलाई उजागर गर्ने बताए । 'हिन्दू धर्मको प्रमुख मन्दिर चन्दननाथ र यसका वरपरका खेतहरूले परम्परागत कृषि अभ्यासको सम्वर्द्धन गर्दै आएका छन्,” उनले भने । आचार्यका अनुसार यस्तो परम्परा आगामी पुस्तासम्म निरन्तरता दिन संरक्षण आवश्यक छ ।

यसै अवसरमा चन्दननाथ नगरपालिका–५ का वडाध्यक्ष वृर्ख बहादुर कार्कीले चन्दननाथको सेरा खेत जुम्लाको धार्मिक र ऐतिहासिक पहिचानसँग जोडिएको बताए । उनले मागल गीत गाउने परम्परा आज पनि जीवित रहेको जनाए ।

ऐतिहासिक दृष्टिकोणले हेर्दा, जुम्ली काली मार्सी धानको उत्पत्ति १२औं शताब्दीमा भएको मानिन्छ । सन् १३०० तिर गुरु चन्दननाथले भारतको काश्मीरबाट काली मार्सी धानको बिउ ल्याई, तातोपानीस्थित लछालकृति पैकलालाई तालिम दिई, धान खेती विस्तार गरेको मानिन्छ । परीक्षणपछि चन्दननाथ मन्दिरको सेरा खेतमै खेती गरिएको र किसानलाई वितरण गरिएको थियो ।

हाल पनि चन्दननाथ मन्दिरमा मार्सी धानको चामलबाट सिक चढाउने परम्परा कायम छ । केही जानकारका अनुसार मार्सी धानकै कारण नेपालमा हुलाक सेवा सुरु गर्ने प्रेरणा मिलेको किंवदन्ती छ । स्थानीय उत्पादन तत्कालीन राजा–रजौटालाई हुलाकमार्फत पठाइने गरिन्थ्यो ।

जुम्लामा धान खेती बेँसी क्षेत्र (समुद्र सतहबाट २,०००–२,२०० मिटर) र उच्च क्षेत्र (२,८००–३,००० मिटर) मा समेत गरिँदै आएको छ । अहिले पूरा जिल्लामै काली मार्सी धान रोप्ने चटारो छ ।

ADV

सम्बन्धित खबर