२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

ओतको बासस्थान संरक्षण गर्नुपर्नेमा जोड

shivam cement
सन्तोष पौडेल
२०८२ जेठ १४ गते २०:३५
Shares
ओतको बासस्थान संरक्षण गर्नुपर्नेमा जोड

बर्दिया : स्वस्थ नदीहरूको सूचकका रूपमा रहेको ओतलाई संरक्षण गर्न तल्लो कर्णाली नदी र यसका सहायक खोलाहरूलाई प्रदूषणमुक्त राख्नुका साथै अत्यधिक माछा मार्ने अभ्यास र ओतको बासस्थान विनाशबाट जोगाउनु आवश्यक रहेकोमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।

विश्व ओत दिवसको अवसरमा बर्दियाको राजापुरमा आयोजित कार्यक्रममा सहभागीहरूले स्थानीय जलचर र जैविक विविधताको रक्षा गर्ने, हानिकारक तथा विनाशकारी माछा मार्ने अभ्यास घटाउने र सहअस्तित्व प्रवद्र्धन गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरे । उनीहरूको धारणा अनुसार, समुदायको प्रयास र दिगो अभ्यासले ओत संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दछ ।

नेपाल सरकार र डब्लुडब्लुएफ नेपालबीचको समन्वयमा, बेलायत सरकारअन्तर्गतको डार्विन इनिसिएटिभको आर्थिक सहयोगमा सञ्चालित ‘कर्णाली नदीमा ओत संरक्षणका लागि नदीमा आश्रित समुदायको जीविकोपार्जन तथा अभिभावकत्वको सशक्तीकरण’ परियोजनाको माध्यमबाट कार्यक्रम सम्पन्न भएको हो ।

‘हाम्रो प्रण, कर्णाली नदीको संरक्षण’ भन्ने नारासहित सम्पन्न कार्यक्रममा राजापुर तथा गेरुवा गाउँपालिकाका जनप्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, निकुञ्ज, सुरक्षा निकाय, सञ्चारकर्मी तथा परियोजनाअन्तर्गत कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा गठित विभिन्न समूहका प्रतिनिधिहरूको सहभागिता थियो ।

कार्यक्रमपूर्व सहभागीहरूले प्लेकार्ड र ब्यानरसहित नदी, ओत तथा तिनका सिकार स्रोतको संरक्षणसम्बन्धी विभिन्न नारा लगाउँदै र्‍याली समेत निकालेका थिए ।

र्‍याली अघि डब्लुडब्लुएफका प्रतिनिधि आशिष कपालीले ओत भनेको के हो, यसको पारिस्थितिकीय महत्व, वर्तमानमा विद्यमान खतरा र समुदायको संरक्षणमा भूमिका भन्ने विषयमा प्रकाश पारे ।

उक्त परियोजना सोनाहा विकास समाज, मुक्त कमैया महिला विकास मञ्च, डल्फिन संरक्षण केन्द्र तथा साना स्तनधारी संरक्षण तथा अनुसन्धान केन्द्रद्वारा बर्दिया र कैलालीका पाँच पालिकामा विगत दुई वर्षदेखि सञ्चालित छ ।
 

सम्बन्धित खबर