काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) मकाउले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रेमिट्यान्स कम्पनी स्थापना गरी हुण्डी प्रयोग गर्ने बाध्यता हटाइदिन माग गरेको छ । मंगलबार प्रधानमन्त्री प्रचण्डलाई पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै एनआरएनए मकाउले उक्त माग गरेको हो ।
मकाउमा पेशा, व्यवसाय र वैदेशिक रोजगारी गर्ने नेपालीले पैसा पठाउने वैधानिक च्यानल ‘रेमिट्यान्स कम्पनी’ नहुँदा हुण्डीको प्रयोग गर्न बाध्य भएको एनआरएनए मकाउको भनाइ छ । एनआरएनए मकाउले सरकारी पहलमा मकाउमा रेमिट्यान्स कम्पनी खोलिदिन आग्रह गरेको छ ।
त्यस्तै नेपालदेखि मकाउसम्म सिधा हवाई सेवा नरहेको र हङकङमा ट्रान्जिट भिसा लिनुपर्ने झन्झटिलो अवस्थाले नेपाली कामदारहरु समस्यामा परेको भन्दै एनआरएनए मकाउले हङकङ ट्रान्जिट समस्या समाधानको समेत माग गरेको छ ।
एनआरएनए मकाउले नेपालदेखि मकाउसम्मको सिधा हवाई सम्पर्कको व्यवस्था भए नेपालबाट उक्त मुलुक जान र त्यहाँका पर्यटक नेपाल आउन सहज हुने सुझाव दिएको छ ।
प्रधानमन्त्री दाहालसँग पाँच बुँदे माग राखेको एनआरएनए मकाउले कम्तीमा हप्तामा एक वटा फ्लाइटको व्यवस्था गरी नेपालमा लगानी गर्न चाहने चिनियाँ व्यापारीहरुलाई बिप्पा सम्झौतालगायत पूर्ण कार्यान्वयनको प्रतिबद्धतामार्फत होटल पर्यटन र क्यासिनो क्षेत्रमा लगानीका लागि आकर्षित गराउन चीनस्थित नेपाली राजदूतावास तथा हङकङस्थित महावाणिज्यदूतको सक्रियता बढाउन माग गरेको छ ।
त्यसैगरी उक्त संस्थाले विश्वको आकर्षक पर्यटन गन्तव्य हङकङमा नेपालीलाई सहज आवागमनको व्यवस्था मिलाउन पनि माग गरेकोे छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies