काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले द्विपक्षीय श्रम सम्झौताका माध्यमबाट वैदेशिक रोजगारमा रहेका नेपाली कामदारहरुको अधिकार संरक्षण गरिने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमणले वैदेशिक रोजगारमा रहेका नेपाली कामदारको पीडामा आफ्नो पनि ऐक्यवद्धता रहको भन्दै श्रम सम्झौतका माध्यमबाट नेपाली कामदारहरुको अधिकार सुरक्षा गर्न सकिने बताए ।
त्यसैगरी प्रधानमन्त्री ओलीले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीको सदुपयोगले पनि वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको अधिकार रक्षामा भूमिका खेल्ने बताए ।
यस वर्ष अन्तर्राष्ट्रिय श्रमिक दिवसमा कोरोना भाइरसको नया भेरियन्टका कारण विगतमा जस्तै औपचारिक कार्यक्रम नराखिए पनि विभिन्न ट्रेड युनियनले भर्चुअल माध्यमबाट स्वदेश तथा विदेशमा श्रम गरिरहेका कामदारहरुको अधिकार रक्षाका लागि छलफल गरेका छन् ।
अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)का निर्देशक गाय राईडरले कोरोना भाइरसको प्रकोप अनुमान भन्दा बाहिर पुगेको भन्दै त्यसले स्वदेश तथा आप्रवासनमा रहेका कामदारमाथि जोखिम बढाएको भन्दै लाखौंले रोजगारी गुमाएको पीडादायी अवस्था रहेको बताए । महामारीले विश्वव्यापी सहकार्यमा जोड दिएको भन्दै निर्देशक राईडरले समृद्धिका लागि सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताए । मानवीयतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने भन्दै निर्देशक राईडरले त्यसका लागि सबैको सहकार्य हुनुपर्नेमा जोड दिए ।
‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सन् १८८६ मा अमेरिकाको सिकागोमा विश्व मजदुर दिवस मनाइएको थियो । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउने गरिएको छ । विश्वका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies