२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

स्वार्थले बनाएको गठबन्धन

ADV
२०८१ असार २६ गते ०६:२५
स्वार्थले बनाएको गठबन्धन

–खगेन्द्र पौडेल

अनौठो गरी नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धन बनाउने निर्णयमा पुगे । सत्ता राजनीतिको केन्द्रबाट केही पर पन्छिएका एमाले अध्यक्ष केपी शर्मा ओली फेरि केन्द्रमा आइपुगे । यो अनौठो र अप्रत्याशित घटनाक्रमका आधारहरू निकै नै होलान् । यद्यपि, यसले ठुलो दल कांग्रेसका सभापति शेरबहादुर देउवालाई फेरि एक पटक सत्ताको केन्द्रबाट केही पर पन्छाएको छ । देउवाको फेरि प्रधानमन्त्री हुने सम्भावनालाई तत्कालका लागि नकारेको छ ।

संवैधानिक व्यवस्थालाई सही ढंगले परिपालना गराउन सकेमा अबको प्रधानमन्त्री देउवाको विकल्प थिएन । यद्यपि, देउवालाई प्रधानमन्त्री बन्ने वातावरण बन्न दिइएको छैन । नेपाली कांग्रेसभित्रैबाट उनलाई असफल पार्ने प्रयत्न भइरहेको छ । उनकै पक्षमा देखिएका मानिसहरू पनि उनका लागि नै सकस भइरहेका छन् । यदि मिलाउन सकेको भए, देउवा यसपालि नै प्रधानमन्त्री हुन सक्थे तर, उनका लागि आन्तरिक अवस्था नै अनुकूल बन्न सकेन ।

अहिले देउवा बाध्यकारीरूपमा एमालेसँगको सत्ता सहकार्यमा जुटेका छन् । यद्यपि, देउवालाई असफल बनाउन गठबन्धन फोड्ने र विकल्प खोज्ने खेल कांग्रेसभित्रैबाट सुरु भएको छ । केही उच्च तहकै नेताहरूले कांग्रेस–एमाले गठबन्धन अनुचित भन्दै विकल्प खोज्नुपर्ने बताउन थालेका छन् । 

केहीले यसले लोकतन्त्र मास्ने तर्क गरेका छन् त केहीले कांग्रेस सकिने चिन्ता व्यक्त गरेका छन् । पटक–पटकका संसद् विघटनका नजिरलाई पनि नेताहरूले कोट्याइरहेका छन् । हुन पनि ओलीले सुरुदेखि नै मध्यावधिको कुरा गरिरहेका छन् । उनले तत्कालै चुनाव भएमा एमालेले एकल बहुमत ल्याउन सक्ने दाबी पनि गरिरहेका छन् । जुन ओलीको रणनीतिको सिकार नयाँ गठबन्धन नहोला भन्न सकिन्न । यदि देउवालाई रनभुल्लमा पारे भने मुलुक मध्यावधितर्फ नजाला भन्न पनि सकिन्न । 

राजनीतिमा सबै कारण आन्तरिक मात्रै पनि हुँदैनन्, धेरै बाह्य कारणबाट पनि प्रभावित हुन्छन् । जुन कतिपय हस्तक्षेपकारी खालका हुन्छन् भने कतिपय स्वाभाविक खालका हुन्छन् । यति बेला रुस–युक्रेन युद्ध, इजरायल–प्यालेस्टाइन युद्ध र एसिया प्रशान्त क्षेत्रमा सम्भावित युद्धको जुन स्थिति बनिरहेको छ, यसले प्रतिकुलता थपिदिएन भने धेरै सम्भव छ देश मध्यावधिमा जानेछ । संविधान संशोधनको एजेन्डा मूलतः यसकै वरिपरि भएको जस्तो पनि देखिन्छ । यदि त्यस्तो भएमा ओली सफल हुनेछन् भने देउवा असफल हुनेछन् । 

अर्कोतर्फ, यसपटक माओवादी केन्द्रले संसद् फेस गर्ने कुरा, निर्देशित ढंगले केही साहसिक फैसला र कार्यान्वयनको लागि अवसर प्राप्त गर्न चाहेको होइन भने मूल्यको हिसाबले नोक्सानी बेहोर्नुबाहेक केही देखिन्न । माओवादीका लागि परिस्थिति निकै प्रतिकुल बनिरहेको छ । एकातिर माओवादी एजेन्डा हराउने परिस्थितिमा छ भने अर्कोतिर सत्ता र शक्तिको पहुँचबाट एकै पटक पाखा पन्छिँदैछ ।

ब्रिटेनमा कन्जरभेटिभको हार, अमेरिकामा बाइडेनको पराजयको सम्भावना, बोलिभियामा साम्राज्यवादी सहयोगमा गरिएको सैनिक विद्रोहको असफलता पुटिनको शानदार चुनावी जीत, युरोपमा युद्धको कारण बढ्दो असन्तुष्टि, संवेदनशील गठबन्धनमा टिकेको मोदीराज जनप्रतिरोधका उभार उठ्ने केही सङ्केतहरू यस्ता प्रभावकारी स्थिति हुन जसले परोक्ष ढंगले नेपाली राजनीतिमा प्रभाव पार्ने सम्भावना छ । यदि प्रचण्डको डायनामिक्सले यसलाई समाउन सक्यो भने ओलीको मध्यावधि माओवादी केन्द्रका लागि जीवनदायी घटना पनि बन्न सक्छ । 

यद्यपि, घटनाहरू यसरी नै अगाडि बढ्छन् भनेर भन्न सकिने अवस्था छैन । तथापि, निकै निहित स्वार्थ प्रेरित शैलीमा गर्न खोजिएका गठबन्धनले भने एकले अर्कोलाई सिध्याउने बाहेक अर्को भूमिका खेल्ने छैनन् । यसले देशलाई निकास देला भनेर कल्पना गर्न सकिन्न ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise