–के.बी. बस्नेत
कोभिड–१९ पछि शिथिल भएको विश्व अर्थतन्त्र धेरै वर्षसम्म उकालो लाग्न सकेन । केही समययता रुस र युक्रेनबीच जारी युद्धको कारण आर्थिक गतिविधिहरू विश्वव्यापीरूपमा प्रभावित भएका छन् । एकातर्फ पेट्रोलियम पदार्थ र खाद्य वस्तुहरूको मूल्य वृद्धि भएको छ भने अर्कोतर्फ विश्व व्यापार गतिविधिहरू घटेका छन् । त्यसैले विगतमा कोभिड–१९ को महामारीबाट प्रभावित विश्व अर्थतन्त्रमा थप चुनौती थपिएको छ ।
आज विश्व अर्थतन्त्रमा विद्यमान परिवर्तनको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव नेपाली अर्थतन्त्रमा परेको छ । वास्तवमा यहाँ खाद्य वस्तुहरूको मूल्यवृद्धि र लगानीयोग्य साधनहरूमा संकुचनको कारण अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ । ओरालो लागेको यहाँको अर्थतन्त्रको सुधारको लागि मुद्रा बजारले महत्वपूर्ण भूमिका खेल्छ । तर, खेदको कुरा त के छ भने यहाँ आजसम्म पनि यस सम्बन्धमा सम्बन्धित पक्षको ध्यान आकृष्ट हुन सकेको छैन ।
आज विश्वको अर्थतन्त्र शिथिल अवस्थामा छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२३ मा विश्व अर्थतन्त्रको वृद्धिदर न्यून रहने र सन् २०२४ मा केही सुधार हुने प्रक्षेपण गरेको छ । परन्तु, केही समयअघि रुस र युक्रेन युद्धको कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धि एवम् आपूर्ति जस्ता व्यवधानका कारण मुद्रास्फीति उच्च रहनुका साथै बैँकहरूको ब्याजदर वृद्धि हुनाले विश्व अर्थतन्त्रको वृद्धिदर सुस्त नै छ । निःसन्देह विश्व अर्थतन्त्रले भोग्दै आएको उच्च मुद्रास्फितिको स्थितिमा केही सुधार नभएको होइन । यद्यपि, कर्जाको मूल्यमा अनिश्चितता, रुस र युक्रेनबीच जारी रहेको युद्ध र आर्थिक मन्दीको सामना गर्न अवलम्बन हुन सक्ने नीतिगत लचकताको कारण भविष्यमा विश्वमै मुद्रास्फीति बढ्न सक्ने जोखिम अझ पनि छ ।
आजसम्म पनि विश्व अर्थतन्त्रमा मद्रास्फीति उच्च रहेको र विद्यमान भूराजनीतिक तनावको कारण इन्धन तथा अन्य वस्तुहरूको मूल्यवृद्धि अझसम्म पनि कायम छ । यसबाट विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ र यस सन्दर्भमा नेपाल पनि अछुतो रहन सकेको छैन । नेपाललगायत विश्वको अर्थतन्त्रमा सुधार ल्याउन मुद्रा बजारको प्रवर्द्धनले महत्वपूर्ण भूमिका खेल्न सक्छ । कुनै पनि देशको वित्तीय अवस्था निर्धारणदेखि आर्थिक सुधारसम्म मुद्रा बजारले महत्वपूर्ण भूमिका खेल्छ । यसले जुनसुकै देशको अर्थतन्त्रलाई निर्धारण गर्छ । तसर्थ, वर्तमान समयमा प्रत्येक देशमा यसलाई विशेष महत्व दिन आवश्यक छ ।
वस्तुतः प्रत्येक देशको अर्थतन्त्रको तरलताको व्यवस्थापन गर्न, बैंक तथा वित्तीय संस्थाहरूको ब्याज निर्धारण गर्न, कर्जा बजार उपयुक्त किसिमबाट व्यवस्थापन गर्न र मौद्रिक नीतिलाई व्यवहारमा उतार्न मुद्रा बजारले अनुपम भूमिका खेल्छ । विकसित देशहरूमा मुद्रा बजार सबल भएकोले एकतर्फ लगानीकर्ताहरू आकर्षित भएका छन् भने अर्कोतर्फ उक्त देशका अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ । हाम्रा दुई विशाल छिमेकी राष्ट्रहरूमा पनि मुद्राबजारलाई उच्च प्राथमिकता दिइएकोले यिनीहरूको अर्थतन्त्रमा पनि उल्लेख्य प्रभाव परेको छ ।
नेपालको मुद्रा बजार निक्षेप संकलन ट्रेजरी बिल खरिद, रिपो, रिभर्स रिपो र अन्तर–बैंक कर्जामा सीमित छ । यहाँ अन्य देशहरूमा प्रचलित सर्टिफिकेट अफ डिपोजिटस, कमर्सियल पेपर, बैंकर्स पेपर आदि मुद्रा बजारका उपकरणहरू हालसम्म पनि प्रयोग गर्न सकिएको छैन किनभने यहाँ आजसम्म पनि मुद्राबजारको खासै महत्व महसुस गरिएको छैन । वास्तवमा केन्द्रीय बैंक र वाणिज्य बैँकहरूको ट्रेजरी विभागमा संलग्न व्यक्तिहरूले नाफामा भन्दा तरलता व्यवस्थापनमा जोड दिनु उपयुक्त हुन्छ । यहाँ मुद्राबजारलाई सरकार र केन्द्रीय बैंकले आजसम्म खासै महत्व दिएको छैन । किनकि यहाँको केन्द्रीय बैंक सरकारको लागि आन्तरिक ऋण उठाउन तल्लीन छ भने अन्य बैंकहरू ब्याजदर वृद्धि गरी आयआर्जन गर्न अभ्यस्त छन् ।
नेपालमा मुद्रा बजारसम्बन्धी ज्ञान भएका व्यक्तिहरूको कमी छ । यद्यपि, यस सम्बन्धमा तालिमको व्यवस्था गर्न सकिएको छैन । त्यसैले हालसम्म पनि यहाँ मुद्रा बजारका उपकरण परिचालन गर्न अभौतीकरणको व्यवस्था गर्न सकिएको छैन । यहाँ एकातर्फ मुद्रा बजारको प्रयोग गर्ने काम आउँदैन भने प्राविधिक पक्षको मूल्याङ्कन गर्दा पनि मुद्रा बजार प्राथमिकतामा पर्दैन । नेपालको डी–म्याटमा हालसम्म पनि मुद्रा बजारका उपकरणहरू प्रयोग गरिएको छैनन् । यसबाट यहाँको प्राथमिकताको तह प्रष्ट हुन्छ । आजसम्म पनि उक्त उपकरणहरू यहाँको दोश्रो बजारमा प्रयोग गर्न नसकिएकोले क्रेता तथा विक्रेताहरूले लाभ पाएका छैनन् ।
उदाहरणका लागि ९१ दिनको ट्रेजरी बिल कसैसँग छ भने उक्त रकमको भुक्तानी पाउन ९१ दिनसम्म कुर्नुपर्छ । यदि दोस्रो बजारमा कारोबार भए बजारको मूल्यअनुसार जसरी डिवेञ्चरको कारोबार हुन्छ त्यसरी नै उक्त बिलको कारोबार गर्न सकिन्थ्यो । उक्त बिलको कारोबार दोस्रो बजारमा गर्न नसक्नुले सम्बद्ध पक्षले यस तथ्यलाई प्राथमिकता नदिएको बोध हुन्छ ।
वास्तवमा कुनै पनि देशको आर्थिक सुधारको लागि मुद्रा बजारको निकै भूमिका रहन्छ । परन्तु, यहाँ आजसम्म पनि सम्बन्धित पक्षको ध्यान, आकृष्ट नभएकोले यसबाट खासै फाइदा प्राप्त गर्न सकिएको छैन । यहाँ मुद्रा बजारसम्बन्धी केही संस्थाहरू कार्यरत भए पनि कुनैको पनि स्वामित्व नभएकोले यस्तो भएको हो । नेपालमा हालसम्म पनि मुद्रा बजारसम्बन्धी तालिम दिने ठोस व्यवस्था नभएकोले यहाँका धेरै व्यक्तिलाई यसबारे राम्रो ज्ञान छैन । यहाँ वित्तीय विषयमा अध्ययन हुने भए पनि व्यवहारिक ज्ञानको कमी छ । त्यसैले, यहाँ अझसम्म मुद्राबजार व्यापक एवम् सर्वसुलभ गर्न सकिएको छैन ।
मुद्रा बजारको महत्वबारे थाहा पाउन यससम्बन्धी पर्याप्त समाचारहरूको आवश्यकता पर्छ । तर, यहाँ यस्तो व्यवस्था नभएकोले सम्बन्धित संस्थाका व्यक्तिहरू पनि यस सम्बन्धमा अनभिज्ञ छन् । मुद्रा बजारको महत्वबारे विस्तृत ज्ञान प्रदान गर्न वित्तीय साक्षरताअनुसार उक्त बजारको विषय पनि समेटेर व्यापक प्रचार–प्रसार गर्न जरुरी छ । यसको लागि सम्बन्धित व्यक्ति तथा संस्थाहरूको सक्रिय सहयोगको आवश्यकता छ ।
विकसित देशहरूमा मुद्राबजारको विकासबाट त्यहाँका अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ । तर, यहाँ यस्तो हुन सकेको छैन । तसर्थ, आगामी दिनहरूमा यहाँको आर्थिक सुधारका लागि मुद्रा बजारका विभिन्न उपकरणहरू परिचालन गर्न आवश्यक छ । यसको लागि सम्पूर्ण सरोकारवालाहरू एकजुट हुनु जरुरी छ ।