काठमाडौं : करार अवधि सकिएका नेपाली कामदारहरुले विदेशस्थित नेपाली दूतावासमा स्वदेश फर्किने व्यवस्थाको माग गर्दै दबाब बढाएका छन् । सरकारले अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेपछि करार अवधि समाप्त भई स्वदेश फर्किनुपर्ने कामदारहरुले आफुहरुको टिकटको अवधि समाप्त हुने भन्दै स्वदेश फर्किने प्रवन्ध गर्न दबाब दिन थालेका हुन् ।
सरकारले वैशाख २३ गते अर्थात गत बिहीबारदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको छ । नेपालमा संक्रमण दैनिकरुपमा बढ्दै गएकोले अन्तर्राष्ट्रिय उडान खुल्ने समयको टुंगो नभएपछि स्वदेश फर्किनु पर्ने कामदारहरुले नेपाली दूतावासहरुलाई स्वदेश फर्कने प्रवन्ध गरिदिन दबाब बढाएका हुन् ।
मलेसियास्थित नेपाली दूतावासका द्वितीय सचिव प्रदीप कार्कीले कामदारहरुको दबाब बारेमा गत शुक्रबार नै परराष्ट्र मन्त्रालयमा समस्याका सम्बन्धमा लिखित रिपोटिङ गरी अवगत गराइसकेको बताए । शुक्रबार क्वालालम्पुरस्थित नेपाली दूतावासले गर्ने साप्ताहिक कार्यक्रममा अधिकांश कामदारहरुले स्वदेश फर्किने विषयमा जानकारी माग गरेका थिए ।
अन्तर्राष्ट्रिय उडान रोकिँदा वैदेशिक रोजगारीको नियमित करार अवधि सकिएका, कैद भुक्तान गरेका, आममाफी पाएका, गर्भवती र सुत्केरी अवस्थामा रहेका कामदारहरु स्वदेश फर्किने बाध्यतामा रहेको भन्दै द्वितीय सचिव कार्कीले अन्तर्राष्ट्रिय उडान रोकिँदा रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीको शव पठाउनसमेत समस्या शुरु भएको बताए ।
राष्ट्रिय मानव अधिकार आयोगले गत वर्षको लकडाउनको अवधिमा गरेको अध्ययनमा अन्तर्राष्ट्रिय उडान रोकिएका कारण घर फर्किने अवस्था सहज नहुँदा अनभिलेखवद्ध, घरेलु श्रमिक, गर्भवती, रोजगारी, आम्दानी गुमाएका र सूचनामा पहुँच नभएका श्रमिकहरू थप जोखिममा रहने निष्कर्ष निकालेको थियो ।
त्यसैगरी भिजिट भिसा वा पर्यटक भिसा प्रयोग गरी विदेशमा रोजगारी गर्ने उद्देश्यले गएका वा लगिएका अधिकांश नेपालीहरूलाई सम्बन्धित गन्तव्य देशको कानूनले ‘अनियमित’ मानी सजायको व्यवस्था गरेको हुनाले उनीहरू त्रासको अवस्थामा रहने भन्दै आयोगले कतिपयले काम र आम्दानी गुमाउनुपर्दा खाना तथा आवासको समेत समस्यामा पर्ने र पर्यटक तथा पारिवारिक भिसामा गएकाहरूमा लामो समयसम्म गन्तव्य देशमा रोकिनुपर्दा आर्थिक भार वहन गर्न नसक्ने औंल्याएको छ ।
भिजिट भिसामा गएकाहरु आफु अलेखवद्ध भएको हुँदा स्वास्थ्य सेवालगायत अन्य सहयोग लिन जाँदा थप अप्ठ्यारोमा पर्ने डर हुने भएका कारण उनीहरूमा त्यस्तो सेवा लिन जान हिच्किचाहट भई थप समस्यामा पर्ने समेत आयोगको निष्कर्ष छ ।
अलेखवद्ध कामदारहरुलाई बिना विश्राम, खाना र बिदा तोकिएको भन्दा बढी कार्यघण्टा काम गराइने गरिए पनि उनीहरुलाई सहायता उपलब्ध गराउन सहज नहुने भन्दै आयोगले त्यसतर्फ सरकारले समयमै ध्यान दिनुपर्ने सुझाव दिएको छ । कतिपय कामदारहरुले नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गर्नुअघि नै स्वदेश फर्किन हवाई टिकट किनिसकेका र त्यसरी टिकट किनेका ठुलो संख्याका कामदार रोकिनु पर्दा उनीहरूमाथि खर्चको ठुलो भार थपिएको र केहीलाई खाना र आवासको समस्यासमेत देखिने आयोगको भनाइ छ । करार अवधि सकिएको अवस्थामा कोरोना संक्रमित भए थप समस्यामा पर्ने कामदारहरुको गुनासो छ ।
पुरुष कामदारको तुलनामा महिलाहरु समस्यामा पर्ने आयोगले गरेको अध्ययनमा उल्लेख छ । आयोगको अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘महिला आप्रवासी श्रमिकहरू त्यसमा पनि खास गरेर घरेलु काममा कार्यरत थप जोखिमा परेका छन् । गर्भवती र प्रसूतिको अवस्थामा यथेष्ट स्वास्थ्यसेवा र हेरचाह सहज तवरले पाउन नसक्दा र आर्थिक अभावका कारणले सोको खर्च धान्न नसक्दा उनीहरू थप समस्यामा परेका देखिन्छन् ।’
मलेसियामा नयाँ कामदार नजाँदा करार अवधि सकिएर घर फर्किनु पर्ने कामदारको वर्क पर्मिट सकिएको एक वर्ष भन्दा लामो सयमसम्म पनि एक्जिट पर्मिट नदिई जवर्जस्ती काममा लगाउने गरिएको छ । अघिल्लो पटकको लकडाउनमा सरकारले उद्धार उडान शुरु नगर्दा खाडीका ६ मुलुक तथा मलेसिया जस्ता श्रम गन्तव्य मुलुकहरुबाट स्वदेश फर्किनु पर्ने कामदार बढी समस्यामा परेका थिए । तत्काल स्वदेश फर्किने प्रवन्ध नभएमा मलेसियामा जवर्जस्ती काममा लगाउने समस्या बढ्न सक्ने भन्दै द्वितीय सचिव कार्कीले नेपाली दूतावासलाई लिखितरुपमा जानकारी गराउन आग्रह गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies