काठमाडौं : मंगलबार दिनभर प्रतिनिधि सभाको अवरोध खुलाउने विषयमा सत्तापक्ष र विपक्षमा रहेका दलहरू आन्तरिक र संयुक्त छलफलमा जुटे । तर, प्रतिपक्षमा रहेको पाचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कुनै छलफलमा सहभागी भएन । राप्रपा प्रतिपक्षमा छ ।
प्रतिपक्षमा रहेका दलहरू माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीसहितका विपक्षी दलहरू रणनीति बनाउन पटक–पटक छलपलमा जुटे । तर, राप्रपालाई बोलाएनन् । सत्तापक्षले प्रतिपक्षमा रहेको राप्रपालाई बोलाउने कुरै भएन । परिणाममा सदनको अवरोध खुलाउने विषयमाथिको रस्साकस्सीमा १३ सिटसहितको सदनको पाचौं ठूलो दल राप्रपा कतै देखिएन । उसो त सडक आन्दोलनमा पनि राप्रपाले नेतृत्व लिइराखेको छैन ।
नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ ले राजसंस्था पुनर्स्थापना लगायत एजेन्डामा काठमाडौंमा आन्दोलन गर्दै आएको छ । त्यसमै राप्रपा समेत सहभागी हुँदै आएको छ ।
अर्थात, एक ढंगले सडक आन्दोलनमा समेत नवराज सुवेदी नेतृत्वको छायामा रहेको राप्रपा संसदीय गतिविधिमा पनि छायामा छ । गणतन्त्र पक्षधर दलहरूले सदनको कामकारबाहीमा स्थान नदिँदा राप्रपा संसद्मा संसद्मा उपेक्षित हुन पुगेको हो भने सडकमा पनि पूर्वराजा ज्ञानेन्द्र शाहले विश्वास नगर्दा राप्रपाले नेतृत्व गर्ने अवसर नपाएको हो ।
राप्रपाका नेताहरू भने संसदीय गतिविधि भन्दा सडकतिरै केन्द्रित रहेको बताउँछन । राप्रपाका शीर्ष नेताहरूको बैठक मंगलबार साँझ पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्यो । जसको एजेण्डा सदनको अवरोध खुलाउने विषय थिएन, सडक आन्दोलन कसरी चर्काउने भन्नेमा थियो ।
सदनका गणतन्त्र पक्षधरहरू भिजिट भिसामार्फत विदेश जानेसँग अपारदर्शी रुपमा आर्थिक लेनदेन हुने गरेको विषयमा छलफलमा छन् । सत्तापक्ष यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा रहेको भनेर गृहमन्त्रीमाथिको प्रश्न पन्छाउन खोजिरहेको छ । प्रतिपक्षी दलहरू गृहमन्त्रीमाथि आशंका गर्दै राजीनामा मागिरहेका छन् । यो रस्साकस्सीमा राप्रपा कतै नदेखिएको हो ।
राजतन्त्र पक्षधरहरू पछिल्लो समय गत चैत २६ गतेदेखि आन्दोलन केन्द्रित गतिविधिमा छन् । जेठ १५ गते यता निरन्तर काठमाडौं केन्द्रित प्रदर्शनमा छ । तर, राजसंस्थालाई मूल एजेण्डा बनाएको राप्रपा न संसदीय गतिविधिमा देखिन्छ न सडक प्रदर्शनको नेतृत्वमा छ ।
राप्रपाका नेता दिपकबहादुर सिंहकाअनुसार विविध कारणले राप्रपा सदनको गतिविधिमा नदेखिएको हो ।
उनी भन्छन्, ‘गणतन्त्रवादीसँग इस्युहरु मिलिरहेको छैन । हामीलाई कसैले छलफलमा बोलाएका पनि छैनन् । विगतमा पटक–पटक धोका खाएको नजिर छ । यसकारण उनीहरूको छलफलमा हामी नदेखिएका हौं ।’