२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

भू–राजनीतिक चक्र र नेपाल

ADV
२०८१ असार २७ गते ०६:२५
भू–राजनीतिक चक्र र नेपाल

–अर्जुन ज्ञवाली

भू–राजनीतिमा सन्तुलन कायम गर्न नसके परिणाम भयावह हुन्छ । रुसविरुद्ध युक्रेनले अमेरिकी आडमा नाटो भित्र्याउन खोज्दा अहिले युक्रेनी जनता युद्धको भूमरीमा जकडिएका छन् । अब युक्रेन विभाजन हुँदै छ र आधा भू–भाग रुसमा विलय हुँदैछ । 

यो युग सन् १९९० अगाडिको युग होइन । सन् १९९० अगाडि चीन असंलग्न राष्ट्र थियो । अहिले चीन र रुस एउटा ध्रुवमा उभिएका छन् । सन् १९९० अगाडि भारत रुसी ध्रुवमा थियो, अहिले भारत अघोषित अमेरिकी ध्रुवमा उभिएको छ । यद्यपि, उसले आफूलाई बेग्लै शक्ति हो भन्ने देखाउन दुवै शक्तिसँग सन्तुलनकारी भूमिका निर्वाह गर्न खोजिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो मस्को भ्रमणले पनि त्यसलाई संकेत गर्दछ । 

नेपालको सन्दर्भमा, बिपी कोइरालाको अति पश्चिमाकरणका कारण वि.सं. २०१७ सालमा चीन, रुस, भारतले महेन्द्र शाहलाई सहयोग गरे । यद्यपि, पछि राजा महेन्द्रबाट स्वार्थपूर्ति नहुने भएपछि उनको हत्या गर्न जनकपुरमा बम प्रहारसमेत गरियो । जुन घटनाक्रमपछि वि.सं. २०१९ सालमा चीनका तत्कालीन रक्षा मन्त्री मार्सल चेङ यी नेपाल आएर नेहरुलाई चेतावनी दिएको कुरा इतिहासमा भेट्न सकिन्छ । जसले नेपालको राजनीतिमा कसरी उत्तर र दक्षिण खेलिरहेका छन् भन्ने स्पष्ट पार्छ । 

नेपालमा राजतन्त्र बाह्य शक्तिकै बलमा विस्थापित भएको हो । जसरी कम्बोडियामा गरिएको थियो । १२ बुँदे दिल्ली सहमतिले नै राजतन्त्र विस्थापनको निर्णायक भूमिका खेलेको थियो । यद्यपि, यसअघि पृष्ठभूमिमा भएका थुप्रै घटनालाई हामी नजरअन्दाज गर्न भने सक्दैनौ ।

जसरी राजा वीरेन्द्रको वंश नाश भयो, त्यसमा यहाँका शक्तिले सहायता त गरे तर, मुख्य रोल बाह्य शक्तिकै रह्यो । गणतन्त्र ल्याउन पनि त्यही पृष्ठभूमिले महत्त्वपूर्ण भूमिका खेलेको कुरा कसैबाट छिपेको छैन । पश्चिमा शक्ति र दक्षिण किन गणतन्त्रका पक्षमा खुलेर आए ? उनीहरूले किन गणतन्त्रलाई अगाडि बढाउन खोजे ? यसका कारण खोतल्यौँ भने पनि वास्तविकता छलङ्ग हुन्छ । यी घटनाक्रमलाई हेर्दा, युक्रेन जस्तै नेपाल पनि बाह्य क्रिणाभूमि नहोला भन्न सकिन्न । 
अहिले जसरी मुलुक कित्ता काटको अवस्थामा छ । जसरी मुख्य दलहरू उत्तर, दक्षिण र पश्चिम गरेर कित्ताकाट भएका छन्, यसले पनि अवस्थालाई स्पष्ट पार्छ । को कसको स्वार्थमा प्रेरित भएर बोलिरहेका छन् भन्ने पनि धेरै उदाहरण हाम्रै अगाडि छ । 

जसरी एमसीसीलाई भित्र्याइयो, जसरी बिआरआई रोक्न खोजिएको छ, यसबाट पनि हाम्रो अवस्था के हो स्पष्ट हुन्छ । आज कोही युक्रेनको पक्षमा खुलेका छन् त कोही ताइवानको पक्षमा । कोही दलाइ लामाको पक्षमा अभियानमै देखिएका छन् । जसको परिणाम मुलुक कहाँ पुग्ला भन्ने चिन्ता बढेको छ । 

अहिलेको सत्ता राजनीतिमा देखिएका पात्रहरूको शैली र प्रवृत्ति सामान्य खालका छैनन् । यिनीहरूको हातबाट मुलुक सुरक्षित हुन्छ भन्ने देखिन्न । नेपाल कम्बोडियाको बाटोमा अगाडि नबढ्ला भन्ने स्थिति छैन । अहिलेको सत्ता राजनीतिका मुख्य पात्रहरू हेरेरै कसका हुन् भनेर भन्ने अवस्था छन् । किनकि उनीहरूको विगतलाई राम्रोसँग केलायौँ भने धेरै घटनाहरू स्पष्ट हुन्छ । उनीहरू प्रयोग नहोलान् र मुलुकलाई सुरक्षित बनाउलान् भन्न सक्ने स्थिति छैन । 

यद्यपि, हामी निराशाको कोणबाट मात्रै कुरा गरिरहनु हुँदैन । हाम्रो नयाँ पुस्ता आफ्नो मुलुकप्रति सचेत छ भन्ने कुरामा हामी स्पष्ट हुनुपर्छ । नयाँ पुस्ताको नेतृत्वमा मुलुक विरोधी कित्तालाई पराजय गरी मुलुकलाई नयाँ दिशातर्फ लैजानेछ भन्ने कामना गरौँ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise